१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७८

नेकपामा धाँजा फाट्यो

ओलीद्वारा एकपक्षीय रुपमा स्थायी कमिटी बैठक स्थगित, बालुवाटारमै बसेको दाहाल–नेपाल पक्षको बैठकद्वारा ओलीको कदमलाई अवैधानिक ठहर
पार्टी फुट्न नदिन गौतमको ६ बुँदे प्रस्ताव, भुसाल–पोखरेल–भट्टराईद्वारा पनि अर्को प्रस्ताव, ओली र गौतमबीच डिनर संवाद
बिनु सुवेदी

काठमाडौँ — शीर्ष नेताहरूबीचको झगडाले चरम रूप लिएपछि सत्तारूढ नेकपामा धाँजा फाटेको छ । एकअर्काप्रति असन्तुष्टि जनाएर गुट–उपगुटको भेला गर्दै आएका नेताहरूबीच मंगलबार स्पष्ट कित्ताकाट देखिएको हो । प्रधानमन्त्री निवास बालुवाटारमै बोलाइएको स्थायी कमिटीको बैठक अध्यक्ष केपी शर्मा ओलीले एकलौटी स्थगित गरिदिए ।

नेकपामा धाँजा फाट्यो

त्यसपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपालनिकट स्थायी कमिटीका बहुमत सदस्यले प्रधानमन्त्री निवासभित्रै बैठक गरेर ओलीको कदमलाई अवैधानिक भनेका छन् । दुई आमन्त्रित र २८ स्थायी कमिटी सदस्य उपस्थित रहेको उक्त भेलालाई दाहाल–नेपाल समूहले ‘स्थायी कमिटीको आधिकारिक बैठक’ दाबी गरेको छ । ओली समूहले भने यसलाई दाहाल–नेपाल समूहको ‘गुटको भेला’ भनेको छ ।

पार्टी एकतापछि नेकपाभित्र देखिएको यो विवाद अहिलेसम्मकै चरम हो । यसअघि कैयौंपटक नेताहरूबीच विवाद हुँदा गुटका छुट्टाछुट्टै भेला मात्र भएका थिए । ‘पार्टीको बैठक’ नै दाबी गर्दै एउटा समूहको मात्र जमघट भएको थिएन । प्रधानमन्त्री निवास बालुवाटारभित्रै असन्तुष्ट नेताहरूले ओलीको विमतिका बीच स्थायी कमिटी बैठक दाबी गर्दै भेला गर्नुले नेकपाभित्रको पछिल्लो विवाद छताछुल्ल हुन पुगेको छ । यसको प्रभावकारी व्यवस्थापन हुन नसके पार्टीमा विग्रह आउन सक्नेसम्मको चिन्ता नेताहरूले व्यक्त गरेका छन् ।

पार्टीका दुई अध्यक्ष ओली र दाहालका पक्ष/विपक्षमा लाग्ने स्थायी कमिटी सदस्यले मंगलबार स्पष्टै रूपमा आ–आफ्नो लाइन पक्डिए । गत ६ गते बसेको स्थायी कमिटी बैठकले मंगलबारसम्म बैठक सारेको थियो । बीचमा नेताहरूबीच घनीभूत छलफल गरेर निचोड निकाल्ने भनिए पनि परिस्थिति झन् बिग्रिएपछि अध्यक्षद्वय आआफ्नो समूह बलियो बनाउने ध्याउन्नमा लागे । प्रधानमन्त्री ओली जसरी भए पनि बैठक स्थगन गर्ने मनस्थितिमा रहेका बेला अर्का अध्यक्ष दाहालसहितको समूहले बैठक अघि बढाउने तयारी पहिलेदेखि नै गरिरहेको थियो । तर मंगलबार बिहानसम्म बैठक बस्ने/नबस्ने निश्चित थिएन । अध्यक्ष ओलीले छलफलमा बोलाउँदासमेत उही पुरानै कुरा गर्न जान्नँ भनिरहेका दाहाललाई भेट्न बैठक स्थगन गर्ने प्रस्ताव लिएर महासचिव विष्णु पौडेल बिहान ७ बजे नै उनको निवास खुमलटार पुगेका थिए ।

