कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

बामदेवले भने, 'ओलीबाट पार्टी र सरकार चलेन तर फुटबाट जोगाउन उनलाई दुवै पदमा रहन दिउँ'

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा उपाध्यक्ष बामदेव गौतमले पार्टीलाई फुटबाट जोगाउन केपी ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवैबाट नहटाउने प्रस्ताव अगाडि सारेको प्रष्टीकरण दिएका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बहुमत स्थायी कमिटी सदस्यहरुको बैठकमा गौतमले ओली आफैं पार्टी फुटाउन लागीपरेकाले त्यसलाई असफल पार्न उनलाई नै प्रधानमन्त्री र पार्टी अध्यक्ष रहन दिने प्रस्ताव आफूले गरेको बताएका हुन् ।

बामदेवले भने, 'ओलीबाट पार्टी र सरकार चलेन तर फुटबाट जोगाउन उनलाई दुवै पदमा रहन दिउँ'

गौतमले सरकार र पार्टी सञ्चालन गर्न ओली पूर्ण असफल भए पनि उनलाई हटाउँदा पार्टी फुट्ने बताएको एक नेताले जानकारी दिए । जारी स्थायी कमिटीको बैठकमै ओलीबाट सरकार र पार्टी दुवै नचलेको भन्दै आफूले नै राजीनमा माग गरेको समेत उनले स्मरण गराएका थिए ।

तर, पछिल्लो समय ओलीले निकास दिनुभन्दा पार्टी फुटाउने तयारी गरेपछि त्यसलाई रोक्न ६ बुँदे प्रस्ताव अगाडि सारेको बताएका हुन् । ‘केपी ओलीले पार्टी चलाउन सकेनन् । प्रधानमन्त्री चलाउन सकेनन् । मनपरि गरे । अराजक ढंगले चले । योग्यता राखेनन् । दुष्ट्याई गरे । दुष्ट हुन् भनेर जानिसकेपछि कहिलेकाहीं सावधान हुनुपर्ने भयो । तर, पनि मैले राखेको ६ बुँदे प्रस्तावले पार्टी एकता हुन्छ । म पार्टी विभाजनको साँक्षी बस्दिनँ । पार्टी एकताको लागि मैले यो प्रस्ताव अगाडि सारेको हुँ,’ गौतमले बैठकमा भनेका थिए ।

गौतमले पार्टीभित्र संकट आउनुमा ओलीमात्र नभई अर्का अध्यक्ष पुष्पकमल दाहाल पनि जिम्मेवार भएको बताएका थिए ।

गौतमले अघि सारेको ६ बुँदे प्रस्तावमा ओलीलाई एकता महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधिसभाको बाँकी अवधिभर प्रधानमन्त्रीको जिम्मेवारीमा रहन दिने प्रस्ताव गरेका छन् । अर्का अध्यक्ष दाहाललाई एकता महाधिवेशनसम्म सम्पूर्ण कार्यकारी अधिकारसहित अध्यक्षको जिम्मेवारीमा रहने गौतमको प्रस्तावमा छ । उनले पार्टीको एकता महाधिवेशन सहमतिमा आयोजना गर्ने पनि प्रस्ताव गरेका छन् ।

मंगलबार ११ बजेका लागि तय भएको बैठक ओलीले एकतर्फि रुपमा स्थगित गरेका थिए । त्यसलगत्तै अध्यक्ष दाहालले बहुमत सदस्यको बैठक राखेका थिए । उक्त बैठकले ओलीले एकपक्षीय रुपमा बैठक स्थगित गर्नु अनुचित भएको निष्कर्ष निकालेको छ ।

बैठकले स्थायी कमिटीको अर्को बैठक आवश्यक रहेको भन्दै यसका लागि मिति तय गर्न ओलीसँग दाहालले छलफल गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । बैठकले पार्टी एकताको रक्षा गर्न र पार्टीलाई विधि पद्धतिसम्मत रुपमा अगाडि बढाउन निम्ति सकारात्मक भूमिका खेल्न नेताहरुलाई आग्रह गरेको छ । बैठकमा २९ स्थायी कमिटी र २ आमन्त्रीत सदस्य सहभागि थिए ।

प्रकाशित : श्रावण १३, २०७७ १९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?