ओलीले मोदीलाई भने : अर्थपूर्ण दुईपक्षीय सहकार्यको अपेक्षा गरेका छौं

दुईपक्षीय छलफल राख्न दुवै प्रधानमन्त्री सहमत : परराष्ट्र 
जगदीश्वर पाण्डे

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपालले भारतबाट अर्थपूर्ण दुईपक्षीय सहकार्यको अपेक्षा गरेको बताएका छन् । भारतको ७४ औं स्वतन्त्रता दिवसमा मोदीलाई बधाई तथा शुभकामना दिने क्रममा ओलीले टेलिफोनमार्फत मोदीलाई अर्थपूर्ण दुईपक्षीय सहयोगको अपेक्षा गरेको परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।  

ओलीले मोदीलाई भने : अर्थपूर्ण दुईपक्षीय सहकार्यको अपेक्षा गरेका छौं

गत कात्तिकमा भारतले नयाँ नक्सा जारी गरेपछि नेपाल–भारत सम्बन्धमा चिसोपना आएको थियो । त्यसपछि भारतले नेपाली भूभाग लिपुलेक हुँदै मानसरोवर जाने बाटो निर्माण गरि उद्घाटन गर्‍यो । नेपालले भारतलाई पटक–पटक दुईपक्षीय वार्तामा बस्नको लागि आह्वान गर्दै आए पनि भारतले विभिन्न कारण देखाउँदै टार्दै आएको थियो । त्यसपछि नेपालले पनि आफ्नो भूभागलाई समेटेर लिम्पियाधुरासहितको चुच्चे नक्सा जारी गरेको थियो ।

सीमा विवादमा वार्ता गर्न नचाहेको भारतका प्रधानमन्त्री मोदी सामु ओलीले अप्रिलमा कोरोना भाइरसको संक्रमणको विपदमा कुरा गरेपछि पहिलोपटक संवाद गरेका हुन् ।

संवादमा सीमा विवादका बारेमा दुई प्रधानमन्त्रीबीच कुरा भएको वा नभएको बारे उल्लेख नगरे पनि उच्चस्तरमा भएको यो संवादले नेपाल र भारतबीच चलिरहेको लामो समयको तनावलाई केही कम गर्ने अनुमान गरिएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार ओलीले मोदीलाई छिमेकीसँगको सम्बन्धमा जोड दिने भनेर मोदीले शनिबार बिहान स्वतन्त्रता दिवसको अवसरमा गरेको भाषणाको सराहनासमेत गरे । मन्त्रालयका अनुसार दुवै प्रधानमन्त्रीले भविष्यमा पनि दुईपक्षीय छलफललाई जारी राख्ने कुरामा सहमति जनाएका छन् ।

दुवै प्रधानमन्त्रीबीच कोभिड–१९ विरुद्ध एकबद्ध भएर लड्ने सहमित भएको पनि परराष्ट्रले बताएको छ । यस्तै, प्रधानमन्त्री ओलीले संवादमा कोभिड–१९ खोपको आवश्यकतालाई औंल्याउँदै भारतलगायतका विश्वभरका वैज्ञानिकहरुले यसको विकास गर्न सक्षम हुने आशा राखेको बताएका थिए । ओलीले खोप आए रोगलाई नियन्त्रण गर्न र रोगलाई अझ फैलिनबाट रोक्न सक्ने बताएका थिए । ओलीले मोदीलाई संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्को अस्थायी सदस्यको निर्वाचित भएकोमा बधाई दिएको विज्ञप्तिमा जनाइएको छ । नेपालले पनि अस्थायी सदस्य निर्वाचनको लागि भारतलाई समर्थन गरेको थियो ।

प्रकाशित : श्रावण ३१, २०७७ १६:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?