दाहालले आफूहरूले बैठक अघि बढाउने निर्णय गरिसकेकाले नरोकिने जवाफ दिएपछि पौडेल फर्किए । लगत्तै दाहाल पक्षीय सचिवालय सदस्यको बैठक खुमलटारमा सुरु भयो, ओली पक्षीय नेताहरूले बालुवाटारमा परामर्श गरे । साढे १० बजेसम्म छलफलमै रहेका दाहाल पक्षीय नेताहरू ‘आज जसरी पनि बैठक गर्नुपर्छ’ भनेर बालुवाटार लागे । त्यही बेला प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बैठक स्थगन भएको सूचना सामाजिक सञ्जालमा राखे । ‘पार्टीका दुई जना अध्यक्षका बीच आवश्यक परामर्श र गृहकार्य गरी सचिवालयको बैठकको निर्णय र निर्देशन बमोजिम प्रस्ताव तयार गर्न बाँकी रहेको हुनाले स्थायी कमिटीको आज ११ बजे हुने भनिएको बैठक स्थगित गरिएको छ,’ थापाले ट्वीटरमा यो सूचना लेख्दा दाहाल पार्टी बैठकमा सहभागी हुन बालुवाटार जाने तरखरमा थिए ।

कतिपय स्थायी कमिटी सदस्य बैठकस्थल पुगिसकेका थिए । प्रवक्ता नारायणकाजी श्रेष्ठले आफूहरू बैठक स्थलमै रहेको र स्थगित भएको सूचना पाइनसकेको प्रतिक्रिया दिए । दाहाल सवा ११ बजे बालुवाटार छिर्दा केही स्थायी कमिटी सदस्यका साथ सचिवालय सदस्य झलनाथ खनाल, माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ पुगिसकेका थिए । उपाध्यक्ष वामदेव गौतम भने अलि ढिलो गरी गए ।

बैठक सुरु हुनेबित्तिकै सहभागी अधिकांश नेताले स्थायी कमिटीले तय गरेको बैठकलाई प्रधानमन्त्री ओलीले एकलौटी रूपमा स्थगन गर्न नमिल्ने र बैठकमा उपस्थित हुनैपर्ने भएकाले जसरी भए पनि बोलाउन अध्यक्ष दाहालसँग आग्रह गरे । ‘हामीले अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीलाई बोलाउनुपर्छ, यसरी एकलौटी बैठक रोक्नु हुँदैन भन्यौं,’ एक नेताले कान्तिपुरसँग भने, ‘उहाँले म त एक्लै जान्नँ भनेपछि सचिवालय सदस्यहरू नै जानुस् भनेर प्रस्ताव गरिएको हो । तर माधव नेपाल र नारायणकाजी श्रेष्ठले ओलीलाई बोलाउन जान अस्वीकार गर्नुभयो, त्यसपछि प्रचण्ड र झलनाथ खनाल ओलीलाई बैठकमा आमन्त्रण गर्नका लागि जानुभएको थियो ।’

एक्लाएक्लै छलफल गरेर भित्री सहमति गरिरहेको भन्ने आक्षेप आएपछि दाहालले ओलीसँग एक्लै भेट्न मन नगरेको उनीनिकट स्रोतको भनाइ छ । ओली, दाहाल र खनालबीच करिब आधा घण्टा भएको कुराकानीमा दाहाल र खनालले बैठकमा उपस्थित हुन आग्रह गरेका थिए । जवाफमा ओलीले ‘मैले बोलाएको बैठक स्थगन गरेको छु, अर्को कुन बैठक हो, म जान्दिनँ र सहभागी हुन पनि जान्न’ भनेर जवाफ दिएपछि उनीहरू त्यही खबर बोकेर बैठकस्थलमा फर्किए ।

