निधिको दाबीले झस्किए देउवा

निधिलाई फकाउँदै देउवाले भने– 'यसपटक मलाई सहयोग गर्नुहोस्, अर्काेपटक तपाईंलाई सघाउँछु'
कुलचन्द्र न्यौपाने

काठमाडौँ — कांग्रेसको आसन्न महाधिवेशनमा संस्थापन पक्षबाटै उपसभापति विमलेन्द्र निधिले सभापतिमा उठ्न तयारी थालेका छन् । यसले संस्थापन पक्षभित्र हलचल मात्रै मच्चाएको छैन, सभापति शेरबहादुर देउवालाई समेत अप्ठ्यारोमा पारेको छ । 

निधिको दाबीले झस्किए देउवा

भित्रभित्रै तयारी गरिरहेका निधिले गत बिहीबार सभापति देउवासँग चौधौं महाधिवेशनमा आफूलाई सहयोग गर्न प्रस्ताव गरेका हुन् । १३ औं महाधिवेशनमा दिएको बचन स्मरण गराउँदै निधिले बूढानीलकण्ठस्थित निवासमा देउवालाई संस्थापन पक्षबाट सभापतिको उम्मेदवारमा आफूलाई अघि बढाउन प्रस्ताव राख्दा उनले भने आफैं उठ्ने जवाफ दिएका थिए । देउवानिकट स्रोतका अनुसार निधिले ‘आगामी महाधिवेशनमा तपाईंकै क्यान्डिडेट हुन चाहन्छु, तपाईंको साथ र सहयोग मलाई चाहियो’ भनेर प्रस्ताव गरेका थिए । देउवाले विधानमा दुई कार्यकालभन्दा बढी सभापति बन्न नपाउने व्यवस्था सम्झाउँदै १५ औं महाधिवेशनमा सघाउने बचन दिएका थिए । उनले यस्तै बचन १३ औं महाधिवेशनका बेला पनि दिएका थिए । त्यसलाई कार्यान्वयन गर्नुपर्ने निधिको दलिल छ ।

‘अर्कोपटक म हुन पाउन्न, तपाईंबाहेक मेरो अर्को यो उचाइको नेता पनि छैन, यसबीचमा तपाईंले मधेसमा मात्रै नभएर पहाड र हिमालमा समेत आफ्नो प्रभाव बढाउनुहोस्, अर्कोपटक तपाईंलाई नै सघाउने हो,’ देउवाको भनाइ उद्धृत गर्दै बूढानीलकण्ठस्थित स्रोतले भन्यो, ‘तर निधिजीले उमेरको फ्याक्टर र आफूपछि आक्रामक ढंगले अघि बढेको पुस्ताको कारण देखाउँदै यसैपटक उम्मेदवार बन्ने चाहना राखेर जानुभयो ।’

निधिको तयारी भने पहिल्यैदेखि थियो । अहिले आएर मात्रै उनले देउवालाई जानकारी गराएका हुन् । निधिको पहिलो चाहना देउवालाई सम्मानजनक अभिभावकीय भूमिकामा राखेर संस्थापन पक्षबाट आफू उम्मेदवार बन्नेछ । त्यसका लागि उनले विभिन्न नेता र समूहहरूसँग छलफल र परामर्श अघि बढाइरहेका छन् । ‘निधिजी देउवाको विरासतकै रूपमा अघि बढ्न खोज्नुभएको छ, त्यसका लागि बरु देउवाकी पत्नी आरजु राणालाई महामन्त्री वा कुन पदाधिकारीमा राख्नुपर्ने हो, त्यसमा उहाँ तयार हुनुहुन्छ,’ निधिनिकट एक केन्द्रीय सदस्यले भने, ‘सभापतिले छाड्दै छाड्नुभएन भने पनि उहाँले उम्मेदवारीबाट पछि नहट्ने गरी तयारी अघि बढाएको मैले पाएको छु ।’

