कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

कांग्रेसमा नि:सर्त प्रवेश गर्न लागेको हुँ : थापा

'राप्रपा संविधानविरुद्ध गएकाले म अट्न नसकेको हुँ'
जयसिंह महरा

काठमाडौँ — आफ्नै बुबालगायतले गठन गरेको पार्टी परित्याग गरेर राप्रपाका नेता सुनीलबहादुर थापा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा आजै प्रवेश गर्ने तयारीमा छन् । कमल थापा, पशुपतिशम्शेर जबरा र प्रकाशचन्द्र लोहनी नेतृत्वका तीन राप्रपाबीच एकता भएको अवस्थामा थापा भने बाहिरिएका हुन् । ११ केन्द्रीय सदस्यसहित राप्रपा परित्याग गरेका उनी मंगलबार दिउँसो ३ बजे कांग्रेस प्रवेश गर्न लागेका हुन् । 

कांग्रेसमा नि:सर्त प्रवेश गर्न लागेको हुँ : थापा

थापाले राप्रपासँग आफ्नो सैद्धान्तिक विमति रहेको बताएका छन् । राप्रपाले परिवर्तन र जनताको मागलाई सम्बोधन गर्न नसकेपछि आफू त्यसमा अटिरहन नसकेको उनले बताए । कान्तिपुरसँग कुरा गर्दै उनले भने, 'राप्रपा पार्टीभित्र विचलन आएको छ । राप्रपा नेपालको संविधानको विपरीत दिशामा गएको छ । यस्तो अवस्थामा आफू त्यहाँ अट्न नसकिने सैद्धान्तिक पक्षलाई लिएर मैले पार्टी छोडेको हो ।'

राप्रपाले राजतन्त्र र हिन्दुराष्ट्रको मागलाई उठाएर अगाडि बढ्ने राजनीतिक योजना अगाडि सारेकोमा थापाले विगतदेखि नै असहमति राख्दै आएका थिए । उनले गणतान्त्रिक संविधान पनि मान्ने र राजतन्त्र पनि ल्याउनुपर्छ भन्ने कुरा सही दिशा नभएको कुरा राख्दै आएका थिए । राजतन्त्र र नेपाललाई धर्मनिरपेक्ष बनाउने संविधानसभामा भाग लिएको, त्यस्तो संविधानअनुसार भएका निर्वाचनमा भाग पनि लिने अनि फेरि हिन्दुराष्ट्र र राजतन्त्रको नारा लगाउनु सही नभएको उनको भनाइ छ ।

थापाले कांग्रेसमा महामन्त्री पद मागेको बताइएको छ । कांग्रेसका नेताहरूले भने थापालाई महामन्त्री नभएर सहमहामन्त्रीसम्म दिन सकिने बताएका छन् । त्यस्तै, ११ जनालाई नै केन्द्रीय सदस्यको माग भएकोमा ५ जनासम्मलाई कांग्रेसमा केन्द्रीय सदस्य बनाउन सकिने कांग्रेसका नेताहरूको भनाइ छ । थापाले भने आफूहरू नि:सर्त रूपमा कांग्रेस प्रवेश गर्न लागेको बताएका छन् । उनले बलियो प्रजातान्त्रिक पार्टी निर्माण गर्ने आफ्नो लक्ष्य रहेकाले कांग्रेसमा नि:सर्त प्रवेश गर्न लागेको बताएका हुन् ।

प्रस्तुत छ, कांग्रेस प्रवेश गर्ने तयारीमा रहेका थापासँग गरिएको संक्षिप्त कुराकानी :

कांग्रेसमा प्रवेशको अन्तिम चरणमा रहनुभएको छ, तपाईंहरूको व्यवस्थापनबारे के सहमति भयो ?