स्थायी कमिटी सदस्य सुवास नेम्वाङले बोलाइएको बैठक स्थगित भइसकेको र बालुवाटारमा दाहाल पक्षीय नेताहरूको भेला भएको हुन सक्ने टिप्पणी गरे । ‘बैठक गरौं भनेर अध्यक्ष दाहाल बोलाउन आउनुभएको थियो, प्रधानमन्त्रीले तपाईंहरूले भेला गर्नुभएकै छ, बिहान खुमलटारमा भएको तपाईंकै भेलाका कारण म यता पर्खिबसें, हाम्रो छलफल हुन पाएन,’ ओलीले दाहाललाई दिएको जवाफ उद्धृत गर्दै नेम्वाङले कान्तिपुरसँग भने, ‘मैले महासचिवसित सल्लाह गरेर बैठक स्थगन गरें, यहीँ बसेर यसो सल्लाह त गर्न सक्नुहुन्छ, बैठक नगर्नुस् ।’

दाहाल र खनालले पनि ओली बैठकमा आउन इन्कार गरेको बताए । ‘प्रचण्डजी र झलनाथजीले बैठक एकतर्फी स्थगन गरेर गल्ती गर्नुभयो, नियमित एजेन्डामा छलफल गरौं, हिँड्नुस् भन्नुभएछ,’ नेता मातृका यादवले कान्तिपुरसँग भने, ‘प्रधानमन्त्रीले अहिले बैठक आवश्यक नै छैन, किन जाने भनेर जवाफ दिनुभएछ ।’ दाहालले एजेन्डाअनुसारै छलफल गर्ने कुरामा आफू र ओलीका बीचमा सहमति भए पनि एकतर्फी निर्णय गरेर राम्रो नगरेको टिप्पणी गरेका थिए । ‘मसँग भएको कुराअनुसार बैठक चलाउने कोभिड–१९ र सीमा विवादबारे भएको छलफलको प्रस्ताव पारित गर्ने भन्ने थियो,’ दाहालले बैठकमा भने, ‘तर उहाँले एकलौटी गर्नुभयो ।’

दाहालले बैठकलाई अनौपचारिक छलफलका रूपमा बुझ्न आग्रह गरेका थिए । अधिकांश स्थायी कमिटी सदस्यले यो असार १० गते सुरु भएको स्थायी कमिटी बैठककै निरन्तरता भएकाले औपचारिक बैठक भन्नुपर्ने तर्क राखेका थिए । दाहालले ३ बजेसम्म बैठक सारेर सहमतिको प्रयत्न गरौं भनेर आफूहरूले राखेको प्रस्ताव पनि ओलीले अस्वीकार गरेको ब्रिफिङ गरेका थिए । उनले आफू अहिले पनि पार्टी एकताकै पक्षमा रहेकाले संयमित हुन नेताहरूलाई आग्रह गरेका थिए ।

उपाध्यक्ष वामदेव गौतमले पार्टीलाई जसरी भए पनि एकताबद्ध गराउनुपर्ने र दुई अध्यक्ष विभाजित भए आफू कसैको पनि पक्षमा नउभिने बताएका थिए । ‘केपी ओलीले पार्टी र सरकार चलाउन सक्नुभएन, अराजक ढंगले चल्नुभयो,’ गौतमले भने, ‘तर दुष्टदेखि दैव डराउनुपर्छ भनेर मैले पार्टी एकताका लागि ६ बुँदे प्रस्ताव अघि सारेको हुँ ।’

अरू स्थायी कमिटी सदस्यले मनोमानी गरेर ओलीले ठीक नगरेको जनाए पनि सहमति र एकताका लागि थप छलफल जरुरी रहेको बताए । करिब डेढ घण्टापछि ओलीले विधानविपरीत बैठक स्थगन गरी उचित काम नगरेको निष्कर्ष निकालेर लिखित प्रस्तावका रूपमा पारित गरियो । ‘स्थायी कमिटी बैठकको मिति र समयमा यसअघिको स्थायी कमिटी बैठकले नै निर्णय गरेको थियो । पार्टी अध्यक्ष केपी शर्मा ओलीले विधिविपरीत स्थगित भएको सूचना प्रसारण गर्नु उचित थिएन,’ बैठकको निर्णय सुनाउँदै प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘यो विषम परिस्थितिमा पार्टीको एकता विधि र पद्धतिलाई ध्यानमा राखी अर्का अध्यक्ष ओलीसँग छलफल गरी बैठक सुचारु गर्न पार्टी अध्यक्ष प्रचण्डलाई जिम्मेवारी दिने निर्णय बैठकले गरेको छ ।’