निधिले पछिल्लोपटक संस्थापन पक्षका नेताहरूसँग मात्रै नभएर इतरपक्षसँग पनि भेटघाट बाक्लो बनाएका छन् । नेविसंघको राष्ट्रिय अध्यक्ष हुँदा आफ्नो टिममा रहेका नेतादेखि पछिल्लो पुस्ताका नेताहरूसँग छलफल गरिरहेका छन् । निधि संघको तेस्रो अध्यक्ष हुन् । संघमा रहँदा आफैंले बनाएका पदाधिकारी तथा सदस्यमध्ये कतिपय अहिले पार्टीको केन्द्रीय कार्यसमितिमै छन् ।

तयारीको सिलसिलामा उनले संगठनमा पकड र प्रभाव राख्ने स्थानीय तहका नेता–कार्यकर्तासँग समेत दिनहुँ सम्पर्क बढाइरहेका छन् । निधिको संगठनको मूल आधार मधेस हो । पछिल्लोपटक पहाड र हिमाली क्षेत्रमा समेत उनले आफ्नो समूह खडा गर्दै लगेका छन् । सबै पक्षका केन्द्रीय कार्यसमितिका सदस्य र कार्यसमिति बाहिर रहेका नेताहरूलाई समेत उनले निवासमा डाकेर छलफल गर्न थालेका छन् । निधिले आफूले गरिरहेको छलफल पार्टीमा बृहत्तर एकताका लागि सर्वसम्मतिबाट नेतृत्व चयन गर्ने दिशामा केन्द्रित रहेको बताए । साढे दुई वर्षपछि हुने आमनिर्वाचनमा कांग्रेसले बहुमत ल्याउनका लागि पार्टीभित्र बृहत् एकता आवश्यक रहेको उनको भनाइ छ । त्यसका लागि सर्वसम्मतिबाट नेतृत्व चयन गराउन सक्दा आमनागरिकमा भरोसा जाग्न सक्छ । ‘संविधानका उपलब्धि र राजनीतिक प्रणालीको रक्षाका लागि कांग्रेसले बहुमत ल्याउन आवश्यक छ, त्यसका लागि पार्टीभित्र एकता हुनुपर्छ, एकताका लागि सर्वसम्मत नेतृत्व चयनले ठूलो सन्देश दिन्छ,’ निधिले भने, ‘यही दिशामा छलफल चलाइरहेको छु, त्यसमा मेरो आवश्यकता भयो र फिट हुनुपर्‍यो भने म तयार छु ।’

पार्टीको ‘नेटवर्किङ’ पकडबाहेक देउवासँग आमनागरिकलाई अपिल गर्ने मुद्दा र एजेन्डा छैनन् । आफ्नै नेतृत्वमा पार्टी र सरकार भएका बेला ०७४ मा भएको आमनिर्वाचनमा पार्टीले स्थानीय, प्रदेश र प्रतिनिधिसभाका तीनैवटा तहमा नराम्रो हार व्यहोर्नुपर्‍यो । त्यसअघि पटक–पटक प्रधानमन्त्री हुँदा गरेका निर्णयका कारण देउवा अहिले पनि पार्टीभित्र आलोचित छन् । पार्टी सञ्चालनमा समेत उनीमाथि प्रश्न खडा भएका छन् । ०७२ फागुनमा सभापति निर्वाचित भएपछि देउवाले पार्टीलाई भन्दा सत्ता प्राप्तिलाई बढी प्राथमिकता दिए । सत्तातिर मात्रै ध्यान दिँदा पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्था अलपत्र अवस्थामा पुगेका छन् ।

दसौं वर्षदेखि तदर्थवादमा चलेका भ्रातृ संस्थाको अधिवेशनसमेत देउवाले गर्न सकेनन् । अहिले सबैजसो भ्रातृ संस्था तदर्थवादमा चलेका छन् । पार्टीका केन्द्रीय विभागहरू समेत उनले समयमै गठन गर्न सकेनन् । वैधानिक कार्यकाल सकिएर महाधिवेशनको घोषणा भइसकेपछि उनले विभागहरू गठन गर्न थालेका छन् । उनको यो शैलीलाई संस्थापनइतर पक्षले महाधिवेशनमा मुद्दा बनाउने उद्घोष गरेर गतिविधि थालेको छ ।

