३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

कोटेश्‍वरका व्यापारी रामहरि श्रेष्ठको हत्या आरोपी बटालालाई सफाइ

‘अपराधमा सघाउ गर्नेले सफाइ पाउने र मातहतका अदालतका मुद्दाका बारेमा फैसलामार्फत टिप्पणी गरिन्छ भने न्यायाधीशको कार्यक्षमतामाथि प्रश्‍न उठ्छ । यो विषयमा संवैधानिक निकाय (संसद्)ले आफ्नो अधिकार प्रयोग गर्नुपर्छ’– गौरीबहादुर कार्की, पूर्वअध्यक्ष, विशेष अदालत
कृष्ण ज्ञवाली

काठमाडौँ — सर्वोच्च अदालतले कोटेश्‍वरका व्यापारी रामहरि श्रेष्ठको हत्याका आरोपितमध्येका एक गोविन्दबहादुर बटाला ‘जीवित’ लाई प्रत्यक्ष हत्यामा संलग्न नभएको भनी सफाइ दिएको छ । उनी श्रेष्ठलाई काठमाडौंदेखि चितवनसम्म अपहरण गर्ने काममा प्रत्यक्ष संलग्न थिए ।

कोटेश्‍वरका व्यापारी रामहरि श्रेष्ठको हत्या आरोपी बटालालाई सफाइ

रञ्‍जन कोइरालाको फैसला विवादित भएको एक महिना नबित्दै सर्वोच्चले त्यस्तै प्रकृतिको अर्को फैसलाको पूर्णपाठ सार्वजनिक गरेको हो । यो मुद्दाको फैसलामा न्यायाधीशहरु तेजबहादुर केसी र टंकबहादुर मोक्तान संलग्न थिए । केसी यसअघिको रञ्‍जन कोइरालाको विवादित फैसलामा समेत संलग्न न्यायाधीश हुन् ।

.........................

कोटेश्‍वरका व्यापारी रामहरि श्रेष्ठको कुटपिट र हत्यामा संलग्‍न नभएको अर्थ लगाउँदै सर्वोच्च अदालतद्वारा तत्कालीन ब्रिगेड कमान्डर गोविन्दबहादुर बटालालाई सफाइ ।

.................

सर्वोच्च अदालतको संयुक्त इजलासले बटालालाई घटनामा संलग्न नभएको भन्दै सफाइ दिएको हो । अर्का आरोपित संकल्प भनिने अर्जुन कार्कीलाई जिल्ला र पुनरावेदन अदालतकै फैसला सदर गरी २० रुपैयाँ जरिवाना गरेको हो । बटालाले यसअघि नै ३ वर्ष १५ दिन कैद भुक्तान गरिसकेका छन् । तर यो फैसलाले उनलाई ‘नैतिक पतन’ हुनबाट जोगाएको छ ।

को केमा संलग्‍न ?

कालीबहादुर खाम : अपहरण र कुटपिटको निर्देशन दिने (फरार)

गोविन्दबहादुर बटाला : अपहरण र शव व्यवस्थापनमा (३ वर्ष कैद बसी हाल सफाइ)

केशव अधिकारी : अपहरण र कुटपिटमा (फरार)

गंगाराम थापा : अपहरण र कुटपिटमा (फरार)

अर्जुन कार्की : शव गाडीमा लगेर फालेको (२० रुपैयाँ सजाय)

यो मुद्दामा जोडिएका ३ जना अझै फरार रहेकाले मुद्दा मुल्तवीमा राखिएको छ । सर्वोच्च अदालतले २०६८ साल असार ६ गते यो घटनामा रामहरि श्रेष्ठको अपहरणदेखि अपराधको सिलसिला सुरु भएको भनी त्यसमा संलग्नहरु कसुरदार हुने व्याख्या गरेको थियो । त्यो व्याख्या विपरीत न्यायाधीशद्वय केसी र मोक्तानको इजलासले बटालालाई सफाइ दिएको हो ।