श्रेष्ठका अनुसार पार्टी एकताको रक्षा गर्न, पार्टीलाई विधि र पद्धतिसम्मत ढंगले अघि बढाउन र पार्टीलाई निकास दिन सबै नेता/कार्यकर्ता र सदस्यलाई आआफ्नो ठाउँबाट भूमिका खेल्न आग्रह गर्ने निर्णय बैठकले गरेको छ । बैठकको यो निर्णय सुरुमा अध्यक्ष दाहालले सुनाएका थिए । तर पछि भाषा मिलेन भन्ने कुरा उठेपछि कृषि तथा पशुपन्छी विकासमन्त्रीसमेत रहेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले त्यसलाई लिखित रूपमा उतारेर सुनाएपछि बैठकले पारित गरेको थियो ।

पार्टी महासचिव पौडेल नै बैठकमा नभएपछि अघिल्ला बैठकमा झैं निर्णय पुस्तिकामा माइन्युट लेखिएन । एउटा कागजमा निर्णय लेखियो । दाहाल पक्षीय नेताहरूले उक्त बैठकलाई असार १० कै बैठकको निरन्तरता भने पनि ओली पक्ष भने यसलाई बैठक मान्न तयार छैन । ‘उहाँहरू बैठक गर्न भनेर बालुवाटार आउनुभएको थियो,’ गण्डकी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका स्थायी कमिटी सदस्य पृथ्वीसुब्बा गुरुङले कान्तिपुरसँग भने, ‘बैठक हुन नसकेपछि भेला गरेर जानुभयो, यसअघि खुमलटारमा हुने भेला आज बालुवाटारमा भयो, फरक त्यही हो ।’ गुरुङले अध्यक्ष ओलीसहित आफूहरूको स्पष्ट लाइन पार्टी महाधिवेशन नै भएकाले त्यसैमा सहमति गर्नु र दुई अध्यक्षले महाधिवेशन प्रस्ताव ल्याउनुको अर्को विकल्प नभएको बताए । स्थायी कमिटी सदस्य भीम रावलले भने अध्यक्ष सधैं बैठकबाट भागेर पार लाग्न नसक्ने बताए । युवराज ज्ञवाली, वेदुराम भुसाललगायत नेताहरूले बैठकको नियमित एजेन्डामा प्रवेश गर्नुपर्ने बताए ।

दाहाल–नेपाल पक्षको बालुवाटार बैठकमा पूर्वमाओवादी धारका सचिवालय सदस्य रामबहादुर थापा र स्थायी कमिटी सदस्यहरू लेखराज भट्ट, टोपबहादुर रायमाझी र मणि थापा सहभागी थिएनन् । स्थायी कमिटी सदस्य थापाले खुमलटार भेलामा आफूहरूलाई छुटाइएको र बैठक सुरु भइसकेपछि दाहालको सचिवालयबाट बोलाइएकाले आफूहरू बैठकमा नगएको बताए ।

‘विग्रह रोक्ने’ छुट्टाछुट्टै प्रस्ताव, ओलीका लागि राहत

पार्टीको आन्तरिक विवाद विभाजनउन्मुख दिशामा अघि बढेपछि त्यसलाई रोक्न उपाध्यक्ष वामदेव गौतम र स्थायी कमिटी सदस्यहरू घनश्याम भुसाल, शंकर पोखरेल र योगेश भट्टराईले दुईखाले छुट्टाछुट्टै प्रस्ताव अघि सारेका छन् ।

