नेपाल भित्रियो गाईभैंसीमा देखिने 'लम्पी स्किन' रोग
काठमाडौँ — भारतसँग सीमा जोडिएका ६ जिल्लाका पशुहरुमा 'लम्पी स्किन' रोग देखिएको छ । नेपालमा पहिलो पटक देखिएको यो रोग लम्पी स्किन भाइरसबाट सर्छ ।
पशु सेवा विभागका महानिर्देशक डा. वंशी शर्माले प्रदेश १ का मोरङ, झापा र सुनसरी प्रदेश २ को रौतहट र वाग्मती प्रदेशका चितवन र मकवानपुरमा किसानले पालेका गाईभैँसीमा लम्पी स्किन रोग देखा परेको बताएका हुन् । उनका अनुसार हालसम्म २ हजारभन्दा बढी गाईमा यो रोग देखा परेको छ ।
विभागका अनुसार १२ वटा गाई यो रोगका कारण मरेका छन् । रोग लागेपछि गाईवस्तुका घाँटी, पुच्छर लगायत शरीरका विभिन्न भागमा साना ठूला गिर्खाहरू देखिने, मुखबाट फिँज धेरै निकाल्ने, उच्च ज्वरो, कचेरा र सिंगान बग्ने जस्ता लक्षणहरु देखा पर्ने उनले बताए ।
छिमेकी भारत हुँदै यो रोग नेपालमा भित्रिएको पशु विज्ञले बताएका छन् । महानिर्देशक शर्माले भने, 'भारत र बंगलादेशमा पनि यो रोग देखिएकाले त्यतैबाट सरेर आएको हुन सक्ने अनुमान रहेको छ ।' अफ्रिकाबाट मध्यपूर्व हुँदै यो रोग भारत र बंगलादेशमा सन् २०१९ मा पनि देखा परेको थियो ।
सुरुमा गाईमा मात्रै देखिएको यो रोग चितवनमा भने भैंसीमा पनि फैलिएको केन्द्रीय पशु रोग अन्वेषण प्रयोगशालाका प्रमुख डा. डिकरदेव भट्टले बताए । उनले भने, 'सुरुमा गाईहरुमा मात्रै देखिएको थियो । चितवनका केही स्याम्पलहरुमा भने भैंसीमा समेत देखा परेको छ ।' यो रोग लागेपछि गाईभैंसीले कम दूध उत्पादन गर्ने भट्टले बताए । यसले करिब ८० प्रतिशतसम्म दूध उत्पादन घटाउन सक्ने उनले बताए । यसको मृत्युदर १ देखि १० प्रतिशतसम्म रहेको विभागले जनाएको छ ।
नेपालमा कसरी भित्रियो ?
कोरोना महामारीकै बेला असार अन्तिम साता यो रोग मोरङमा पहिलो पटक देखा परेको थियो । साउन ११ गते केन्द्रीय पशु रोग अन्वेषण प्रयोगशालामा पीसीआर परीक्षण गराउँदा लम्पी स्किन रोग भएको पुष्टि भएको थियो । भातरसँग सीमा जोडिएका जिल्लाका पशुहरु संक्रमित पशुसँगको सम्पर्कमा आएको हुनुपर्ने वा झिंगा लामखुट्टे लगायतको टोकाइबाट सरेको हुन सक्ने पशु सेवा विभागका महानिर्देशक शर्माले बताए । उनले भने, 'हामीले ठ्याक्कै यसरी सरेको भन्न सकिने अवस्था छैन । सीमावर्ती क्षेत्रमा चरिचरणका क्रममा दुवै मुलुकका चौपयाबीच भएको संक्रमणको क्रममा फैलिएको हुन सक्छ ।'
अर्को सातादेखि खोप लगाइने
विभागले हाल प्रोटोकल निर्माण गरेर किसानहरुलाई रोगबारे सचेतना दिने काम गरिरहेको बताएको छ । महानिर्देशक शर्माका अनुसार अर्को सातासम्म संक्रमित पशुहरुलाई लगाइने खोपबारे निर्णय लिइसक्ने बताए । उनले भने, 'आइतबार वा सोमबारसम्म कुन खोप लगाउने भनेर हामी निर्णय गरिसक्छौं । '