घटनाको पृष्ठभूमि

२०६२/०६३ को जनआन्दोलनको सफलतापछि माओवादी शान्ति प्रक्रियामा आएपछि उसका जनमुक्ति सेना विभिन्न शिविरमा केन्द्रित हुन थालेका थिए । चितवनको शक्तिखोरमा रहेको तेस्रो डिभिजनले कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको घरमा सम्पर्क कार्यालय खोलेको थियो । त्यस्तैमा २०६४ चैत १४ गते सम्पर्क कार्यालयमा १७ लाख रुपैयाँ र एउटा पेस्तोल चोरी भयो । घटना छानबिनका लागि भन्दै बटालासहितको टोलीले केशव अधिकारी, गंगाराम थापा र रामहरि श्रेष्ठलाई ‘उठाएर’ चितवन लगेका थिए ।

डिभिजनका ब्रिगेड कमान्डर बटालाले सोधपुछ गर्दा रामहरिले आफूसँग नियन्त्रणमा लिइएका केशव अधिकारी र गंगाराम थापाको नाम पोलेका थिए । बटालाको दाबीअनुसार, २०६५ वैशाख ३१ गते बिहान ‘चोरीको रहस्य किन खोलिस ?’ भन्दै रामहरि श्रेष्ठलाई केशव अधिकारी र गंगाराम थापाले कुटपिट गरी मरणाासन्त अवस्थामा पुर्‍याउँछन् । उपचारका लागि अस्पताल लैजान खोज्दा बाटोमा श्रेष्ठको मृत्यु भएको थियो । उनको लास गोविन्दबहादुर बटालाले नारायणी नदीमा फालेको भन्ने बेहोराको विवरण जनमुक्ति सेना नेपाल तेस्रो डिभिजनले २०६५ साल जेठ ३ गते प्रहरीमा पठाएको थियो ।

रामहरिकी पत्नी रमिलाले बटाला नेतृत्वको माओवादी कार्यकर्ताको टोलीले ‘सानो काम छ भनी कब्जामा लिएको’ भन्दै बानेश्वर प्रहरीमा जाहेरी दिएकी थिइन् । रमिलाको बयानअनुसार वैशाख १५ गते राति बटाला र अरु ३ जनाले रामहरिलाई पेस्तोल देखाई लिएर गएका हुन् । उनले जाहेरीमा कालीबहादुर र गोविन्दबहादुर माथि घटनामा संलग्न रहेको किटानी गरेकी थिइन । पछि शक्तिखोरमै रामहरि बन्धक अवस्थामा रहेका बेला बटालाले कुरा गराइदिएका थिए । अनि ‘तपाईंका श्रीमान् आउनुहुन्छ’ भनी आश्वासन दिएका थिए । गम्भीर घाइते भएपछि रामहरिलाई चितवन मेडिकल कलेजमा लगेको र त्यहाँ लैजादा मृत्यु भएको खुलेपछि गाडीमा हालेर मुग्लिनतिर लगेको खुल्छ ।

प्रहरीसँगको बयानका क्रममा बटालाले त्यो दिनको चोरीको घटनाबारे बताउँछन् । जसअनुसार, कालीबहादुर खामको अंगरक्षकलाई ३ जनाले नियन्त्रण लिई १७ लाख नगद र एउटा पेस्तोल चोरी भएको थियो । त्यसको छानबिनको क्रममा रामहरिलाई आफ्नो नेतृत्वको टोलीले नियन्त्रणमा लिएको बटाला स्वीकार्छन् । उनको भनाइअनुसार, पर्सिपल्ट १७ गते घरको शौचालयमा टिसर्टमा पोको पारेको अवस्थामा १७ लाख फेला परेको थियो भने भर्‍याङमुनी पेस्तोल भेटिएको थियो । ‘वैशाख १५ गते फेरि शिविरमा ल्याई सोधपुछ गर्दा उनले आरोप स्वीकारेको र अरुले स्वीकार नगरेको । पछि सबैले स्वीकार गरेको’ बटालाले बयानमा भनेका थिए, ‘अनि राति कोठा खोली हेर्दा गंगाराम र केशव अधिकारीले घटनाको पोल खोलेकाले पिटेको बताएका थिए ।’

