कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जहाँ महिला ‘बरघर’ले समाज चलाउँछन्

गाउँकी मुखिया सीता भन्छिन्– ‘समुदायले मलाई नै फेरि जिम्मेवारी दियो भने पछि हट्दिनँ’
भवानी भट्ट

कञ्चनपुर — चार वर्षअघि बरघर (गाउँको मुखिया) चुनिँदा सीता डगौरालाई समाज कसरी चलाउने भन्ने चिन्ता थियो । जब बुझ्दै गइन्, समुदायबाट सहयोग पाउन थालिन् । सानातिना समस्या समाधानमा कुनै गाह्रो महसुस गरिनन् । कामको मूल्यांकन गर्दै समुदायले चार पटक उनलाई नै निरन्तरता दिइरह्यो ।

‘अहिले पनि हाम्रो समुदायले मलाई नै जिम्मेवारी दियो भने पछि हट्दिनँ,’ कञ्चनपुरको वेदकोट–७ मन्धिरपुरकी सीताले भनिन्, ‘कोही अर्को आउँछ भने नयाँलाई बरघर बनाउनुपर्छ भन्ने मेरो बुझाइ छ ।’ श्रीमान् रोजगारीका लागि भारत भएकाले समाजमा केही न केही गर्नुपर्छ भनेर उनी आफैं अघि सरेकी हुन् । समुदायमा मरनी–करनीदेखि खोजनी–भोजनीसँगै सानातिना विवाद मिलाउनुका साथै विकास निर्माणका काममा पनि उनी अग्रसर छिन् ।

माघी पर्व मनाएसँगै थारू समुदायमा खोजनी–भोजनी (नयाँ बरघर छान्ने) काम सुरु हुन थालेका छन् । समाजलाई एकताबद्ध बनाएर काम गर्न नयाँ नेतृत्व छानिनेछन् । अधिकांश बस्तीमा पुरुषहरू नै बरघर भए पनि पछिल्ला वर्ष बरघरमा महिला पनि चुनिन थालेका छन् । गाउँमा हुने बिहेवारीदेखि घर निर्माण र बाटाघाटा तथा कुलो निर्माणलगायतका काममा बरघरले नै खटाउने गर्छन् ।

हरेक वर्ष नयाँ घर छाउनेदेखि पुनर्निर्माण गर्ने काममा पनि गाउँलेलाई बरघरले नेतृत्व गर्छन् । ‘समुदायकै लागि भाँडाकुँडादेखि टेन्टसमेत जोडेकी छु,’ सीताले भनिन्, ‘टेन्ट भाडामा लगाएबापत केही पैसा पनि जम्मा भएको छ ।’ विगतमा कुलो बनाउनेदेखि घर छाउनेलगायतका कामले धेरै चाप हुन्थ्यो । थारू समुदायकाले पक्की घर निर्माण गर्न थालेपछि पुराना घर छाउने कामको बोझ कम भएको हो । सिँचाइ नहर र भूमिगत सिँचाइका कारण कुलो खन्ने काम पनि घटेको छ ।

बरघर सीताको गाउँमा ६० परिवारको बसोबास छ । उनले आगामी मंगलबार गाउँलेको भेला बोलाएकी छन् । उक्त भेलामा वर्षभरिका कामकाजको समीक्षा हुनुका साथै नयाँ बरघर छान्ने कि पुरानैलाई निरन्तरता दिने भन्ने विषयमा पनि निर्णय हुनेछ ।

कञ्चनपुरकै बेलौरी–९ भत्पुरीकी ३८ वर्षीया गीता डगौरा पनि ४ वर्षदेखि बरघर छिन् । उनलाई पनि सुरुमा समुदायले बरघर छनोट गर्दा निकै गाह्रो भएको थियो । ‘गाउँलेले मलाई नै हुनुपर्छ भने, सबैले त्यसमै सहमति जनाउँदै ताली बजाए,’ उनले भनिन्, ‘चार वर्षदेखि मेरो काममा सबै खुसी भएर निरन्तरता दिएका छन्, मैले पनि सकेजति काम गरेकै छु ।’

उनका श्रीमान् शेरबहादुर नेपाली सेनामा जागिरे छन् । घरव्यवहार गीताकै भरमा छ । ‘रात बिरात केही घटना भए गाह्रो हुन्छ, त्यतिबेला गाउँलेलाई नै सहयोग माग्छु,’ उनले भनिन्, ‘मभन्दा अघिका बरघरहरूले पनि सहयोग गर्नुहुन्छ ।’ उनको टोलमा ४८ परिवार थारू समुदायका छन् । यसबाहेक राना थारू पनि बस्छन् । राना थारू समुदायका भलमन्साले पनि आफूलाई सहयोग गर्ने गरेको उनले बताइन् ।

प्रकाशित : माघ ४, २०७७ ११:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?