निधि पनि आगामी आमनिर्वाचनमा कांग्रेसलाई एक नम्बरमा ल्याउनका लागि अहिले नेतृत्वमा रहेका पुस्ताबाट सम्भव नभएको निष्कर्षमा पुगेका छन् । उनको भित्री चाहना देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल दुवैले अभिभावकको भूमिकामा रहेर आफूपछिका नेताहरूलाई नेतृत्वमा अग्रसर गराउनुपर्छ भन्ने छ । त्यसका लागि उनको पहिलो प्राथमिकता देउवाकै समर्थनमा आफू उम्मेदवार बन्ने देखिन्छ । तर देउवाले नछाडे निधिले के गर्लान् भन्ने आमचासो संस्थापन पक्षमा चर्चा बनेको छ । निधिनिकट नेताहरू भने देउवाले नछाडे पनि उम्मेदवार हुने तयारीमा रहेको दाबी गर्छन् । निधिले भने यस विषयमा निर्णय गर्ने बेला भइनसकेको कान्तिपुरलाई बताए । ‘अहिलेसम्म छलफलमै छु । कसैले पनि आधिकारिक उम्मेदवार घोषणा गर्ने र छलफल गर्ने काम गरेको छैन । बरु मैले नै सहमतिका लागि छलफल अघि बढाएको हुँ,’ उनले भने, ‘सहमति नभए के गर्ने भन्ने पछि नै निर्णय गर्छु ।’

निधिले चौधौं महाधिवेशनलाई आफ्ना लागि सबैभन्दा अनुकूल परिस्थिति ठानेका छन् । त्यसपछि युवा नेताहरू गगन थापा, विश्वप्रकाश शर्माको पुस्ताले आफूहरूलाई समेत नछाड्ने उनको बुझाइ छ । निधि अहिले ६५ वर्ष पुगेका छन् । १५ औं महाधिवेशनमा उनी ७० वर्षका हुनेछन् । त्यतिबेला उमेर र युवाको प्रभावले पनि आफूहरूलाई अनुकूल नहुने उनको बुझाइ छ । अहिले नै पार्टीको विचार निर्माणमा नेतृत्व तहको भन्दा तल रहेका युवाको भूमिकाले काम गर्न थालेको छ । यही परिस्थितिलाई नियाल्दै निधिले यसैपटक आफू उम्मेदवार बन्न तयारी थालेका हुन् ।

नेतृत्व लिनका लागि संस्थापन इतरपक्षमा आधा दर्जन नेताहरूको संघर्ष चलिरहँदा संस्थापन पक्षमा देउवालाई मात्रै उम्मेदवार ठानिएको थियो । एकाएक निधिले आफू उम्मेदवारका रूपमा अघि बढेको जानकारी गराएपछि देउवा अप्ठ्यारोमा परेका छन् । निधिलाई साथ लिन नसके देउवाको ‘नेटवर्किङ’ पकड भत्कन सक्ने कतिपय नेताहरूको विश्लेषण छ । ‘पार्टीमा देउवाको बलियो पकड कायम राखिराख्नुका पछाडि निधिको तराई–मधेसको प्रभावले निकै काम गरेको छ,’ देउवानिकट एक केन्द्रीय सदस्यले भने, ‘निधिलाई टिममा राख्न सक्नुभएन भने सभापतिलाई परिणाम आफ्नो पक्षमा ल्याउन कठिन पर्ने देखिन्छ ।’

...

‘सहमतिबाटै नेतृत्व चयन होस् भन्नेमा छु’


फाइल तस्बिर

चौधौं महाधिवेशनमा तपाईंले पनि नेतृत्वमा दाबी गर्ने चर्चा आइरहेको छ नि ?

नेतृत्व लिने विषयमा भन्दा पहिला देशको राजनीतिलाई ध्यानमा राखेर चौधौं महाधिवेशन सम्पन्न गर्नुपर्छ भन्ने वैचारिक दृष्टिकोण मैले अघि बढाएको छु । संविधान जारी भइसकेपछि भएको निर्वाचन र अहिलेको अवस्थालाई नियाल्दा संविधानको अपनत्व सत्ताधारी दलहरूले नै लिइरहेको देखिन्न । बरु, संविधान र प्रणालीलाई सिध्याउने भूमिका खेलिरहेका छन् । अर्कोतिर प्रतिपक्षी दल कमजोर छ । अब कांग्रेसको भूमिका के हुने ? आगामी कार्यदिशा र कार्यभार कसरी निर्धारण गर्ने ? यसलाई महत्त्व दिएर अघि बढ्नुपर्छ ।

यसैका लागि आफैं नेतृत्व लिन खोज्नुभएको हो ?