उपाध्यक्ष गौतमले ‘पार्टी विग्रह तत्काल रोक्न भन्दै दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालसमक्ष ६ बुँदे प्रस्ताव राखेका छन् । जुन प्रस्तावमा ओलीले यो प्रतिनिधिसभाको कार्यकालभर सरकारको नेतृत्व गर्ने र पुष्पकमल दाहाल एकता महाधिवेशनसम्म सम्पूर्ण कार्यकारी अध्यक्षसहितको जिम्मेवारीमा रहने उल्लेख छ ।

ओलीले तत्काल प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्छ भन्नेमा दाहाल र नेपाल अडिग रहिरहेका बेला यही समूहसँग अहिले मोर्चाबन्दी गरिरहेका गौतमले प्रधानमन्त्री ओलीले पूर्ण कार्यकाल काम गर्न पाउनुपर्ने प्रस्ताव गरेका हुन् । जुन प्रस्ताव ओलीका लागि केही राहत हुने खालको छ । कहिले ओली र कहिले दाहाल समूहसँग मिल्दै आएका गौतमले अहिले पार्टीभित्रको विवाद समाधान गर्न भन्दै यस्तो प्रस्ताव ल्याएका हुन् । गौतमको प्रस्तावमा प्रधानमन्त्रीको दैनन्दिन काममा पार्टीले हस्तक्षेप गर्न नहुने उल्लेख छ । तर सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्त्वका विषयहरूमा निर्णय गर्नॅपूर्व पार्टीको सचिवालयमा परामर्श गर्ने र प्रशासन तथा सुरक्षा निकायका कर्मचारीहरूको पदोन्नति र सरुवाका लागि मापदण्ड निश्चित गरी कार्यान्वयन गर्नुपर्ने उल्लेख छ ।

उपाध्यक्ष गौतमले एकता महाधिवेशन सहमतिमा आयोजना गर्नुपर्ने, पार्टी केन्द्रीय सचिवालयको सुझाव र परामर्शमा मन्त्रिपरिषद् पुनर्गठन तथा राजनीतिक तथा संवैधानिक नियुक्ति गर्नॅपर्ने र संसद्मा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नॅपूर्व सचिवालयको परामर्श लिनुपर्ने सुझाव पनि दिएका छन् । पार्टीका बैठकहरू पार्टी कार्यालयमा आयोजना गर्नुपर्ने पनि उल्लेख छ । हाल नेकपाका अधिकांश बैठक प्रधानमन्त्री निवास बालुवाटारमा हुन्छन् । गौतमले दाहाल–नेपाल पक्षले बालुवाटारमा गरेको बैठकमै उपस्थित भएर आफूले अघि सारेको विकल्पले पार्टीलाई एकताबद्ध बनाएर लैजान सक्ने भन्दै सबैलाई समर्थन गर्न आग्रह गरेका थिए । अन्यथा ढंगले पार्टी एकता बिगार्ने गरी अघि बढ्न खोजे आफ्नो कसैलाई पनि सहयोग नहुने उनको भनाइ थियो ।

उपाध्यक्ष गौतमले मंगलबार बिहान नै यो प्रस्ताव अघि बढाएका थिए । तर स्थायी कमिटी बैठक प्रधानमन्त्री ओलीले एकतर्फी रूपमा रोकेपछि विवाद झन् बढ्ने स्थिति देखापर्‍यो । थप स्थिति बिग्रन नदिनका लागि स्थायी कमिटी सदस्यहरू भुसाल, पोखरेल र भट्टराईले छुट्टै बैठक गरे । उनीहरूले स्थायी कमिटीको बैठकमा राखिएको ‘पार्टी र सरकारको कामको समीक्षा’ भन्ने एजेन्डाहरू तत्कालका लागि हटाउनुपर्ने प्रस्ताव गरेका छन् । त्योबाहेकका एजेन्डामा बैठक बसी निष्कर्षमा पुग्नुपर्ने उनीहरूको प्रस्ताव छ । यसो गर्दा तत्कालका लागि पार्टी नै विभाजनमा जाने खालको खतरा टर्न सक्ने उनीहरूको बुझाइ छ । उनीहरूले अध्यक्षद्वय ओली र दाहाल दुवैलाई यो प्रस्ताव गरेका छन् । तर दुवै पक्षले अहिले आएका यी प्रस्तावलाई ‘रेस्पोन्स’ गरेका छैनन् ।

