१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

‘राजधानीको सुरक्षा’ विवादले प्रहरी समायोजन अवरुद्ध

वाग्मती प्रदेशले काठमाडौं, भक्तपुर र ललितपुर प्रहरी परिसर आफू मातहत राख्नुपर्ने अडान लिएपछि गृहमन्त्रीले डाकेको सातै प्रदेशका आन्तरिक मामिलामन्त्री सम्मिलित दुई दिने बैठक स्थगित
संविधानले दिएको अधिकार खोसिए संघीय सरकारविरुद्ध मुद्दा हाल्ने वाग्मती प्रदेशको चेतावनी
मातृका दाहाल

काठमाडौँ — काठमाडौं उपत्यकाका तीन जिल्लाको शान्तिसुरक्षा व्यवस्थापनको जिम्मा केन्द्र वा प्रदेश कसको मातहत राख्ने भन्नेमा विवाद भएपछि प्रहरी समायोजन प्रक्रिया अवरुद्ध बनेको छ । वाग्मती प्रदेशले संविधानमा भएको व्यवस्थाअनुसार नै महानगरीय प्रहरी कार्यालयअन्तर्गतका काठमाडौं, भक्तपुर र ललितपुर प्रहरी परिसर आफू मातहत राख्नुपर्ने अडान लिएपछि आइतबार र सोमबार गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बसेको बैठक बिनानिष्कर्ष टुंगिएको हो ।

‘राजधानीको सुरक्षा’ विवादले प्रहरी समायोजन अवरुद्ध

विवादबारे प्रधानमन्त्री केपी शर्मा ओलीसँग बसेर छलफल गर्नुपर्ने भन्दै गृहमन्त्री थापाले समन्वय बैठक स्थगन गरेका हुन् । सातवटै प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सम्मिलित उक्त बैठक विवादकै कारण टुंगोमा पुग्न सकेन ।

नेपाल प्रहरी र प्रदेश प्रहरीमा प्रशासनिक संरचनाअनुसार प्रहरी समायोजन गर्नुपर्ने कानुनी बाध्यता भए पनि अधिकार बाँडफाँटमा विवाद कायम छ । संविधानमा उपत्यकाका तीनवटै जिल्ला वाग्मती प्रदेशअन्तर्गत राखिएको छ । यही कानुनी र संवैधानिक व्यवस्थालाई टेकेर वाग्मती प्रदेशले राजधानीको सुरक्षा व्यवस्थापन अधिकार आफू मातहत राख्नुपर्ने अडान लिएको हो ।

नेपाल प्रहरी र प्रदेश प्रहरी समायोजन, समन्वय र कार्यसञ्चालनसम्बन्धी कामको समन्वय गर्न गृहमन्त्रीको अध्यक्षतामा गृहसचिव, प्रहरी महानिरीक्षक र ७ वटै प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सदस्य रहेको प्रहरी समन्वय समिति छ । उक्त समिति बैठकमै सोमबार वाग्मतीका आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेलले संविधानले नै राजधानीका तीन जिल्लालाई प्रदेश मातहत राखेकोले समायोजन सोहीअनुसार हुनुपर्ने अडान लिएका थिए । स्रोतका अनुसार जम्कट्टेलले संविधानमै उल्लेखित प्रदेशको अधिकार कुण्ठित हुने गरी समायोजनसम्बन्धी निर्णय भए संघीय सरकारविरुद्ध प्रदेश सरकार अदालत जान बाध्य हुने चेतावनी दिएका थिए । तर गृहमन्त्री थापाले यसमा सहमति जनाएनन् ।

‘वाग्मती प्रदेशअन्तर्गत उपत्यकाको शान्तिसुरक्षा जिम्मा दिने माग, भनाइ र भावनामा मेरो सम्मान छ,’ गृहमन्त्री थापाको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘गृहमन्त्रीज्यूको भनाइपछि प्रदेशका आन्तरिक मामिलामन्त्रीले संविधानविपरीत निर्णय भए संघ सरकारविरुद्ध अदालतमा मुद्दा दर्ता गर्ने चेतावनी नै दिनुभयो ।’ विवाद थप चर्किएपछि गृहमन्त्री थापाले प्रधानमन्त्री ओलीसँग पनि छलफल गर्नुपर्ने भन्दै बैठक टुंग्याएका थिए । सोमबार नै प्रदेशका आन्तरिक मामिलामन्त्रीहरुलाई लिएर प्रधानमन्त्री ओलीसँग भेट गर्ने गृहमन्त्री थापाको योजना सफल भएन । प्रधानमन्त्री ओलीले समय नदिएपछि समायोजनमा देखिएको विवाद तत्काल यथावत् रहने देखिएको छ ।

मन्त्री जम्कट्टेलका अनुसार गृहमन्त्री थापाले प्रधानमन्त्रीसँग प्रदेशका आन्तरिक मामिलामन्त्रीहरुलाई राखेर थप छलफल गर्ने आश्वासन दिएका छन् । ‘संविधानले नै उपत्यकाका तीन जिल्लालाई प्रदेश सरकार मातहत राखेपछि अहिले राजधानीको सुरक्षा जिम्मा संघ सरकार मातहत हुनुपर्छ भन्न पाइन्छ ?’ उनले कान्तिपुरसँग भने, ‘समायोजन प्रक्रिया यही विषयमा आएर रोकिएको छ, हामी कुनै पनि हालतमा आफ्नो अधिकार छोड्ने पक्षमा छैनौं, संविधानको पालना संघ सरकारले गरोस् भन्ने हाम्रो स्पष्ट माग छ । गृहमन्त्रीज्यूले पनि प्रधानमन्त्रीसँग बसेर एकपटक छलफल गरौं भन्नुभएकोले हामी त्यसको पखाईमा छौं ।’

समायोजन विवाद रहेकै अवस्थामा प्रदेश १ र वाग्मती प्रदेशसभाले प्रदेश प्रहरी ऐन जारी गरिसकेका छन् । अन्य ५ वटा प्रदेश सरकारले पनि प्रदेश प्रहरी विधेयक सभामा पेस गरिसकेका छन् । समायोजनको टुंगो नलागेकै कारण प्रहरी परिचालन गर्न नपाएको मन्त्री जम्कट्टेल बताउँछन् ।

गृहसचिव नेतृत्वको समितिले प्रहरी कर्मचारीलाई नेपाल प्रहरी र प्रदेश प्रहरीमा समायोजन सम्बन्धमा तयार पारेको संगठन तथा व्यवस्थापन (ओएन्डएम) सर्वेक्षण खाकामा राजधानीको सुरक्षा व्यवस्थापन संघीय सरकार मातहत नै हुनुपर्ने उल्लेख छ । समायोजन र सुपरिवेक्षणसम्बन्धी विषय टुंगोमा नपुगेकै कारण अहिलेसम्म संघ र प्रदेश प्रहरी कामचलाउ हैसियतमा सञ्चालित छन् । त्यसकै लागि गृह मन्त्रालयले बनाएको खाकाअनुसार सहमति जुटाउन गृहमन्त्री थापाले सातवटै प्रदेशका आन्तरिक मामिलामन्त्रीहरुलाई काठमाडौं बोलाएका थिए ।

प्रकाशित : श्रावण १३, २०७७ १५:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?