२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

प्रधानमन्त्री संविधानका भक्षक : महतो

सर्लाही — जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी ओलीकै कारण लोकतन्त्र र संघीयता गुम्ने खतरा बढेको बताएका छन् । संविधानको रक्षा र यसको कार्यान्वयनको मुख्य जिम्मा पाएका प्रधानमन्त्री नै भक्षक भएको उनले आरोप लगाए ।

प्रधानमन्त्री संविधानका भक्षक : महतो

सर्लाही सदरमुकाम मलंगवामा शनिबार आयोजित विरोधसभालाई सम्बोधन गर्दै नेता महतोले संसद् विघटन असंवैधानिक र अलोकतान्त्रिक रहेको बताए ।

संविधानमै नभएको व्यवस्था लागू गरेर प्रधानमन्त्री ओलीले देशलाई प्रतिगमनतर्फ धकेलेको उनले आरोप लगाए । प्रधानमन्त्री ओलीलाई तानाशाहको संज्ञा दिँदै उनले आफ्नो स्वार्थ पूरा नभएपछि तानाशाही प्रवृत्तिमा संसद् विघटन गरेको दाबी गरे । ‘जनताले पाँच वर्षसम्म देश हाँक्न जिम्मा दिएको नेकपालाई प्रधानमन्त्री ओलीले ३ वर्षमै संसद् विघटन गरेर अपमानित गरेका छन्,’ उनले भने, ‘मुलुक समृद्ध हुने बेला संसद् विघटन भएपछि देश ठूलो दुर्घटनातर्फ उन्मुख भएको छ ।’ संविधान निर्माणका क्रममा अधिकार र पहिचानका लागि आफूहरु लडिरहे पनि एकतर्फी रुपमा संविधान लादिएको उनको भनाइ छ । ‘नश्लवादी चिन्तन भएका ओलीले आफ्नो स्वार्थ पूरा नभएपछि संसद् विघटन गरेका हुन्,’ उनले भने ।

कार्यकर्तालाई सम्बोधन गर्दै नेता महतोले लोकतन्त्र रक्षाका लागि मधेसका जनता फेरि पनि लड्नुपर्ने अवस्था आएको बताए । ‘हामी पहिलादेखि नै संविधानविरुद्ध थियौं, अहिले प्राप्त लोकतन्त्र र संघीयता खतरामा परेकाले असंवैधानिक कदमको विरोध गरेका हौं,’ उनले भने, ‘यसमा तपाईंहरुको साथ चाहिन्छ, नत्र फेरि निरंकुशता हाबी हुन सक्छ ।’ संसद् पुन:स्थापनाका लागि नेकपाको दाहाल–नेपाल समूह, नेपाली कांग्रेस र जसपा एकजुट भएर अगाडि बढ्नुपर्ने बेला आएको उनको भनाइ थियो । अहिले मुलुकमा निर्वाचनको सम्भावना नै नरहेको नेता महतोले दाबी गरे ।

प्रकाशित : माघ ३, २०७७ १९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?