हुँदै नभएको जग्गा ८ पटक बिक्री

मालपोत, नापी अधिकृतलगायत संलग्न कर्मचारीलाई कारबाही गर्न निर्देशन
प्रशान्त माली

काठमाडौँ — मालपोत कार्यालय ललितपुरमा जाली स्रेस्ता खडा गरी वर्षौंदेखि नक्कली जग्गा किनबेच भएको पाइएको छ । नापी कार्यालयमा फिल्डबुक र प्लट रजिस्ट्ररसमेत नभएको ‘डुकुछाप वडा नम्बर ४ कित्ता नम्बर १० को एक रोपनी ६ आना एक पैसा’ जग्गाको ०६६ मा लालपुर्जा बनाई आठ पटक किनबेच भएको हो ।

हुँदै नभएको जग्गा ८ पटक बिक्री

अन्तिम पटक ०७३ मा पाटनका संघरत्न बज्राचार्यले काठमाडौंकी जुनिता महर्जनसँग यो जग्गा किनेका थिए । सेनाले डुकुछाप क्षेत्रमा काठमाडौं–तराई जोड्ने द्रुतमार्ग (फास्ट ट्र्याक) बनाउन थालेपछि बज्राचार्य आफ्नो जग्गामा पर्खाल लगाउन पुगे । त्यहाँ स्थानीय प्रेमबहादुर न्यौपानेले उक्त जग्गा आफ्नो दाबी गरेपछि यो तथ्य बाहिर आएको हो । सुरुमा दुवैले आ–आफ्नो लालपुर्जा देखाएर जग्गा दाबी गरे । विवादपछि बज्राचार्य आफ्नो लालपुर्जामा उल्लेख भएको जग्गाको फिल्डबुक नापी कार्यालयमा खोज्न गए । फिल्डबुक नभेटिएपछि आफ्नो नाममा कायम रहेको स्रेस्ता नक्कली रहेको उनले थाहा पाए ।

‘मालपोतको स्रेस्तामा उल्लेख डुकुछाप वडा नम्बर ४ कित्ता नम्बर १० को जग्गा नापीनक्सामा छैन । नापी कार्यालयमा डुकुछाप वडा नम्बर ४ (क) र ४ (ख) को मात्र फिल्डबुक छ । तर, दलालहरूले नक्सा नभएको वडा नम्बर ४ र भएको ४ (क) एउटै जग्गा भनेर फसाए ।’ उनले गोदावरी नगरपालिका–८ को उक्त जग्गा २६ लाख ७० हजार रुपैयाँमा किनेका थिए ।

बज्राचार्यले न्यायका लागि धेरै पटक मालपोत, नापी विभाग र जिल्ला प्रशासन कार्यालय धाए । अन्तमा केही सीप नलागेपछि ०७६ वैशाखमा हेलो सरकारमा उजुरी दर्ता गरे । त्यसपछि मात्र अनुसन्धान अघि बढ्यो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निर्देशनबमोजिम भूमि व्यवस्थापन तथा अभिलेख विभागका निर्देशक भरत गौतमको नेतृत्वमा दुई सदस्यीय छानबिन समिति गठन भयो । समितिले जग्गाधनी जुनिता महर्जन, ललितपुरका तत्कालीन प्रमुख मालपोत अधिकृत र नापी अधिकृतलगायत जग्गा कारोबारमा संलग्न व्यक्तिहरूमाथि छानबिन गरी प्रतिवेदन तयार पार्‍यो । यो प्रतिवेदन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा पठाइसकेको छ ।

मन्त्रालयले प्रतिवेदनका आधारमा कारबाही गर्न विभागलाई स्वीकृति दिइसकेको छ । विभागले पनि आवश्यक कारबाहीका लागि ०७७ जेठमा मालपोत कार्यालय लगनखेलमा पठाएको थियो । मन्त्रालयका सहसचिव जनकराज जोशीले लकडाउनका कारण कारबाही प्रक्रिया अलमलिएको बताए । ‘नक्कली लालपुर्जा बनाउन संलग्न कर्मचारीलाई कारबाही गरी स्रेस्ता खारेज गर्छौं,’ उनले भने, ‘पीडितलाई जग्गा वा रकम उपलब्ध भने मन्त्रालयबाट गराउन सकिँदैन ।’ बरु प्रहरीमा ठगी मुद्दामा ठाडो उजुरी दिएमा सहयोग गर्न सकिने उनले बताए । ललितपुरका मालपोत अधिकृत हरिकृष्ण सुवेदीले गम्भीर विषय भएकाले कागजात नहेरीकन प्रतिक्रिया दिन नसकिने बताए । ‘फिल्डमा जग्गा छैन । तर कागजमा मात्र पास गर्नु भनेको किन्नेमाथि ठूलो अन्याय पर्नु हो,’ उनले भने ।

