ओलीको प्रष्टीकरण- ती नाम गरेका न्यायाधीशजीहरुलाई मैले सायद कहिले पनि भेटेको छैन

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको मुद्दा विचाराधीन अवस्थामा रहेका बेला कुनै न्यायाधीशलाई नभेटेको प्रष्टीकरण दिएका छन् ।  

ओलीको प्रष्टीकरण- ती नाम गरेका न्यायाधीशजीहरुलाई मैले सायद कहिले पनि भेटेको छैन

नेकपा (ओली समूह) को प्रदेश १ सम्पर्क कमिटीका अगुवा कार्यकर्ता भेलालाई शनिबार सम्बोधन गर्दै ओलीले चार न्यायाधीशलाई भेटेको भन्दै गलत प्रचार गरिएको दाबी गरे ।

उनले न्यायाधीशहरुलाई भेटेको प्रमाण देखाउनसमेत चुनौती दिए । 'फलानो फलानो न्यायाधीश प्रधानमन्त्रीकहाँ भेट्न गए । यति बजेदेखि यतिबजेसम्म यो भन्दा ठूलो झुठ, योभन्दा बढी बेइमानी के हुन सक्छ ? न्याय प्रणालीमाथिको जनताको विश्वास घटाउनका लागि न्यायप्रणालीमाथि यो गम्भीर प्रहार हो, यो भन्दा घिनलाग्दो के हुनसक्छ,' उनले भने, 'उहाँहरु यो कुरालाई प्रमाणित गरेर देखाउन सक्नु हुन्छ ? ती नाम गरेका न्यायाधीशजीहरुलाई मैले सायद कहिले पनि भेटेको छैन ।'

ओलीले थपे, 'मैले निर्णय गर्दा सपना प्रधान मल्ललाई भेटेको थिएँ । सर्वोच्चको न्यायाधीश हुनुभन्दा अगाडि वकिल भएको बेला । यस्तै कार्यक्रममा देखेको हुँ । अरु न्यायाधीशहरुलाई देखेको पनि छैन । सायद चिनेको पनि छैन ।'

सर्वोच्च अदालतको संवैधानिक इजलासका चार न्यायाधीशहरुले प्रधानमन्त्रीलाई भेटेको भन्दै शुक्रबार प्रतिनिधिसभा विघटनको मुद्दा सुनुवाइका क्रममा निवेदकमध्येकी शशी श्रेष्ठले उक्त आवाज उठाएकी थिइन् ।

उनले केही विषय नपाएपछि मन्त्रिपरिषद्ले प्रतिनिधिसभा विघटन गरी निर्वाचनमा जाने निर्णयमा धारा खुलाइएको छैन भनेर टिप्पणी गरेको बताए । ‘मन्त्रिपरिषद्ले संसद् विघटन गर्ने सम्बन्धमा गरेको निर्णयमा धारा खुलाइएको छैन’, उनले प्रश्न गरे, 'प्रतिनिधिसभा विघटन गरेर निर्वाचनमा जाँदा त्यसको निर्णय गर्दा धारा खुलाएर गर्नुपर्छ भनेर संविधानको कुन धारा, कुन ऐनको धारामा छ कुन नियमावलीमा छ ? सर्वोच्चमा बहस गर्न जाँदा त्यत्ति त थाहा हुनुपर्छ नि !'

उनले दाहाल-माधव समूहले सर्वोच्च अदालतको हुर्मत लिने काम गरेको र संसद् विघटन भइसकेको बेलामा निर्वाचन गराउन हुँदैन भनेर धम्की दिँदै हिँडेको बताए । उनले भने, 'प्रतिनिधिसभा विघटन भइसक्यो । निर्वाचन गर्न हुँदैन भनेको छ । देशलाई कहाँ लान खोजेको ? ...अनि उहाँहरु धाक लगाउनुहुन्छ ... ‘नत्र हामी सडकबाटै यो गर्छौं त्यो गर्छौं भनेर ।'

यो पनि पढ्नुहोस्ः

‘चार न्यायाधीशले प्रधानमन्त्रीलाई भेटेका हुन् ?’

प्रकाशित : माघ ३, २०७७ १६:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?