कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

छेकबारले गरिखानै गाह्रो

लक्ष्मी साह

बारा — ठेलामा खानेकुरा डुलाउँदै बेच्ने छोटु साह पहलवानका दिन सधैं व्यस्ततामा बित्थे । कलैयाको भरत चोकमा व्यापार गर्ने उनलाई लकडाउनले निकै गाह्रो पारेको थियो । बिस्तारै जनजीवन सहजतातर्फ फिर्दै गर्दा फेरि अप्ठ्यारो परेको छ ।

छेकबारले गरिखानै गाह्रो

कोरोना संक्रमित बढेपछि चार दिनयता कलैयामा निषेधाज्ञा छ । ‘फेरि हातमुख जोर्न गाह्रो पर्‍यो,’ उनले भने, ‘पाँच जनाको परिवार छ । ठेलाकै व्यापारले घर धान्दै आएको थिएँ । सब चौपट भयो ।’ कलैयाको मुख्य बजारमा व्यापार गर्दै आएका न्यु गढीमाई इलेक्ट्रोनिक्सका सञ्चालक मिथलेश सर्राफ गर्मी बढेसँगै पंखाको बिक्रीले उत्साहित थिए । निषेधाज्ञापछि पसल खोल्न नपाउँदा छटपटी बढेको उनले बताए । ‘निषेधाज्ञाले घरमै थुनिनुपरेको छ । पसल बन्द छ, बैंकको ऋण थपिँदै छ,’ उनले भने, ‘निषेधाज्ञा नै कोरोना रोकथामको प्रभावकारी अस्त्र होइन । सरकारले जाँच र उपचार बढाउनुपर्छ ।’

यस्ता थुप्रै व्यवसायी, सर्वसाधारण र श्रमिकहरू निषेधाज्ञाले गरिखान गाह्रो परेको बताउँछन् । दैनिक कोरोना संक्रमितहरू भेटिन थालेपछि उपमहानगरमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको हो । जिल्लाको मुख्य सहरी क्षेत्र सदरमुकाम कलैयासहित हुलाकी तथा पूर्व–पश्चिम महेन्द्र राजमार्ग छेउछाउका जितपुर–सिमरा, निजगढ, कोल्हवी, महागढीमाई, सिम्रौनगढ र परवानीपुर सहरोन्मुख पालिकाअन्तर्गत पर्ने बजारका र व्यवसायहरू बन्द भएको छ । बजार बन्दले जनजीवन असहज बनेको छ ।

‘लकडाउन जसोतसो झेल्यौं । तर निषेधाज्ञा झेल्न कठिन छ,’ कलैया–५ का साना होटल व्यवसायी गौरीप्रसाद जयसवालले भने, ‘लकडाउनले थलिएका थियौं, खुलेपछि बल्लतल्ल सप्रिने आस थियो, तबसम्म निषेधाज्ञा सुरु भयो ।’ ऋण लिएर सुरु गरेको होटल चलाउन नपाउँदा घाटा बढेको उनले गुनासो गरे ।

सिम्रौनगढ–६ का किराना व्यवसायी मुकेश मेहता लकडाउनपछि अवस्थामा सुधार आउने आशामा चिन्ता बढेको बताउँछन् । स्थानीय प्रशासनले बिहान १० बजेसम्म किराना पसल खोल्न दिए पनि यो समय पर्याप्त नभएको उनको भनाइ छ ।

जिल्ला प्रशासन कार्यालय बाराले जिल्लाका अधिकांश ठाउँमा गत आइतबारदेखि अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरेपछि जनजीवन र आर्थिक कारोबारमा असर परेको छ । वीरगन्जदेखि पथलैयासम्मको औद्योगिक क्षेत्र, पथलैयादेखि निजगढसम्मको पूर्व–पश्चिम राजमार्ग, वीरगन्जदेखि रौतहटको सिमानासम्म जोडिने हुलाकी मार्ग छेउछाउका स्थानीय तहहरूलगायत कलैया र जितपुर–सिमरा उपमहानगरपालिका क्षेत्रमा निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बताए ।

उद्योगभित्रका होस्टेल तथा उद्योग सञ्चालन गर्न स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर काम गर्न गराउन भनिएको छ । प्रजिअ पण्डितका अनुसार उद्योगहरूमा कोरोना संक्रमित भेटिएकाले जगदम्बा इन्टरप्राइजेज र मारुती फर्मास्युटिकल सिल गरिएको छ । ‘अरू पनि उद्योगहरूमा अनुगमन थालिएको छ,’ उनले भने, ‘स्वास्थ्य मापदण्ड नअपनाउनेलाई सिल गरिनेछ ।’

प्रकाशित : श्रावण २२, २०७७ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?