गोविन्दबहादुरले बयानमा भने केही विवरण फरक पारेको देखिन्छ । मरणासन्न अवस्थामा रहेका रामहरिलाई उपचारका लागि काठमाडौं ल्याउँदै गर्दा नारायणगढ-मुग्लिन सडकको भालुढुंगामा मृत्यु भएकाले गंगाराम र केशवले लासलाई तन्नामा राखी ढुंगा हालेर झोलुंगे पुलको बीचबाट नारायण नदीमा फालेको बटालाले बताए । पानीमै डुबोस र नभेटियोस् भन्ने उद्देश्यले उनीहरुले लासलाई तन्नामा बेरेर त्यसमा ढुंगासमेत राखेका थिए । खोजबिन गर्दा नभेटिएको लासपछि सड्न लागेको अवस्थामा त्रिशूली किनारमा फेला पर्‍यो । बटालाको दाबीअनुसार, लास त्रिशूलीमा खसाउनासाथ अरु दुवैजना भागेर बेपत्ता भए ।

२०६५ साल जेठ ६ गतेको कान्तिपुरका अनुसार, श्रेष्ठको मृत्यु बटालाले भने जस्तो उपचार गर्न काठमाडौं लैजाने क्रममा भएको नभई वैशाख २६ गते बिहान ११ बजे चितवनस्थित शिक्षण अस्पतालको आईसीयूमा भएको थियो । अस्पतालका चिकित्सक डा. भोजराज अधिकारीले अचेत अवस्थामा श्रेष्ठलाई २५ गते बेलुकी पौने ९ बजे चार जनाले अस्पताल पुर्‍याएको बताएका थिए । अस्पतालको आईसीयू कक्षको ५ नम्बरमा राखिएका श्रेष्ठ दुई घन्टासम्म हल्का सास फेरिरहेका थिए । भेन्टिलेटरको सहायताले स्वासप्रश्वास गराई राखिएका श्रेष्ठलाई भोलिपल्ट २६ गते बिहान सवा १० बजे डा. सुवास गुरुङले मृत घोषणा गरेका थिए ।

घटनापछि प्रहरीको नजरमा कालीबहादुर खामसहित रघु भनिने केशव अधिकारी, एटम भनिने गंगाराम थापा अनि संकल्प भनिने अर्जुन कार्की फरार भए । एटम खामकै अंगरक्षक हुन् । बटालाले कुटपिटको दोष केशव अधिकारी र गंगाराम थापामाथि थपेर आफू निर्दोष रहेको बयान गरे । फरार रहेका सवारी चालक अर्जुन कार्की पछि अदालतमा उपस्थित भए अनि गाडी चलाउने बाहेकका काम आफूले नगरेको बताए । फरार रहेका सबैको फाइल मुल्तवीमा राखेर जिल्ला अदालत चितवनले दुई पटक मुद्दाको फैसला गर्‍यो । पहिलोपटक २०६८ साल जेठ १७ गते भोलानाथ चौलागाईंको इजलासले बटालालाई ३ वर्ष कैद फैसला गर्‍यो । ६ महिनापछि मंसिर २० गते भोजराज अधिकारीको इजलासले अर्जुन कार्कीलाई घटनामा संलग्न नभएको तर घटना भएको देख्दादेख्दै मौन बसेको भन्दै २० रुपैयाँ जरिवानाको फैसला सुनाइदियो ।

