कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

लिदी पहिरो : मृत्यु हुने ११ जनाको सनाखत, बेपत्ताको खोजी जारी

अनिश तिवारी

सिन्धुपाल्चोक — जुगल गाउँपालिका वडा नम्बर–२, लिदी लामागाउँको पहिरोमा बेपत्ता भएकामध्ये ११ जनाको शबवफेला परेको छ । ११ जनाको शव शुक्रबार पहिरोले पुरिएको अवस्थामा फेला परेको र सनाखत भइसकेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

लिदी पहिरो : मृत्यु हुने ११ जनाको सनाखत, बेपत्ताको खोजी जारी

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेका अनुसार मृत्यु हुनेहरुमा लिदी लामागाउँकी ३६ वर्षीया टिकामाया दोङ, १४ वर्षीय छिरिङ दोङ, ८० वर्षीय जिते झाक्री, ८ वर्षीय मिलन दोङ, ८ वर्षीय सानु दोङ, ७० वर्षीय जयबहादुर दोङ, ३० वर्षीय दावाल्हामु दोङ, ५ वर्षीया प्रिती दोङ, ५ महिनाकी कान्छी दोङ, ३४ वर्षीया धनमाया दोङ र ४ महिनाका रेमिश दोङ रहेका छन्।

बौद्ध परम्पराअनुसार मृतकहरुको सामूहिक रुपमा अन्येष्टिको तयारी गरिएको छ । बर्खाले सडक बगाएपछि एक्स्काभेटर लैजान नसकिँदा आहिले सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीका ५५ जनाको टोली मिलेर साबेल, कोदालोको भरमा बाँकी २७ जना बेपत्ता खोजी गरिरहेको डीएसपी काफ्लेले जानकारी दिए ।

पहिरोमा पुरिएर घाइते भएका जुगल लिदीका ९ वर्षका रुपबहादुर दोङ,४३ वर्षकी जुनमाया दोङ, ६० वर्षकी केवरीङ दोङ र २३ वर्षका पासाङ दोङको चौतारास्थित अस्पतालमा उपचार भइरहेको छ भने ४५ वर्षकी यामुलामु दोङको काठमाडौंको बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको उनले जनाए । ‘सबैको अवस्था सामान्य भएको खबर आएको छ, अधिकाशंको टाउको र हातमा चोट लागेको छ,’ डीएसपी काफ्ले भने ।

हेलिकप्टरबाट राहत

पहिरोले विस्थापित लिदीका ३७ परिवारको तत्कालीन समस्यालाई टार्न पहल सुरु गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको अनुरोधमा गृह मन्त्रालयले हेलिकप्टरबाट ४० सेट त्रिपाल, भाँडाकुँडा, ब्ल्यांकेट, म्याट्रेस, डस्नालगायतका लत्ताकपडा सहयोग गरेको छ । जिल्ला विपद् व्यवस्थापन समितिबाट पीडित ३७ परिवारलाई राहत दिइएको थियो ।

पीडित र मृतक परिवारलाई तत्कालका लागि खर्च दुई लाख रुपैयाँ घटनास्थलमा पुगेका गृहमन्त्री थापाले वितरण गरेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलसहित पूर्व कानुनमन्त्री शेरबहादुर तामाङ, प्रदेश ३ का सामाजिक विकास मन्त्री युवराज दुलाल, पर्यटन तथा वन मन्त्री अरुण नेपाल, सांसद सरेश नेपाललगायत पनि राहत सामग्री लिएर लिदीतर्फ लागेका छन् ।

सम्बन्धित समाचार

प्रकाशित : श्रावण ३१, २०७७ १०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?