ओली–गौतम डिनर संवाद

नेकपा अध्यक्ष ओली र उपाध्यक्ष गौतमबीच मंगलबार साँझ डिनर संवाद भएको छ । गौतम निवास भैंसेपाटीमा साँझ ७ देखि ९ बजेसम्म ओली र गौतमबीच छलफल भएको हो । व्यक्तिगत र पारिवारिक भनिएको भेटघाटमा प्रधानमन्त्री ओलीकी पत्नी राधिका शाक्य र पार्टी महासचिव विष्णु पौडेल पनि सहभागी थिए । उनीहरूका बीचमा पछिल्लो राजनीतिक घटनाक्रमबारे सामान्य कुराकानी भएको गौतमनिकट स्रोतले बतायो ।

यसअघि पोहोर असोजमा सांसदहरूका लागि आवास उद्घाटन गर्न गएका बेला ओली गौतम निवास छिरेका थिए । राजनीति गम्भीर मोडमा पुगेका बेला ओली र गौतमबीच यसअघि पनि खानपानसहितको यस्तो संवाद हुँदै आएको छ । अघिल्ला संवादहरूमा ओलीले गौतमलाई आफ्नै निवासमा बोलाउने गरेको भए पनि यसपालि उनी नै भैंसेपाटी पुगेका हुन् । पोहोर असारमा पनि अर्कै गुटमा रहेका गौतमलाई आफ्नो पक्षमा ल्याउने पहल ओलीले सरकारी निवास बालुवाटारमा गौतमको जन्म दिन मनाइदिएर गरेका थिए ।

मंगलबार मात्रै आफ्नो ६ बुँदे प्रस्ताव पेस गर्दै गौतमले ओलीलाई पाँचै वर्षका लागि सरकार चलाउन दिनुपर्ने बताएका थिए । पार्टीभित्र अल्पमतमा परिरहेका बेला गौतमबाट मंगलबार आएको प्रस्तावले ओलीलाई राहत मिलेको छ । त्यसैले आफ्नो उपयुक्त सारथि बन्न सक्ने आकलनसहित ओली गौतम निवासमा गएका हुन् ।

बालुवाटार बैठकमा उपस्थित

पुष्पकमल दाहाल

झलनाथ खनाल

माधवकुमार नेपाल

वामदेव गौतम

नारायणकाजी श्रेष्ठ

अष्टलक्ष्मी शाक्य

गणेश साह

गिरिराजमणि पोखरेल

गोकर्ण विष्ट

घनश्याम भुसाल

चक्रपाणि खनाल

जनार्दन शर्मा

देव गुरूङ

देवेन्द्र पौडेल

पम्फा भुसाल

वर्षमान पुन

वेदुराम भुसाल

भीम आचार्य

भीम रावल

मातृका यादव

मुकुन्द न्यौपाने

युवराज ज्ञवाली

योगेश भट्टराई

रघुजी पन्त

लीलामणि पोखरेल

सुरेन्द्र पाण्डे

शक्ति बस्नेत

हरिबोल गजुरेल

अमृत बोहरा

विष्णुपुकार श्रेष्ठ

बैठकमा अनुपस्थित

केपी शर्मा ओली

ईश्वर पोखरेल

रामबहादुर थापा

विष्णु पौडेल

किरण गुरूङ

छविलाल विश्वकर्मा

टोपबहादुर रायमाझी

प्रदीप ज्ञवाली

पृथ्वीसुब्बा गुरूङ

मणि थापा

रघुवीर महासेठ

लेखराज भट्ट

विष्णु रिमाल

सत्यनारायण मण्डल

सुवास नेम्वाङ

शंकर पोखरेल

प्रकाशित : श्रावण १४, २०७७ ०७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?