कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निर्मल पुर्जासहित १० नेपाली पुगे केटू हिमालको चुचुरोमा

केटू हिमालमा मानव पाइला पुगेको ६७ वर्षयता नेपालीको पहिलो हिउँदे आरोहण सफल
म्याग्दीका निर्मल पुर्जाले यसअघि ६ महिना ६ दिनमा ८ हजार मिटर अग्ला विश्वका १४ वटा हिमाल आरोहण गरेर रेकर्ड बनाएका थिए
सुरज कुँवर

काठमाडौँ — विश्वकै दोस्रो अग्लो चुचुरो केटू हिमालमा निर्मल पूर्जासहित १० नेपाली आरोहीहरुको टोलीले शनिबार सफलता हात पारेको छ ।

निर्मल पुर्जासहित १० नेपाली पुगे केटू हिमालको चुचुरोमा

गत वर्षमात्रै सगरमाथासहित ८ हजार अग्ला विश्वका १४ वटा हिमाल ६ महिना ६ दिनको समय लगाएर आरोहण गर्दै विश्व कीर्तिमान बनाएका नेपाली आरोही निर्मल पुर्जाले हिउँदयाममा हालसम्म कोही नपुगेको पाकिस्तानको खतरनाक मानिने केटू हिमालको चुचुरोमा चढेर फेरि विश्वको ध्यान खिचेका छन् ।

कम्तीमा माइनस ६२ डिग्री सेल्सियस तापक्रम तथा प्रतिघण्टा १ सय किलोमिटर गतिको हावालाई सामना गर्दै म्याग्दीका पुर्जासहित १० नेपाली आरोही शनिबार दिउँसो नेपाली समयअनुसार सवा ५ बजे विश्वकै दोस्रो अग्लो केटू हिमाल (८,६११ मिटर) मा पाइला राख्न सफल भएका हुन् । ‘असम्भवलाई सम्भव बनाइयो,’ प्रख्यात आरोही पुर्जाको इन्स्टाग्राममा लेखिएको छ, ‘मानव जातिका लागि इतिहास बनाइयो । नेपालका लागि इतिहास बन्यो ।’

शनिबार राति १ बजे चौथो तथा अन्तिम शिविरबाट डोरीको सहायताले बाटो बनाउँदै पुर्जाबाहेक अन्य नौ जना बोतल अक्सिजनको सहायतामा शिखरमा पुगेका हुन् । यस आरोहण दलका नेतामध्येका छाङ दावा शेर्पाका अनुसार सबै जना करिब ६ घण्टापछि राति १० बजे चौथो शिविरमा सकुशल फर्केका छन् । पुर्जासहित सफल आरोहण गर्नेमा तीनवटा फरक–फरक आरोहण दलका नेपाली सदस्यहरू छन् । जसमा पुर्जाको आरोहण दलका मिङमा डेबिट शेर्पा, मिङमा तेन्जी शेर्पा, ग्याल्जेन शेर्पा, पेम चिरी शेर्पा र दावा तेम्बा शेर्पा छन् । अर्को नेपाली आरोहण दलका तर्फबाट मिङमा जी, दावा तेन्जिीङ शेर्पा, किलु पेम्बा शेर्पा छन् भने सेभेन समिट नामको आरोहण दलबाट सोना शेर्पा छन् ।

चुचुरोमा पुग्नुअघि तीनवटै आरोहण दलका सबै नेपालीले चुचुरोमुनि एक–अर्काका लागि १० मिनेट प्रतीक्षा गर्दै समूह बनाएर नेपाली राष्ट्रिय गान गाउँदै चुचुरोतर्फ पाइला चालेको पुर्जाको इन्स्टाग्राममा लेखिएको छ । त्यसमा यो सफलतालाई एक विशेष पल भनिएको छ । उनले पोस्ट गरेको स्टाटसलाई २ घण्टामा ५० हजार ७ सय बढीले लाइक गर्दै कमेन्टमा असम्भवलाई सम्भव बनाइएकामा प्रशंसा गरेका छन् । सेभेन समिटका अनुसार ३४ वर्षयताको हिउँदयाममा केटू आरोहणका लागि कम्तीमा चारवटा आरोहण दलका दर्जनौं आरोहीले प्रयास गरेका थिए तर उनीहरू केटू हिमालको ७ हजार मिटरभन्दा माथिको उचाइमा पुग्न सकेका थिएनन् ।

यसै सिजनमा नेपालीसँगै आरोहण अभ्यासका लागि त्यहाँ रहेका स्पेनिस पर्वतारोही सेर्गी मिनगोटको शनिबार निधन भएको छ । पहिलो शिविरबाट आधारशिविरमा फर्किंदै गर्दा उनको निधन भएको हो । सेभेन समिटका प्रबन्धक थानेश्वर गुरागाईंका अनुसार स्पेनिस पर्वतारोही सेर्गी यसै कम्पनीबाट त्यहाँ पुगेका थिए । केटू आरोहणमा प्रत्येक चार जनामा एक जनाको मृत्यु हुने गरेको विगतका घटनाको तथ्यांक छ ।

काठमाडौं–पाकिस्तान सिधा उडान नभएका कारण पुर्जासहित नेपाली आरोहण दलका सदस्यहरू पुस पहिलो साता काठमाडौंबाट दोहा हुँदै कराँची पुगेका थिए । पूर्वबेलायती सैनिक कमान्डो पुर्जाले यसअघि २०१९ मा कोरियाली आरोहीले सगरमाथासहित ८ हजार अग्ला विश्वका १४ हिमाल आरोहणमा बनाएको ७ वर्ष १० महिना ६ दिनको रेकर्डलाई ६ महिना ६ दिनमा सम्भव तुल्याउँदै विश्वभर चर्चा बटुलेका थिए । यसै क्रममा उनले वसन्तकालीन याममा भने केटू आरोहण सकिसकेका थिए ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिकास्थित दानामा जन्मेका ३७ वर्षीय पुर्जाले गत वर्ष ६ महिना ६ दिनको अवधिमा सगरमाथासहित विश्वका १४ वटा अग्ला चुचुरो आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका थिए । उनले अघिल्लो वैशाखमा अन्नपूर्ण गाउँपालिककै नारच्याङस्थित अन्नपूर्ण हिमाल आरोहण गर्दै आफ्नो प्रोजेक्ट पोसिबल अभियान थालेका थिए । २०७६ कात्तिकमा उनले तिब्बतको सिसापाङमा हिमाल आरोहण गरेपछि ८ हजार अग्ला विश्वका १४ वटा अग्ला चुचुरो आरोहण सकेका थिए ।

उनी यसअघि बेलायती सरकारको स्पेसल फोर्समा कार्यरत थिए । मासिक १४ लाख हाराहारी पारिश्रमिक भएको सैनिक जागिर छाडेर उनी गत वर्षदेखि आरोहणमा लागेका छन् । अबको उनको यात्रा हिमाल आरोहणमा लागेर युवालाई प्रेरणादायी शिक्षा प्रदान गर्ने रहेको छ ।

प्रकाशित : माघ ३, २०७७ १९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?