२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

शीर्ष ९ नेताको गृहजिल्लामा कस्तो छ नेकपा विवाद ? 

बबिता शर्मा

काठमाडौँ — आन्तरिक विवादले केन्द्रदेखि जिल्लासम्म र प्रदेशदेखि गाउँसम्म नेकपाका संगठनात्मक काम प्रभावित भएका छन् । पाटीका दुईअध्यक्षसहित सचिवालयमा उत्पन्न विवाद र नेताहरुबीचको अविश्वासको सिधै असर नेकपाका तल्ला कमिटीमा पनि प्रत्यक्षरुपमा देखिन थालेको छ ।

शीर्ष ९ नेताको गृहजिल्लामा कस्तो छ नेकपा विवाद ? 

केन्द्रमा जस्तै जिल्लामा पनि नेकपामा गुटबन्दी छ र स्थानीय नेतृत्ववीच खिचातानी छ । विवाद नभएको जिल्ला नै छैन् ।

केन्द्रीय नेतृत्वतहमा देखिएको तनावले सचिवालयका नेताहरुको जिल्लासमेत बढी प्रभावित भएको त्यहाँको स्थानीय नेतृत्वको अनुभव छ । दुई पार्टीबीच एकताको दुई बर्ष पुगे पनि स्थानीय तहमा अझै संगठनात्मक र भावनात्मक एकता नभइसकेको नेताहरु बताउँछन् । केन्द्रको विवादले कार्यकर्ताको मानसिकता विभाजित छ र उनीहरु उत्साही छैनन् । कतै पार्टी विभाजन भइहाल्छ कि भन्ने त्रास जिल्लाका नेता–कार्यकर्तामा छ ।

नेतृत्वको टकरावको असर पार्टी अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापा, अर्का अध्यक्ष पुष्पकमल दाहालको गृहजिल्ला चितवन, वरिष्ठ नेता झलनाथ खनालको गृहजिल्ला इलाम र वरिष्ठ नेता माधवकुमार नेपालका गृहजिल्ला रौतहटमा परेको छ । अरु नेताको तुलनामा नेपालको गृहजिल्ला रौतहटमा विवाद धेरै देखिएको छ ।

यसबाहेक पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठको गृहजिल्ला गोरखा, सचिवालय सदस्य ईश्वर पोखरेलको गृहजिल्ला (उनको निर्वाचन क्षेत्र काठमाडौं–५) काठमाडौं, सचिवालय सदस्य रामबहादुर थापाको गृहजिल्ला चितवन र महासचिव विष्णु पौडेलको गृहजिल्ला रुपन्देहीमा पनि नेकपा विवादको असर छ । कान्तिपुरसँगको कुराकानीमा जिल्ला नेतृत्वमा रहेका नेताहरुले केन्द्रको विवादको असर, अवस्था र मनौवैज्ञानिक प्रवाह विस्तृतरुपमै बताएका छन् ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीको गृहजिल्ला झापाका इन्चार्ज रविन कोईरालाका अनुसार केन्द्रको टकराव जिल्लामा प्रष्ट देखिएको छ । ‘एकता नेपाली कम्युनिष्ट आन्दोलनको ऐतिहासिक एकता हो । एकता बचाउने कुरा कति महत्वपूर्ण छ, त्यसको मर्म, महत्व एकता गर्नेलाई थाहा छ । अहिले केही विग्रह आएका छन् । जसले पार्टीमात्रै हैन, मतदातामा समेत प्रभाव पारेको छ । केही मान्छे उदण्दतापूर्ण रुपले प्रस्तुत हुने, नारा जुलुस गरिहाल्ने, पार्टी फुटे पनि ठिक हुन्छ भन्ने चरित्रका पनि छन् । उनीहरुमा यो प्रवृति प्रकट भएको छ ।’

झापा इन्चार्ज कोइराला थप्छन्, ‘ती र त्यस्ता प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने आवश्यकता जिल्लामा देखिएको छ । माथि शीर्ष नेताहरुबीचको टकरावको असर जिल्लामा पनि छ । कोरोनाका कारण पार्टी बैठक बसेका छैनन् । तर, सडकमा जुलुस निकाल्ने काम भयो । एकथरी पार्टी विभाजन हुनु हुँदैन भन्नेले पार्टी कार्यालयमा आएर औपचारिक रुपमा ज्ञापनपत्र बुझाए । एकथरी सडकमा जुलुस निकाले ।'

ओलीको जस्तै अर्का अध्यक्ष दाहालको गृहजिल्ला चितवन पनि समस्यारहित छैन । जिल्ला अध्यक्ष यमबहादुर परियार भन्छन्, ‘संरचनागत हिसाबले पनि स्थानीय कमिटीका समस्या केन्द्रीय कमिटीमा गएर ठोकिन्छ । मूल नेतृत्वमा देखिएका समस्याको प्रभाव तल्ला कमिटीमा पनि देखिन्छन् । त्यसकारण स्वभावैले धेरै–थोरै प्रभाव जिल्लामा परेको छ । तर, कम्युनिष्ट पार्टीमा अन्तरसंघर्ष हुन्छन् । समस्या हल गर्नेतर्फ नेताहरु लाग्नु पनि भएको छ ।’