२० रुपैयाँ सजाय किटान भएका संकल्प भनिने अर्जुन कार्की जिल्ला अदालतको फैसला स्वीकार गरेर पुनरावेदन अदालतमा गएनन् । ३ वर्ष सजाय पाएका गोविन्दबहादुर बटालाले आफू निर्दोष भएको दाबी गर्दै पुनरावेदनमा गए भने कार्की र बटाला दुवैलाई कम सजाय भएको भनी सरकारी वकिल कार्यालयले पनि पुनरावेदन हाल्यो । लास गाडीमा राखी गायब गर्ने काममा मतियार भएकाले कार्कीमाथि पनि सजाय हुनुपर्ने माग सरकारी वकिलको थियो ।

तत्कालीन पुनरावेदन अदालतका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र विनोदप्रसाद शर्माको इजलासले गोविन्दबहादुर बटालासहितले रामहरिलाई नियन्त्रणमा लिएर माओवादीको तेस्रो डिभिजनमा राखेको अनि उनकै नियन्त्रणमा रहेको ठाउँमा कुटपिट भएको ठहर गर्‍यो । टाउकोमा लागेको चोटका कारण रामहरिको मृत्यु भएको थियो । ‘आफ्नो नियन्त्रणमा राखेको व्यक्तिहरु बीचको कुटपिटबाट रामहरि घाइते भई मृत्यु हुन गएको भन्ने देखिदा’, फैसलामा भनिएको छ, ‘बटालालाई ३ वर्ष कैद हुने ठहर गरेको सुरु फैसलालाई अन्यथा भन्न मिलेन ।’ पुनरावेदन अदालतले बटाला ज्यान मुद्दामा संलग्न भएको भनी दाबी पुग्न नसकेको निष्कर्ष निकाल्यो भने लास गायब पार्न सघाउने सवारी चालक अर्जुन कार्कीलाई पनि २० रुपैयाँ जरिवाना गर्ने जिल्लाकै फैसला सदर गर्‍यो ।

शंकास्पद अनुसन्धान

कालीबहादुर खामसहित गोविन्दबहादुर बटाला लगायतको टोलीले व्यापारी रामहरि श्रेष्ठलाई कोटेश्‍वरको घरबाट अपहरण गर्दादेखि शक्तिखोर पुर्‍याउँदा, कुटपिट गर्दा अनि मरेपछि उनको शव त्रिशूलीमा फाल्दा विभिन्न कसुर आकर्षित हुने अपराध भएका छन् । तर मुद्दाको अभियोजन गर्ने प्रहरी र त्यसपछि सरकारी वकिलले अपहरण तथा शरिर बन्धक, कुटपिट अनि ज्यान मारेको मुद्दा नचलाई केवल ‘कर्तव्य ज्यान’को अभियोगमा मात्रै मागदाबी लियो ।

यसरी अपराधलाई संकुचित बनाउँदा अपहरणमा संलग्नहरुले उन्मुक्ति पाए भने केशव अधिकारी र गंगाराम थापामात्रै कुटपिटमा संलग्न भएको भनी अर्थ लगाई अरुलाई उन्मुक्ति दिइयो । फैसलामा बटालाले रामहरि श्रेष्ठको हत्या गर्ने मनसाय राखेका थिएनन् भन्ने व्यहोरा उल्लेख छ । किनभने, साक्षीले रामहरिमाथिको कुटपिटमा बटाला संलग्न थिएनन भनी बकपत्र गरेका रहेछन् । फैसलामा भनिएको छ, ‘यी प्रतिवादीले कुटपिट गरेको देख्ने प्रत्यक्ष प्रमाणको अभाव छ ।’