हामीहरू निशर्त कांग्रेसमा सहभागी हुने हो । नेपालमा एउटा सक्रिय, मजबुत डेमोक्रेटिक (प्रजातान्त्रिक) पार्टीको आवश्यकता छ । यो अरु पार्टीबाट नहुने र नेपाली कांग्रेसबाट मात्रै सम्भव हुने भएको हुनाले त्यसमा निशर्त प्रवेश गर्न लागेका हौं । अहिले निशर्त रूपमा गएपछि व्यवस्थापनको पक्षबारे पछि छलफल गरौंला भन्ने कुरा भएको छ ।

तीन राप्रपा एक भएर बलियो बन्न लागेका बेला तपाईंले किन छोड्नुभएको हो ?

राप्रपा पार्टीभित्र विचलन आएको छ । त्यस्तै, राप्रपा नेपालको संविधानको विपरीत दिशामा गएको छ । यस्तो अवस्थामा आफू त्यहाँ अट्न नसकिने सैदधा्नतिक पक्षलाई लिएर मैले पार्टी छोडेको हो ।

हिन्दुराष्ट्र र राजतन्त्रको कार्यदिशामा असहमति राखेर छोड्नुभएको हो ?

मैले परिवर्तनलाई आत्मसात गरेको हो । हिजो राप्रपाले नेपालको संविधानामा सहभागी भएर अगाडि बढेको हुनाले आफ्नो प्रतिबद्धता पूरा गर्नुपर्छ भन्ने मेरो धारणा थियो ।

तपाईंको बुबासमेत मिलेर गठन गरेको पार्टी छोडेर राजनीतिक भूल गर्नुभयो भन्ने आरोप लागेको छ नि ?

मूलतः एउटा प्रजातान्त्रिक पार्टी, प्रजातान्त्रिक शक्ति एकठाउँमा उभिनुपर्छ भन्ने ध्येयका साथ जुन किसिमले यो पार्टी स्थापना गर्नुभयो त्यो हुन सकेन । पार्टी स्थापनाको उद्देश्य नै पूरा नहुने भएपछि राप्रपा छोड्नुपरेको हो । बुबाले स्थापना गरेको पार्टी छोड्दा बडो भावुक छु । तर, राजनीति वास्तविकतामा आधारित हुनुपर्छ । राजनीतिमा तथ्य र वास्तविक धरातल एवं आफ्नो सैद्धान्तिक पक्षलाई पनि छोड्नुहुन्न भन्ने मेरो मान्यता हो ।

जहाँसम्म आरोपको कुरा छ त्यो त जसले जे लगाए पनि हुन्छ । जुन पक्षले यो आरोप लगायो उनीहरूले विरासत र सूर्यबहादुर थापाको कुरा किन गर्नु ? संस्थापक सदस्यहरूलाई कुन परिस्थितिमा उहाँहरूले राखेको छ भन्ने प्रश्नको जवाफ दिनुपर्छ । उहाँहरूलाई त्यो प्रश्न गर्नुपर्ने हुन्छ ।

कांग्रेसमा प्रवेशका लागि महामन्त्री माग्नुभएको भन्ने चर्चा थियो, त्यो नपाएपछि नि:सर्त जानुभएको हो ?

मैले केही मागेको छैन ।

मुलुकको पहिलो नम्बरको तथा सत्तारुढ नेकपामा नगएर प्रतिपक्षी दललाई किन रोज्नुभयो ?

मान्छे शक्तिको पछाडि लाग्नु हुन्न भन्ने मेरो मान्यता हो । सैद्धान्तिक पक्षको पछि लाग्नुपर्ने हुनाले र सैद्धान्तिक पक्ष नेपाली कांग्रेससँग मिल्ने भएको हुनाले म त्यता जान लागेको हो ।

कांग्रेस महाधिवेशनमा जान लागेको छ, यस्तो बेलामा राजनीतिक भविष्य कस्तो देख्नुभएको छ ?

कांग्रेसमा सहज नै हुन्छ भन्ने लागेको छ । त्यसैले नै म महाधिवेशनको माहोलमा होमिएको हुँ ।

प्रकाशित : श्रावण १३, २०७७ १२:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?