कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

प्रधानमन्त्री कार्यालयलाई संसदीय समितिको निर्देशन- सूचना आयोगको वार्षिक प्रतिवेदन संसदमा पेस गर्ने व्यवस्था मिलाउनू

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय सूचना आयोगको प्रतिवेदन संघीय संसदमा पेस गर्ने कानुनी व्यवस्था मिलाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई संसदीय समितिले निर्देशन दिएको छ । जनताको सूचनाको हक सम्बन्धी मौलिक हक कार्यान्वयनका लागि गठन भएको आयोगको प्रतिवेदन संसदमा पेस हुनुपर्ने भन्दै संघीय संसद प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले उक्त निर्देशन दिएको हो । 

प्रधानमन्त्री कार्यालयलाई संसदीय समितिको निर्देशन- सूचना आयोगको वार्षिक प्रतिवेदन संसदमा पेस गर्ने व्यवस्था मिलाउनू

समितिको मंगलबारको बैठकले आयोगको वार्षिक प्रतिवेदन संसदमा छलफल गर्ने नीतिगत व्यवस्था गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निर्देशन दिएको हो । समितिको बैठकमा राष्ट्रिय सूचना आयोगबाट सम्पादित काम र आगामी कार्ययोजनाका सम्बन्धमा छलफल भएको थियो ।

विकास तथा प्रविधि समिति सभापति कल्याणी खड्काले बैठकका निर्णय सुनाउँदै आयोगले तयार गरेको वार्षिक प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पेस हुने गरेको तर त्यसमाथि कुनै छलफल नभएकोले संसदमा पेस गरी छलफल गर्ने नीतिगत व्यवस्था मिलाउन निर्देशन दिएकी हुन् । उनले भनिन्, ‘राष्ट्रिय सूचना आयोगले वार्षिक रूपमा तयार गर्ने प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस हुने गरेको र त्यस सम्बन्धमा कुनै छलफल हुने व्यवस्था नरहेकोले जनताको सूचनाको हक सम्बन्धी मौलिक हक कार्यान्वयनका लागि गठन भएको निकायको वार्षिक प्रतिवेदन संघीय संसदमा पेस गरी प्रतिवेदन माथि छलफल हुने नीतिगत व्यवस्था मिलाउन समिति नेपाल सरकार प्रधनमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निर्देशन गर्दछ ।’

समितिले सूचना प्रविधिको युगमा पनि नेपाली नागरिकले भौतिक रूपमा उपस्थित भई सूचना लिनुपर्ने अवस्था रहकोले त्यसको अन्त्य गरी वेबसाइट, इमेल, इन्टरनेटमार्फत सूचना पाउने व्यवस्था गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र राष्ट्रिय सूचना आयोगलाई निर्देशन दिएको छ । निर्देशनमा भनिएको छ, ‘सूचना प्रविधिको युगमा पनि नेपाली नागरिकले सार्वजनिक निकायबाट सूचना प्राप्त गर्न भौतिक रूपमा उपस्थित भई निवेदनका आधारमा मात्र सूचना प्राप्त हुने व्यवस्थाको अन्त्य गरी सार्वजनिक निकायले उपलब्ध गराउनुपर्ने सूचना वेबसाइट, इमेल, इन्टरनेटमार्फत उपलब्ध हुने व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न समिति नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र राष्ट्रिय सूचना आयोगलाई निर्देशन गर्दछ ।'

समितिले सार्वजनिक तथा निजी क्षेत्रका सबै निकायले सूचना अधिकारी तोकेर कार्यसम्पादनलाई तीन-तीन महिनामा प्रकाशन गर्ने व्यवस्था मिलाउन र सूचना सार्वजनिक नगर्ने निकायलाई तत्काल कानुनी कारबाही गरी १५ दिनभित्र समितिलाई जानकारी गराउन राष्ट्रिय सूचना आयोगलाई निर्देशन दिएको छ ।

सभापति खड्काले भनिन्, ‘सार्वजनिक तथा निजी क्षेत्रका सबै निकायले सूचना अधिकारी तोकि ती निकायहरूबाट सम्पादित कार्य स्वतः तीन-तीन महिनामा प्रकाशन गर्ने, गराउने र सेवाग्राहीले मागेको सूचना सरल र बुझिने भाषामा तोकिएको अवधिभित्र उपलब्ध गराउने कार्य प्रभावकारी रुपमा कार्यान्वयन नभएको पाइएकाले यस्ता विषय कार्यान्वयन नगर्ने/नगराउने निकायलाई तत्काल कानुनी कारबाहीको दायरामा ल्याई त्यसको जानकारी १५ दिनभित्र समितिलाई उपलब्ध गराउन समिति राष्ट्रिय सूचना आयोगलाई निर्देशन गर्दछ ।'

समितिले नागरिक, सरकार, जनप्रतिनिधि लगायतका सबै पक्षलाई सूचनाको हक कार्यान्वयन गराउन क्रियाशील रहेको राष्ट्रिय सूचना आयोगलाई सहज र प्रभावकारी रूपमा काम गर्ने वातावारण निर्माण गर्न, प्रयाप्त स्रोत, साधन र आवश्यक जनशक्ति सहित भौतिक संरचनाको तत्काल व्यवस्था गर्नसमेत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निर्देशन दिएको छ ।

प्रकाशित : श्रावण १३, २०७७ १८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?