हाल पशु प्राविधिकहरुले संक्रमित पशुहरुलाई लक्षणको आधारमा उपचार विधि अपनाइरहेका छन् । केन्द्रीय पशु रोग अन्वेषण प्रयोगशालाका प्रमुख भट्टले रोग एक भाइरसबाट लाग्ने भएकाले लक्षणको आधारमा उपचार भइरहेको बताए ।
एक जिल्लाबाट अर्को जिल्लामा पशु नलैजान र किनबेच नगर्न आग्रह
यसैबीच पुश सेवा विभागले एक जिल्लाबाट अर्को जिल्लामा पशु तथा चौपायाहरु ओसापसार र बेचबिखन नगर्न आग्रह गरेको छ । पशुहरुमा रोग फैलिरहेकाले सकेसम्म घर पालुवा जीवहरुलाई घरमै बाँधेर राख्न विभागले आग्रह गरेको हो । विभागका प्रमुख शर्माले भने, 'रोगसँग मिल्दो लक्षणहरू अन्य स्थानमा पनि देखा परेको छ । पशुचौपायलाई घरमै बाँध्न आग्रह गर्छौं ।' उनले रोगका लक्षणहरु देखा परेका पशुबाट नुमना संकलन गरी परीक्षणका लागि केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा पठाउन भेटेरिनरी प्रयोगशालाहरूलाई पनि निर्देशन दिएका छन् ।
विभागले यो रोग गाईभैंसीको ओसारपसार, संक्रमित र स्वस्थ गाईभैंसीलाई उपचारको क्रममा एउटै सुईको प्रयोग र प्राकृतिक तथा कृत्रिम गर्भाधानमा संक्रमित साँढेको वीर्यको माध्यमबाट पनि सर्ने बताएको छ । यो रोग संक्रमित गाईभैंसीबाट जन्मिएका बाच्छाबाच्छी/पाडापाडीमा समेत सर्ने विभागका प्रमुख शर्माले बताए ।
असोजसम्म फैलन सक्ने
हाल ६ वटा जिल्लामा मात्रै देखा परेको यो रोगको फैलावट असोजसम्म हुने सक्ने पशु विज्ञले चेतावनी दिएका छन् । झिंगा, किर्ना, लामखुट्टे जस्ता जीवहरुको फैलावट अझै बढ्ने भएकाले रोग असोजसम्म सर्ने सक्ने सम्भावना रहेको केन्द्रीय पशु रोग अन्वेषण प्रयोगशालाका प्रमुख डा. डिकरदेव भट्टले बताए ।
उनका अनुसार घाम पानी र मनसुनी समयमा यस्ता जीवहरु बढ्ने भएकाले यी जीवहरुले संक्रमित पशुबाट अन्यलाई सार्न सक्ने सम्भावना धेरै हुन्छ । उनले संक्रमित पशुको मृत्युदर कम भएकाले डराइहाल्नुपर्ने अवस्था भने नरहेको बताए ।
दूध उत्पादनमा असर गर्ने
गाई र भैंसीहरुमा लम्पी स्किन संक्रमण भएपछि दूधमा आत्मनिर्भर हुने लक्ष्यमा असर पुग्ने पशु सेवा विभागले प्रक्षेपण गरेको छ । संक्रमित गाईहरुको दूध उत्पादनमा ८० प्रतिशतसम्म भएकाले दूध उत्पादनमा नकारात्मक असर पार्ने विभागले जनाएको हो । यस्तै, कृषकहरुलाई पनि असर गर्ने र रोग लागेर निको भएका पशुको छालामा हुने परिवर्तनका कारण नेपालबाट हुने गरेको छाला निकासीमा समेत नकारात्मक असर पर्ने विभागद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
विभागले रोगको नियन्त्रण तथा रोकथामका लागि सातवटै प्रदेशका पशु सेवा सम्बन्धी निकाय तथा कार्यालयहरूसँग समन्वय र सहकार्य गरिरहेको जनाएको छ ।
प्रकाशित : श्रावण २२, २०७७ १७:३८