चितवन नेकपाका आठौं वरियतामा रहेका नेता तथा गृहमन्त्री थापाको पनि जिल्ला हो । पछिल्लो समय उनी ओलीनिकट देखिएका छन् ।

नेकपामा तेस्रो वरियताका नेता खनालको गृहजिल्ला इलामको अवस्था केही शान्त रहेको त्यहाँको नेतृत्वको दावी छ । जिल्ला इन्चार्ज धीरेन्द्र शर्मा भन्छन्, ‘देशले स्थायीत्व खोजेको छ । विचार र कायशैलीमा केही समस्या छन् भने छलफल बहस गरेर मिलाउनु पर्छ भन्ने जिल्लामा धेरैको भावना छ । अहिलेसम्म जिल्लामा गुटगत भेला, गतिविधि भएका छैनन् । अहिलेसम्म तिक्ततापूर्ण अवस्था छैन । तर के–कसो हुन्छ भन्ने चासो सबैमा छ ।’

तर, जिल्ला इन्चार्जको दावीलाई सचिव सोममाया राई अस्वीकार गर्छिन् । उनी भन्छिन्, ‘केन्द्रको विवादको असर जिल्लामा छँदै छैन भन्ने होइन । यहाँ पनि भित्रभित्र केही गतिविधि भएका छन् भन्ने कताकता सुनिएको हो । तर, केन्द्रमा जे जस्तो भए पनि जिल्लामा अर्न्तविरोध देखिन हुँदैन भन्ने बुझाई हामी नेतृत्व तहमा छ । त्यसकारण ठूलो विवाद अहिलेसम्म देखिएको छैन । सबैको चासो एकता जोगाउनु पर्छ भन्नेमा छ ।’ इलाम ओलीनिकट स्थायी कमिटी सदस्य सुवास नेम्वाङ्‍को पनि गृहजिल्ला हो ।

नेकपामा चौथो वरियताका नेता नेपालको गृहजिल्ला रौतहटमा एकतादेखि कै विवाद थियो । त्यसमाथि अहिले केन्द्रको विवादको असर थपिएको छ । रौतहट जिल्ला कमिटी अध्यक्ष कमल यादव जिल्लाको स्थितिबारे भन्छन्, ‘जिल्लामा पार्टीका गतिविधि शुन्य छन् । व्यक्ति–व्यक्तिका गतिविधि भएका छन् । शीर्ष नेताको लविइङमा गुटगत छलफल हुन्छन् । तर, सांगठनिक काम अगाडि बढेका छैनन् । पुरानै विवाद पनि छ । पूर्वमाओवादीका साथीहरुको विवादले गर्दा अहिलेसम्म जिल्ला कमिटीको सपथ हुन सकेको छैन । त्यसमाथि अहिले केन्द्रको विवादको असर देखिएको छ ।’

पाँचौं वरियतामा रहेका नेता गौतमको गृहजिल्ला बर्दियामा पनि केन्द्रको विवादको असर पुगेको छ । गौतम पछिल्लो समय दाहाल–नेपाल समूहबाट अलग्गिएका छन् । गौतमले विज्ञप्ति निकालेर आफू कुनै गुटमा नसरहेको प्रष्टीकरणसमेत दिएका छन् । यद्यपि उनको भूमिकलाई लिएर भने पार्टीभित्रै प्रश्न छन् ।

गौतमको गृहजिल्ला बर्दियामा अवस्था कस्तो छ ? जिल्ला इन्चार्ज लक्ष्मण ज्ञवालीको जवाफ छ, ‘मैले कुनै नेताको पछि नलागेर पार्टीको निर्णय र निष्कर्षका आधारमा अगाडि बढौं भनेर जिल्ला कमिटीका साथीहरुलाई भनेको छु । यद्यपि केही साथीहरुले आफ्नै ढंगले अब कता लाग्ने भन्ने चलखेल गर्नु भएको छ । सकेसम्म विभाजन रौकौं । यदि सकिएन भने भोलि कस्तो परिस्थित आउँछ, के एजेण्डा आउँछन्, त्यस्तो अवस्थामा बहस छलफल गरेर कता लाग्नु पर्छ लागौंला । तर, अहिले केही नगरौं भनेको छु । त्यसकारण अन्य जिल्लामा जस्तो तिक्तापूर्ण अवस्था छैन ।’

ज्ञवालीका अनुसार केन्द्रको विवादले नेता कार्यकर्तामा मनोवैज्ञानिक असर भने धेरै नै परेको छ । बर्दियामा एकतापूर्व पूर्व एमालेमै समेत समस्या थियो । अन्तरघातका कारण आफूले २०७४ को चुनाव हार्नुपरेको गौतमले बताउँदै आएका छन् ।