अधिकारप्राप्त निकाय अनि अधिकारीले बाहेक कसैले पनि व्यक्तिलाई नियन्त्रणमा लिन पाउँदैन । शिविरमा बसेका माओवादी कमान्डरहरुले घरमा बसेको व्यक्तिलाई पेस्तोल देखाएर नियन्त्रणमा लिएको घटनालाई प्रहरीले अपहरणको विषयवस्तु नै उठाएन । अनि जिल्ला र पुनरावेदन अदालतले पनि फैसलामा ‘अपहरण’ शब्दको प्रयोग गरेनन् । जिल्लाबाट फैसला भइसकेपछि भने प्रहरीले खाम, बटाला लगायतमाथि अपहरणको मुद्दासमेत चलायो र बटालालाई फेरि पक्राउ गर्‍यो । तर बटालालाई फेरि पक्राउ गर्नु कानुन र संविधानका दृष्टिले अनुचित भनी सर्वोच्च अदालतले बन्दीप्रत्यक्षकरणको आदेश जारी गर्‍यो । त्यसपछि दायर भएको अपहरण तथा शरीर बन्धकको अभियोगको मुद्दा हाल पनि विचराधीन छ ।

खै छानबिन प्रतिवेदन ?

घटनापछि सरकारले पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा एउटा छानबिन आयोग बनायो । आयोग सदस्यमा वरिष्ठ प्रहरी अधिकृत अमरसिंह शाह र उपन्यायाधिवक्ता शरदराज गौतम थिए । शव जाँच प्रतिवेदनमा ‘टाउकोमा बलपूर्वक कडा चोट लागेको’ विवरण उल्लेख छ । आयोगले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई प्रतिवेदन बुझाउँदै खामसहित ब्रिगेड कमान्डर गोविन्द बटाला, लडाकुहरू केशव अधिकारी र गङ्गाराम थापासहित नौ जना सहयोगीलाई कानुनी कारबाही गर्ने सिफारिस गरेको, खोज पत्रकारिता केन्द्रले प्रकाशित गरेको ‘नेपालमा दण्डहिनता’ नामक पुस्तकमा उल्लेख छ । घटनापछि श्रेष्ठको परिवारलाई २० लाख रुपैयाँ दिने, छोराछोरी र श्रीमतीको भविष्य सुनिश्चित गर्ने र दोषीलाई कारबाही गर्नेलगायत विषयमा प्रचण्ड र रमिलाबीचमा सहमति भएको थियो । जिल्ला तहदेखिकै फैसलामा यो आयोगको प्रतिवेदन उल्लेख छैन ।

नजीरसँग जुध्‍ने फैसला

गोविन्दबहादुरलाई दोस्रो पटक पक्राउ गरेर प्रहरीले अपहरण तथा शरीर बन्धकको मुद्दा चलाउन खोजेपछि उनकी पत्नी सुनिता बटालाले आफ्नो पतिलाई गैरकानुनी थुनामा राखिएको भन्दै बन्दीप्रत्यक्षीकरणको निवेदन दिइन् । निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले ‘एउटा व्यक्तिलाई घरबाट लगेर अन्यत्र कुटपिट र हत्या गरेको भए त्यो एउटा अपराधको निरन्तरतामा गरेको काम हुने’ निष्कर्ष निकालेको थियो । न्यायाधीशद्वय ताहिर अली अन्सारी र सुशीला कार्कीको संयुक्त इजलासले गरेको फैसलाअनुसार, रामहरिलाई घरबाट अपहरण गर्नेदेखि त्रिशूलीमा उनको लास व्यवस्थापन गर्नेहरु एउटै अपराधमा संलग्न थिए ।

सर्वोच्च अदालतले कुटपिटबाट नै रामहरि श्रेष्ठको हत्या भएको ठहर गर्दै कुटपिटमा बटालाको संलग्नता नदेखिएको भन्दै सफाइ दिएको हो । मार्ने काममा प्रत्यक्ष संलग्न नभए पनि बटालाले रामहरिलाई अपहरण गरेको तथ्य सर्वोच्च अदालतले नै स्वीकारेको छ । ‘उनी (बटाला)ले चोरीको घटनाबारे छानबिन गर्न आफूलाई खटाइएकाले सोधपुछसम्म गरेको स्वीकारेका छन्’ फैसलामा भनिएको छ, ‘जाहेरी दरखास्तका आधारमा मात्रै श्रेष्ठलाई मारेको अभियोगमा दोषी ठहर गर्न मिल्ने देखिएन ।’

विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीका अनुसार, अपराधमा प्रत्यक्ष संलग्न नभए पनि त्यसको वातावरण बनाउने काममा सहयोग गर्नेहरु कसुरको मात्राअनुसार सजायको भागिदार हुन्छन् । ‘घर देखाउने, बाटो देखाउनु, कहाँ आउँदै र जाँदै छ भनेर भनिदिने मान्छे त आफ्नो सहभागिताअनुसार सजायको भागिदार हुने देखिन्छ भने’, कार्कीले भने, ‘आफैंले अपहरण गर्ने अनि त्यसपछिका अपराधको सिलसिलामा कसैको मृत्यु हुन्छ भने सुरुदेखिको संलग्न व्यक्ति सजायको भागिदार हुन्छ । त्यस्तो अवस्थामा पनि उन्मुक्ति पाउँछ भने त्यो अराजकता हो ।’ उनका अनुसार, मुख्य अपराधमा प्रत्यक्ष संलग्न नभए पनि अपराधलाई सघाउनेलाई सजाय हुनेगरी कयौ नजीर प्रतिपादन भएका छन् । त्यो दृष्टिकोणले हेर्दा पनि पुरै सजायमा उन्मुक्ति दिनु गलत हुने कार्की बताउँछन् ।

सर्वोच्च अदालतले यो फैसलाका क्रममा मातहतको अदालतमा विचराधीन विषयमाथि समेत हस्तक्षेप गरी टिप्पणी गरेको छ । फैसलामा भनिएको छ, ‘बटालाविरुद्ध दायर अपहरण तथा शरीर बन्धकको मुद्दा अहिले पनि कारबाहीयुक्त अवस्थामा रहेको भए पनि यस अदालतबाट जारी भएको बन्दीप्रत्यक्षीकरणको आदेशले महत्वहीन हुन गएको छ ।’ पूर्वन्यायाधीश कार्कीको विचारमा, मातहतका अदालतमा विचाराधिन विषयलाई प्रभावित हुनेगरी माथिल्लो अदालतबाट टिप्पणी हुनु गलत हो । ‘फैसलामा यस्तो पनि हुन्छ भने त कार्यक्षमतामाथिको प्रश्न हो’ कार्कीले भने, ‘म त भन्छु, यस्ता विषयलाई हेर्नुपर्ने संवैधानिक निकायले छलफल गर्नुपर्छ ।’ उनले संवैधानिक निकाय भनी संसदलाई संकेत गरेका हुन् ।

सर्वोच्च अदालतले त्यतिबेला नै एउटै अपराधको श्रृङ्खलाका रुपमा ज्यानसम्बन्धी मुद्दा चलाएको र जिल्ला अदालतबाट मुद्दाको फैसलासमेत भइसकेको अवस्थामा फेरि अपहरण र शरीर बन्धकको मुद्दा चलाएर एउटै अपराधमा पटकपटक सजाय मागदाबी गर्न नहुने भन्दै सर्वोच्च अदालतले प्रहरीका पछिल्ला सबै कामकारबाही बदरसमेत गरिदियो । कानुन पत्रिकामा समेत प्रकाशित बन्दीप्रत्यक्षीकरणको उक्त निर्णयले रामहरिमाथिको अपराध उनलाई घरबाट अपहरण गर्दादेखि सुरु भई उनको शव व्यवस्थापनमा संलग्नहरु सजायका भागिदार हुने मान्यता स्थापित गरेको थियो । तर त्यसविपरीत गत फागुन १८ गतेको संयुक्त इजलासले गोविन्दबहादुर बटाला घटनामा संलग्न नभएको भनी सफाइ दिएको हो ।

प्रकाशित : श्रावण २२, २०७७ १९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?