आफूलाई भन्दा पनि कांग्रेसलाई बलियो शक्तिका रूपमा कसरी अघि बढाउन सकिन्छ भन्नेतिर मेरो सोच हो । आगामी निर्वाचन एउटा आवधिक निर्वाचनको परिणाममा मात्रै सीमित हुने छैन । प्रणालीलाई बचाउने मुख्य सवाल हो । फेरि पनि लोकतान्त्रिक शक्ति विजयी भएन भने प्रणाली नै खतरामा पर्ने देखिन्छ । ०६२/०६३ ले स्थापित गरेका उपलब्धि गुम्ने खतरा देखिन्छ । त्यसैले लोकतान्त्रिक शक्तिको विजयीका लागि कांग्रेसलाई तयारी अवस्थामा राख्नुपर्ने हुन्छ । त्यस्तो तयारी पार्टीको चौधौं महाधिवेशनले गर्छ । त्यसका लागि वैचारिक एकतासँगै पार्टीको नेतृत्वमा समेत एकता हुनुपर्छ भन्ने मेरो मान्यता छ । त्यसैले सहमतिबाटै नेतृत्व चयन गर्नुपर्छ । आमनागरिकलाई भरोसा दिलाउन पनि कांग्रेसले आफ्ना कमजोरी सच्याउनुपर्छ । सहमतिबाट नेतृत्व चयन गर्न सकियो भने कांग्रेसमाथि विश्वास बढ्छ । सहमतिबाट नेतृत्व चयनका लागि हामीले तयारी गर्नुपर्छ ।

नेतृत्वका लागि लडाइँ चलिरहेका बेला तपाईं त्यस्तो सम्भावना देख्नुहुन्छ ? सम्भावना सबै कुरामा हुन्छ । छैन भन्ने सोचाइबाट पहल नै नगर्ने हो भने कसरी हुन्छ ? सहमति कस्तो व्यक्तिमा हुने सम्भावना देख्नुहुन्छ त ?

अहिल्यै भन्न सकिन्न । जसको नाममा भए पनि अहिलेको नेतृत्व र सम्भावित नेतृत्वका बीचबाट जसका नाममा पनि हुन सक्छ । जसको नाममा सहमति भए पनि मलाई कुनै आपत्ति छैन ।

सभापतिमा उम्मेदवार बन्ने तयारी छ कि छैन ?

मैले सबैसँग सल्लाह गरेको छु । शेरबहादुरजी, रामचन्द्रजी, प्रकाशमान, शशांक र आफ्नै पदाधिकारी साथीहरूसँग समेत सल्लाह गरिरहेको छु । तयारी गरिरहेको छु । तर निर्णय केही गरिसकेको छैन । अहिलेसम्म सल्लाहमै छु ।

पार्टी सभापतिले १४ औं महाधिवेशनमा तपाईंलाई सघाउने बचन दिनुभएको भनेर बाहिर आइरहेको छ, के यो साँचो हो ?

हो, मैले नै १३ औं महाधिवेशनका बेला १४ औं महाधिवेशनमा मलाई सघाउनुपर्छ भनेर प्रस्ताव राख्दा उहाँले हुन्छ भनेर बचन दिनुभएको हो ।

शेरबहादुर देउवा आफैं उम्मेदवार बन्ने घोषणा गरिसक्नुभएको छ, तपाईं कसरी अघि बढ्नुहुन्छ त ?

समय बाँकी छ । शेरबहादुरजीसँग सल्लाह गर्दै आएको छु । रामचन्द्रजीसँग पनि सल्लाह गरेको छु । नेविसंघको अध्यक्ष हुँदा रहेका सबै साथी र युवा साथीहरूसँग कुराकानी भइरहेको छ । कसैले आधिकारिक घोषणा गर्नुभएको र छलफल चलाउनुभएको छैन । बरु, मैले नै सहमतिको वातावरणका लागि छलफल अघि बढाएको हुँ ।

प्रकाशित : श्रावण ३२, २०७७ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?