विवादका मामलामा नेकपामा छैटौं वरियतामा रहेका नेता श्रेष्ठको गृहजिल्ला गोरखाको अवस्था पनि औसत छ । जिल्ला इन्चार्ज कृष्ण धिताल भन्छन्, ‘पार्टीका गतिविधि केही भएका छैनन् । अहिले माथि देखिएको विवाद जिल्लामा देखिनु हुँदैन । माथि नेताहरु कुनै न कुनै सर्तमा मिल्छन् । तल बेकारमा किन विभाजित हुनुपर्‍यो ? त्यसकारण मैले जिल्लामा कुरा बिग्रन दिएको छैन । आफ्ना ढंगले कुरा नगरौं, सबै मिलेर जानुपर्छ भनेको छु ।’ तर, जिल्ला नेतृत्वबीच पुरानै अन्तरविरोध भने यथावत छन् ।

सातौं वरियतामा रहेका नेता पोखरेलको जिल्ला काठमाडौं हो । देशको राजधानी पनि भएको हुँदा यो जिल्लामा केन्द्रीय तहका नेताहरुबीच विवादको असर सिधा र सबैभन्दा धेरै पर्ने गरेको छ । यसको पुष्टि नेकपाको काठमाडौं जिल्ला कमिटीका अध्यक्ष र सचिवको भनाईले गर्छ ।

जिल्ला अध्यक्ष कृष्ण राई भन्छन्, ‘काठमाडौं देशको राजधानी पनि भएको हुँदा पार्टी केन्द्रको विवादको असर सिधा जिल्ला मातहतका कमिटीमा पर्नु स्वभाविक भयो । माथि नेताहरुबीच झगडा भएपछि कार्यकर्ताको मानसिकता पनि विभाजित हुन्छ । एकीकरणको काम अझै बाँकी छ । बाँकी काम नटुंगिदै यस्तोखालको विवादले एकता प्रक्रिया नै के हुने हो भन्ने त्रास कार्यकर्तामा छ । यसले गर्दा काम गर्ने उत्साह छैन । अहिले केन्द्रीय सचिवालय, स्थायी कमिटीका बैठक बस्न सकेका छैनन् भने हामी पनि छुट्टै एजेण्डा लगेर बैठक बस्ने स्थिति छैन ।’

अध्यक्ष राई मदन भण्डारी फाउन्डेसनको केन्द्रीय सदस्य पनि हुन् । त्यसकारण उनले फाउन्डेसनको नाममा कार्यक्रम गर्न सक्रिय भएको आरोप अर्को समूहको छ ।

काठमाडौं जिल्ला कमिटी सचिव हिमाल शर्मा भन्छन्, ‘पार्टी केन्द्रको विवाद काठमाडौं जिल्लामा पनि परेको छ । कोरोना र केन्द्रको लफडाले पार्टीका गतिविधिहरु भएका छैनन् । तर, जिल्लाको अध्यक्ष मदन भण्डारी फाउन्डेशनका गतिविधिमा लाग्नु भएको छ । त्यही ढंगले हामी अर्को कुनै संस्थाबाट जाने कुरा भएन । पार्टीको संस्थागत निर्णयमा नै काम गर्नुपर्छ भन्नेमा हामी छौं । अहिले स्थिति त्यस्तो सहज छैन ।’

अर्को समूहको आरोपबारे अध्यक्ष राई भन्छन् ‘यो पुरानो संस्था हो । पार्टीको काम भए पनि नभए पनि म त्यसमा काम गर्छु । फाउन्डेसनले नियमित गतिविधि गर्छ । पार्टीभित्र थुप्रै नेताहरुका नाममा संस्था छन् । पुष्पलाल स्मृति प्रतिष्ठानको अध्यक्ष नै माधव नेपाल हुनुहुन्छ । सबै आ–आफ्नो काममा छन् । पार्टीको काम छाडेर म त्यहाँ लागेको हैन ।’

महासचिव पौडेलको गृहजिल्ला रुपन्देहीमा पनि केन्द्रको विवादको सिधा असर छ । यहाँ स्थानीय नेतृत्वबीच राम्रो सम्बन्ध छैन । जिल्ला इन्चार्ज लिला गिरी भन्छन्, ‘केन्द्रको विवादले सांगठनिक कार्यमा अवरोध गरेको छ । अहिले माथि बेमौसमको बाजा बजाइएको छ । त्यसको विरुद्ध स्थानीय कमिटी र अधिकांश कार्यकर्ता छन् । कमिटीगत हिसाबले भन्दा पनि व्यक्ति व्यक्ति भेट्ने छलफल हुने गरेका छन् । यस सन्दर्भमा यो वा त्यो गुट दुवैका यस्ता छलफल भएका छन् ।’ गिरीको दावीअनुसार प्रधानमन्त्रीलाई अर्को चुनावसम्म काम गर्न दिनुपर्छ भन्ने जिल्लामा अधिकांशको मत छ ।

सोही जिल्लाका अध्यक्ष शिवराज सुवेदी भन्छन्, ‘पार्टीको आन्तरिक विवाद हो । समयक्रममा समाधान हुन्छ । अहिले कोरोनाका कारण बैठक बस्न मिलेन । हाम्रा काम नियमित छन् । हाम्रा अरु कमिटी प्रणाली नियमित छन् ।’

प्रकाशित : श्रावण २७, २०७७ २०:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?