नारायणी अस्पतालमा मृत्यु भएकी किशोरीमा कोरोना संक्रमण पुष्टि

भूषण यादव

वीरगन्ज — नारायणी अस्थायी कोरोना अस्पतालमा शुक्रबार अपराह्‍न मृत्यु भएकी किशोरीको पीसीआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको छ । बारा परवानीपुर गाउँपालिका–४ निवासी १७ वर्षीय किशोरीमा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायले जानकारी दिए । ‘नारायणीको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ती किशोरीमा कोराना पुष्टि भएको छ,’ मेसु उपाध्यायले भने ।  

नारायणी अस्पतालमा मृत्यु भएकी किशोरीमा कोरोना संक्रमण पुष्टि

गत बुधबार नारायणी अस्पतालमा किशोरीको स्वास्थ्य अवस्था गम्भीर भएपछि यहाँको वीरगन्ज हेल्थ केयर हस्पिटल लगिएको थियो । हस्पिटलका निर्देशक डा.अबुल हैस अन्सारीका अनुसार त्यहाँ उनको स्वाब संकलन गरी नारायणीको प्रयोगशालमा पठाइएको थियो । किशोरीमा झाडापखाला लाग्ने र जिउ काम्ने र स्वास प्रश्वासमा पनि समस्या देखिएको थियो ।

‘अक्सिजन मेन्टेन भइरहेको थिएन, ७५ प्रतिशत देखाइरहेको थियो,’ निर्देशक डा.अन्सारीले भने, ‘छातीको एक्सरे गरेर हेर्दा फोक्सो पुरै खराब देखिएको थियो ।’ किशोरीमा स्क्रब टाइफससमेत पोजिटिभ देखिएको उनले बताए ।

निर्देशक डा.अन्सारीका अनुसार ती किशोरीको उपचारमा संलग्न ५ जना स्वास्थ्य कर्मचारीलाई क्वारेन्टाइनमा राखेर अस्पतालको आकस्मिक सेवा सिल गरिएको छ ।

यसअघि शुक्रबार बिहान नारायणी अस्थायी कोरोना अस्पतालमा वीरगन्ज महानगरपालिका– ११ निवासी ८५ वर्षीया वृद्धाको मृत्यु भएको थियो । चिकित्सकका अनुसार ती वृद्धामा मुटुरोग र निमोनियाको समस्या थियो ।

प्रकाशित : श्रावण ९, २०७७ २१:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?