३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

सधै बैठकबाट भागेर पार्टी चल्दैन : रावल 

'स्थायी कमिटी बैठक पदको लागि मात्रै हो भनेर बाहिर गलत प्रचार गरियो'
जयसिंह महरा

काठमाडौँ — प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले सधैं बैठकबाट भागेर निकास ननिस्किने स्थायी कमिटी सदस्य भीम रावलले बताएका छन् । ओलीले पार्टी संगठनका बैठकमा सहभागी भएर निर्णय गरेर अगाडि बढ्नुपर्ने रावलको भनाइ छ ।

सधै बैठकबाट भागेर पार्टी चल्दैन : रावल 

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको स्थायी कमिटी बैठकपछि रावलले कान्तिपुरसँग भने, 'सधैं बैठकबाट भागेर, बैठक नै नगरेर हुन्न । कि त पार्टी बिसर्जन हुनुपर्‍यो नत्र त बैठक नै नगरी, निर्णय नै नगरी पार्टी चल्छ त ?'

स्थायी कमिटीका २ आमन्त्रित सदस्यसहित ३१ जनाको बैठक बालुवाटारमा बसेको थियो । उक्त बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री ओली पक्षका नेताहरू सहभागी भएका थिएनन् । ओलीले आज बोलाइएको स्थायी कमिटी बैठक स्थगित भएको सूचना प्रवाह गराएका थिए, जसमा बहुमत पक्षको असहमति थियो ।

अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका स्थायी कमिटी सदस्य सहभागी बैठकले त्यसरी एकतर्फी रूपमा बैठक स्थगित गर्ने अध्यक्ष ओलीको निर्णय अनुचित भएको निर्णय गरेको थियो । त्यस्तै, पार्टीलाई विधि, प्रणाली र परम्पराअनुसार बैठक सुचारु गर्नका लागि अध्यक्ष दाहालले अध्यक्ष ओलीसँग कुरा गर्ने जिम्मा दिएको रावलले बताए ।

रावलले स्थायी कमिटी बैठक पदसँग सम्बन्धित नभएको कुरा आफूले बैठकमा राखेको बताए । 'यो बैठक कुनै पदसँग मात्रै सम्बन्धित छैन । यद्यपि पार्टीमा कुरागर्दाखेरि पदीय जिम्मेवारीको कुरा पनि आउला,' उनले बैठकमा राखेका कुराबारे भने, 'हामीले पार्टीको विधि, प्रणालीको कुरा गर्दा पदको कुरा मात्रै हो भनेर लगियो भने गलत हुन्छ । बैठकमा हामीले राष्ट्रिय सरोकारका विषय, पार्टीको विधि र गन्तव्य, नेपालको संविधान, पार्टीको नीति र प्रणालीको रक्षाको कुरा पनि सँगै कुरा उठाएका छौं । पदको लागि मात्रै हो भन्ने बाहिर प्रचार गरियो, यो गलत हो भनेको थिएँ ।'

पार्टीमा उठेका विषयको निराकरण बैठकबाट हुनुपर्ने आफूले कुरा राखेको रावलको भनाइ थियो । उनले भने, 'यो दुईजना अध्यक्षको मात्रै विषय होइन, सिंगो स्थायी कमिटीको विषय हो । दुईजना मिल्ने बित्तिकै सबै चिज हुने, अरु कोही पनि होइन, अरुको अस्तित्व छैन भन्ने प्रकारले नसोचियोस् । पार्टीको बैठक महत्त्वपूर्ण हो र बैठकबाट सबै कुरा हुनुपर्छ भनेर कुरा राखेको हुँ ।'

पार्टीको आगामी बैठक प्रधानमन्त्री तथा अध्यक्ष ओली र अध्यक्ष दाहालसँगै वरिष्ठ नेताहरूबीच हुने कुराकानीले निर्धारण गर्ने रावलको भनाइ थियो ।

सम्बन्धित समाचारः

प्रकाशित : श्रावण १३, २०७७ १७:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?