२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

बर्दियाका २.४ प्रतिशत थारु महिलामा सिकलसेल : अध्ययन

काठमाडौँ — बर्दियाका २.४ प्रतिशत थारु महिला सिकलसेल रक्तअल्पताबाट संक्रमित रहेको एक अध्ययन सार्वजनिक गरिएको छ ।

बर्दियाका २.४ प्रतिशत थारु महिलामा सिकलसेल : अध्ययन

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले शुक्रबार अध्ययन रिपोर्ट सार्वजनिक गर्दै ७८१ जना सहभागीहरुमा गरेको ‘प्रिभलेन्स अफ एनिमिया अमङ द रिप्रोडक्टिभ एज ग्रुप अफ फिमेल’ शिर्षकको अध्ययनमा १९ (२.४५) थारु महिलाहरु सिकल सेल रक्तअल्पताबाट संक्रमित पाइएको जानकारी गराएको हो ।

परिषद्ले बर्दिया जिल्लाको २०,००० थारु समुदायमा २०७४ साउन देखि २०७६ पुससम्म सिकल सेल रोगको जनसंख्यामा आधारित अध्ययन गरेको थियो ।

६० प्रतिशत महिला सहभागी अध्ययनमा अधिकांश सहभागीहरु ४०७३ (२०.४%) ११ – १५ उमेर समूहका थिए भने १६ – २० उमेर समूहका ३४५४ (१७.३ %) थिए । अध्ययनका अनुसार अधिकांश थारु सहभागीहरु देसौरी (५९.५ %) र दंगौरा (३९.७ %) उपसमूहका थिए र ११३०३ (६५.१ %) अविवाहित थिए ।

सहभागीमध्ये २२५६ (११.३ %) लाई सिकल सेल डिसअर्डर थियो । जसमध्ये २१११ (१०.६ %) लाई सिकल सेल ट्रेट थियो भने १४५ (०.७ %) लाई सिकल सेल रोग थियो । त्यसैगरी ७९८२ पुरुषमध्ये, सिकल सेल ट्रेट ८७४ (१०.९ %) लाई थियो भने ७५ (०.९ %) लाई सिकलसेल रोग थियो । त्यस्तै गरी १२०१८ महिला मध्ये, १२३७ (१०.३ %) लाई सिकलसेल ट्रेट थियो भने ७० (०.६ %) लाई सिकलसेल रोग पाइएको थियो ।

११९०२ देसौरी थारु उपसमूह मध्ये १२८४ (१०.८ %) लाई सिकलसेल ट्रेट थियो भने ८२ (०.७ %) लाई सिकलसेल रोग पाइएको थियो । त्यसैगरी ७९४३ दंगौरा थारुमध्ये ८०१ (१०.१ %) लाई सिकल सेल ट्रेट र ६१ (०.८ %) लाई सिकलसेल रोग थियो ।

स्थानीय सरकारको समन्वयमा बर्दिया जिल्लाको मगरगढी नगरपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा रगत जाँचद्वारा प्रारम्भिक छनौट गरिएको थियो ।

परिषद्ले आगामी दिनमा सिकलसेल डिस्अर्डर/रोगको रोकथाम गर्न व्यापक जागरुकता अभियान सञ्चालन गर्ने र सिकल सेल ट्रेट/सिकलसेल रोगको जोखिममा रहेका विशेष उमेर समूहहरु (विवाहको लागि उमेर पुगेका, विवाहित, गर्भपूर्व) लाई परामर्श प्रदान गर्ने, आनुवंशिक परामर्श निर्देशिका बनाउने, तथा आनुवंशिक परीक्षण र गर्भपूर्व सेवा प्रदान गर्ने लगायतका योजना बनाएको परिषदका सदस्य सचिव डा प्रदीप ज्ञवालीले बताए ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहयोगमा बर्दिया जिल्लाको थारु समुदायको १ देखि २९ वर्ष सम्मका व्यक्तिमा सिकलसेल रोगको व्यापकता र यसको विभिन्न सामाजिक, जनसंख्याकिक तथा देखा परेका लक्षणहरुको कारकको बारेमा अध्ययन गर्ने जनाएको छ ।

के हो सिकलसेल ?

सिकलसेल रक्तअल्पता वा सिकलसेल रोग रगतमा हुने तत्व हेमोग्लोबिन जसले शरिरमा अक्सिजनको प्रवाह गर्दछ, त्यसको गडबडीका कारण हुने साधारण आनुवंशिक अवस्था हो ।

यो रोग भएका व्यक्तिमा असाधारण प्रकृतिको हेमोल्गोबिन आणुहरु हुन्छन् जसले सामान्य रातो रक्तकोषलाई हँसिया वा अर्ध चन्द्र आकारको स्वरुपमा परिवर्तन गर्दछ ।

सिकलसेल ट्रेट भनेको यस्तो अवस्था हो, जसमा व्यक्तिले आफ्नो आमा वा बुबामध्ये कुनै एकबाट सिकलसेल जिन वंशाणुगत रुपमा आएको हुन्छ साथै प्रायः सिकलसेल रोगको कुनै लक्षण देखाउँदैन ।

प्रकाशित : माघ ३, २०७७ १३:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?