कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

आकस्मिक कक्षबाहिर बिरामीको मृत्यु

–पीसीआर रिपोर्ट नेगेटिभ देखाए पनि चिकित्सकले बिरामी भर्ना गर्न बेवास्ता गरेपछि वीरगन्जमा एक वृद्धले ज्यान गुमाए
भूषण यादव

वीरगन्ज — वीरगन्ज महानगरपालिका–११ श्रीपुर निवासी ६० वर्षीय चलितर महतोलाई उपचारका लागि बिहीबार बिहान टेम्पोमा राखेर नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पताल लगियो । दुई दिनअगाडि छोरोसँग मेडिकल कलेज पुग्दा चिकित्सकले पीसीआर रिपोर्ट लिएर आएपछि मात्र उपचार गर्ने भनी फर्काएका थिए ।

आकस्मिक कक्षबाहिर बिरामीको मृत्यु

त्यहीअनुसार बिहीबार चलितरका भाइ शम्भु नेगेटिभ रिपोर्ट बोकेर गएका थिए । ‘पीसीआर रिपोर्ट देखाउँदा पनि आकस्मिक कक्षका चिकित्सकले भर्ना गर्न मानेनन्,’ शम्भुले भने, ‘उपचार नपाएर दाइको टेम्पोमै मृत्यु भयो ।’

ज्वरो आएपछि चलितरले साउन १५ मा वीरगन्ज महानगरपालिकाले श्रीपुर स्कुलमा ‘मास टेस्टिङ’ का क्रममा स्वाब दिएका थिए । शम्भुका अनुसार चलितरको ज्वरो निको भइसकेको थियो । ‘अहिले कमजोरी महसुस भएकाले निको पार्न बिहीबार बिहान नेसनल लगेका थियौं । तर, चिकित्सकले भर्नै गरेनन्,’ उनले भने, ‘अस्पतालको लापरबाहीले दाइ गुमायौं ।’ उनी आकस्मिक कक्षअगाडि दाइलाई टेम्पोमै रोकेर भित्र खबर गर्न गएका थिए । दाइको नेगेटिभ रिपोर्ट देखाउँदै भर्ना गर्न आग्रह गरे, तर ‘माथिबाट आदेश नआएसम्म भर्ना गर्न नसकिने’ भनेर चिकित्सकले वास्ता गरेनन् । त्यही बेला उनले वकिल विनयसिंह र श्रीपुरका नेता सुन्दर कुर्मीलाई समस्याबारे सुनाएका थिए । ‘मेडिकलको माथिल्लो निकायमा सम्पर्क हुन नसकेपछि मैले यहाँको तराई हस्पिटलमा कुरा गरेको थिएँ,’ कुर्मीले भने, ‘तराईले भर्ना गर्न मानेपछि शम्भुलाई बिरामीलाई ल्याएर आउन फोन गर्दा मृत्यु भइसकेको थियो । नेसनल मेडिकल कलेजका कोरोना फोकल पर्सन डा. असरफ हुसैनले रिपोर्ट नेगेटिभ आएकालाई भर्नामा नरोकिने बताए । ‘यो केसमा के भएको रहेछ, भोलि विस्तृत रूपमा बुझ्छौं,’ उनले छोटो प्रतिक्रिया दिए ।

वीरगन्जमा कोरोना संक्रमण वृद्धि भएसँगै सामान्य ज्वरोका बिरामीले पनि उपचार पाउन सकेका छैनन् । उपचारका लागि निजी अस्पताल पुग्ने बिरामीलाई अस्पतालले जाँच तथा उपचार नै नगरी फिर्ता पठाउने गरेको गुनासो बढेको छ । यस्तो गुनासो आएपछि निजी अस्पताललाई छुट्टै आइसोलेसन वार्डको व्यवस्था गरी आफूकहाँ आएका बिरामीहरुको जाँच तथा उपचारको व्यवस्था मिलाउन लगाउने र कोभिड–१९ देखिएमा मात्र कोभिड अस्पतालमा रिफर गर्न लगाउने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए ।

प्रकाशित : श्रावण २२, २०७७ १८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?