३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

विद्यालय बगेपछि बगरमै पढाइ

देश–विदेशबाट ३० लाख रूपैयाँ चन्दा उठेपछि भवन निर्माण थालियो
प्रकाश बराल

बागलुङ — कक्षा २ मा पढ्ने विनिशा घर्ती निर्माणाधीन विद्यालयको छेवैमा पुगेर भाइबहिनीसँगै माटो कोरेर खेल्छिन् । कखरा सिकाउँछिन् । बाबुआमाले गाली गरेपछि घर फर्किन्छिन् । यो उनको दैनिकीजस्तै बनेको छ ।

विद्यालय बगेपछि बगरमै पढाइ

कक्षा ५ मा पढ्ने टेकबहादुर विक विद्यालय भएको स्थानमा बगरमात्रै देखेर टोलाउँछन् । विद्यालय पोसाक लगाएर अन्यत्रका विद्यार्थी पढ्न गएको देखेर उनको अनुहार एकाएक मलिन हुन्छ । उनलाई भने चाहेर पनि तत्कालै विद्यालय जाने अवस्था छैन । उनी पढ्ने ढोरपाटन नगरपालिका–९ को सुप्राङस्थित नवचेतना प्रावि गत भदौ १७ को बाढीपहिरोले बगाएपछि अझै पूर्ण रूपमा सञ्चालन हुन सकेको छैन ।

विद्यालय रहेको स्थानमा अहिले खोला बगेको छ । शिक्षक र अभिभावक मिलेर कक्षा चलाउने निर्णय गरे पनि जाडोले बालबालिका बिरामी हुन थालेपछि विकल्प खोज्न नसकेको प्रधानाध्यापक रामबहादुर घर्ती बताउँछन् । ‘साना नानीलाई बगरमै राखेर पढाउँदा बिरामी भए, माथिल्लो कक्षालाई भने पढाएका छौं,’ घर्तीले भने, ‘फर्निचरलगायत अत्यावश्यक सामानका लागि सहयोग खोज्दा निर्वाचित जनप्रतिनिधिले पनि साथ दिएनन् ।’ राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, नगरपालिका र सांसदमार्फत स्थानीय साझेदारी पूर्वाधार विकास कार्यक्रमको बजेट माग गर्दा नपाएको उनले गुनासो गरे ।

विद्यालयमा १ सय ५० विद्यार्थी छन् । अधिकांश विद्यार्थी दलित समुदायका हुन् । उनीहरूमध्ये बालविकास केन्द्रसहित कक्षा १ र २ का बालबालिकालाई माघको जाडोमा खुला आकाशमुनि पढाउन नसकिएको घर्तीले बताए । सामान्य छाप्रो बनाउन पनि बजेट नभएपछि पढाउने अवस्था नभएको हो । विद्यालय बगाएको थाहा पाएपछि स्थानीय करबहादुर छन्त्याल, जीवन भट्टचनलगायत स्थानीय युवाले देश–विदेशमा रकम संकलन अभियान थालेपछि भने विद्यालय व्यवस्थापन समितिले जग्गा किनेर सुरक्षित स्थानमा विद्यालय बनाउन लागेको छ ।

तीन रोपनी जमिन खरिद गरी ४ कोठे भवन निर्माण थालिएको हो । ‘अहिलेसम्म विदेशबाट ३० लाख रुपैयाँ संकलन गरिसकेको सूचना पाएकाले काम थालेका छौं,’ समितिका अध्यक्ष गोविन्द पुनले भने, ‘साथीहरूले ६० लाख रुपैयाँसम्म खोजी गरिदिने भनेकाले असारसम्म चार कोठा भने बनाएरै छाड्ने हो ।’

अन्य क्षेत्रबाट सहयोग आएमा थप कोठा पनि बनाउने योजना उनले सुनाए । ‘यो शैक्षिक वर्ष त्यसै पनि खेर गइसकेको छ, आगामी वर्षको पढाइ नियमित गर्न खोजेका छौं,’ उनले भने, ‘सरोकारवाला निकाय र सरकारी संयन्त्रमा धेरै प्रक्रिया पुर्‍याउनुपर्ने बाध्यताले हैरान भएका छौं ।’

नजिकैको सरस्वती आधारभूत विद्यालय पनि पहिरोले आधा बगाएको छ । दुइटा भवनको छेउका एकएक कोठा र खेलमैदान बगर बनेको छ । अहिले जेनतेन पढाइ सञ्चालन भएपनि बालबालिका जोखिममा छन् । ‘बालबालिका जोखिममा छन् भनेर देखाएका छौं तर सहयोग भने आएको छैन,’ अभिभावक छमबहादुर विकले भने, ‘बालबालिका सुरक्षित बनाउन घेराबार गर्ने र छेउमा पर्खाल लगाउने सहयोग पनि पाएका छैनौं ।’ पहिरोले बस्ती र विद्यालय बगेको हेर्न भने धेरै आए पनि सहयोग नपाएको उनले गुनासो गरे ।

विद्यालयको पुनर्निर्माणका लागि पहल भइरहेको शिक्षा विकास तथा समन्वय इकाइ बागलुङका प्रमुख कुस्मराज उपाध्यायले बताए । ‘शिक्षा मन्त्रालय र गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयमा पटक–पटक भवन बनाउने विषय उठाएका छौं तर सम्बोधन भएको छैन,’ उपाध्यायले भने, ‘दुवै विद्यालयमा कम्तीमा चार/चार कोठा बनाएमा बालबालिका पढ्ने अवस्था बन्थ्यो ।’ भूकम्प पुनर्निर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यालयमार्फत पनि भवन निर्माणमा सहजीकरणको काम सुरु भएको उनले बताए ।

प्रकाशित : माघ ४, २०७७ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?