मालपोतको अभिलेखमा भेटिएअनुसार सुरुमा जाली स्रेस्ता ०६६ मा डुकुछापका सानो सोमबहादुर दनुवारका नाममा जारी भएको देखिन्छ, जतिबेला प्रमुख मालपोत अधिकृत झंकनारायण श्रेष्ठ थिए । ०६८ मा सोमबाट कृष्णबहादुर दनुवारका नाममा आएको देखिन्छ । सोमको भने मृत्यु भइसकेको छ । त्यसपछि ०६८ असोजमा अनिता थापा, ०७१ मा कर्म महर्जन, ०७२ मा साउनमा विमला सिलवाल, ०७२ माघमा बेखारत्न महर्जनसमेत गरेर दुई जनाका नाममा नामसारी भएको देखिन्छ । ०६६ देखि ०६८ सम्म श्रेष्ठ, ०७१ देखि ०७३ सम्म नारायणप्रसाद आचार्य र धनश्याम उपाध्यायले प्रमुख मालपोत अधिकृतको जिम्मेवारी सम्हालेका थिए ।

बज्राचार्यका अनुसार जुनिताका नामको जग्गा बिक्री गर्न सेटिङ मिलाउनेमा बुङमतीका सहदेव शाक्य, कान्छा शाक्य र अजय तुलाधर मुख्य व्यक्ति हुन् । यी तीनै जना जग्गा कारोबारी हुन् । जग्गा पास गर्दा कान्छा र अजय साक्षी पनि बसेका छन् । जग्गा पास गर्न कागजात पनि बाहिर हल्ला हुने डरले सेटिङमै लेखापढी व्यवसायी सुशान महर्जनबाट तयार पार्न लगाएको बज्राचायको भनाइ छ । बज्राचार्यले आफूलाई फसाउनेहरूलाई कानुनी दायरामा ल्याएरै छाड्ने बताए । ‘म त फसें तर मजस्तो अन्य व्यक्तिलाई फस्न दिन्नँ,’ उनले भने । सहदेवले डुकुछापको उक्त जग्गाका बारेमा आफूलाई केही जानकारी नभएको दाबी गरे । ‘उहाँले लगाएको आरोप झूटो हो,’ उनले भने । कान्छाले पनि आफूले जग्गा मिलाइदिएको नभएर साक्षीमात्र बसेको दाबी गरे । ‘वडा कार्यालयले घरबाटो सिफारिस दिएपछि हामी पनि जग्गा छ भनेर ढुक्क थियौं,’ उनले भने, ‘म पनि फसें ।’

बज्राचार्यले आफूलाई फसाउनेहरूविरुद्ध ०७६ मा गृह मन्त्रालयमा उजुरी दिएका थिए । मन्त्रालयले पनि छानबिन गरी आवश्यक कारबाही गर्न महानगरीय प्रहरी कार्यालय रानी पोखरीलाई निर्देशन दिइसकेको छ । कार्यालयले पनि अपराध अनुसन्धान विभागलाई बोधार्थ दिएर कारबाही गर्न महानगरीय प्रहरी परिसर ललितपुरलाई निर्देशनात्मक पत्र पठाएको छ । परिसरका प्रमुख एसएसपी टेकप्रसाद राईले ठगी गर्नेहरूलाई जसरी भए पनि कानुनी दायरामा ल्याउने बताए । ‘यसबारेमा पीडित पक्षले परिसरमा पनि छुट्टै उजुरी दिन सक्छन्,’ उनले भने ।

नापीनक्सा भएको डुकुछाप वडा नम्बर ४ (क) कित्ता नम्बर १० को जग्गा भने धादिङ छत्रे देउराली–२ की माइली अधिकारीका नाममा छ । उनले ०६२ मा सिङबहादुर दनुवारसँग किनेकी थिइन् । अधिकारीका श्रीमान् प्रेमबहादुर न्यौपानेले आफ्नो जग्गा देखाएर दलालहरूले सस्तोमा जग्गा पास गरिदिने प्रलोभनमा धेरै जनालाई फसाइसकेको बताए । ‘मालपोतमा रहेको नक्कली स्रेस्ता खारेज नगरीकन समस्या समाधान हुँदैन,’ उनले भने । जुनिताले बज्राचार्यकी श्रीमती एलिसासँग गरेको बैना कागजमा भने नापीनक्सामा भएको डुकुछाप ४ (क) कित्ता नम्बर १० कै जग्गा दिने उल्लेख छ । प्रतिआना एक लाख २० हजारमा खरिद गर्ने गरी १० लाख बैना दिएका थिए ।

गोदावरी नगरपालिका–८ डुकुछापका वडाध्यक्ष सुकबहादुर लामाले समस्या समाधान गर्न मालपोत कार्यालयलाई पटक–पटक ध्यानाकर्षण गरिसकेको बताए । ‘तर, कर्मचारीले यस विषयमा चासो दिएका छैनन्,’ उनले भने, ‘नापी र मालपोत कार्यालयबीच समन्वय अभावले गर्दा पनि समस्या समाधान हुन नसकेको हो ।’ ललितपुरका नापी अधिकृत विनोदकुमार सिंहले आफू सरुवा भएर आएको ६ महिना मात्रै भएकाले यसबारे जानकारी नभएको बताए । ‘तत्काल यसबारे बुझेर समस्या समाधान गर्न पहल गर्नेछौं,’ उनले भने ।

प्रकाशित : श्रावण १०, २०७७ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?