ओलीलाई तह लगाउने उपाय भएन, आजै अन्तिम स्पष्टीकरण पत्र पठाउँछौं : नेपाल

‘ओलीले अस्ताउँदो सूर्य चिह्न पाएका छन्, हामीले उदाउँदो सूर्य चिह्न पाउँछौं’

काठमाडौँ — नेकपा अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीलाई पार्टी सदस्यबाट हटाउन सोमबार (आज) अन्तिम स्पष्टीकरण पत्र पठाइने बताएका छन् । काठमाडौंमा आयोजित आफू सम्बद्ध अखिल नेपाल महिला संघको दोस्रो केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीलाई तह लगाउने अरु कुनै उपाए नभएको भन्दै उनलाई अन्तिम स्पष्टीकरण पत्र पठाइने बताएका हुन् ।

ओलीलाई तह लगाउने उपाय भएन, आजै अन्तिम स्पष्टीकरण पत्र पठाउँछौं : नेपाल

‘सुःखद् कुरा भनौं कि दुःखद् कुरा, आजै केपी ओलीजीलाई अन्तिम स्पष्टीकरण पत्र पठाइरहेका छौं । तपाईं सुध्रिनुभएन, पार्टीको विधान पालना गर्नुभएन, अनुशासन उल्लंघन गर्नुभयो । तपाईंलाई मौका दिएका थियौं,’ अध्यक्ष नेपालले भने, कमसेकम अध्यक्षबाट हटाएर केन्द्रीय सदस्यसम्म त राखेको थियौं । तपाईंलाई सचिवालय, स्थायी कमिटीसम्ममा पनि राख्थ्यौं होला । गल्ती सुधार गर्नुभएन । तपाई झनै मैमत्त हुँदै जानुभयो । उफ्रिदैं जे पायो त्यही बोलिरहनुभएको छ । तपाईंलाई तह लगाउने कुनै उपाय रहेन ।’

माघ २ मा बसेको दाहाल–नेपालक्षको स्थायी कमिटी बैठकले ओलीलाई पार्टी सदस्यताबाट किन नहटाउने भनेर स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

अध्यक्ष नेपालले ओलीलाई पार्टीको बहुमतले पनि तह लगाउन नसकेको भन्दै उनी कम्युनिष्ट पार्टीको सदस्य हुन लायक नरहेको बताए । ओलीलाई अझै सुधार्न सकिन्छ कि भनेर पार्टीका केही नेताहरुले अझै प्रयत्न गरेको भन्दै नेपालले त्यो व्यर्थ रहेको दाबी गरे । ‘मेरो मति बिग्रियो, म मैमत्त भए भनेर माफी माग्नु हुन्छ कि भनेर केही कमरेडहरु अझ आशा गर्नुभएको छ । दाहाल कमरेडले पनि बांगो पुच्छरलाई सोझो पार्ने धेरै कोसिस गर्नुभएको थियो । बांगो पुच्छर सोझो हुनेवाला छैन,’ नेपालले भने ।

ओलीले चुनाव गराउन घोषणा नगरेको भन्दै नेपालले भ्रममा नपर्न आग्रह गरे । उनले भने, 'ओलीले चुनाव गराउँदैनन् । उनलाई पाँच वर्ष बस्न मन छ । त्यसका लागि संकटकाल लगाएर भएपनि, अरु असंवैधानिक कदम चालेर भएपनि प्रधानमन्त्रीमा बस्ने प्रयास गर्छन् ।’

दाहालले आफूलाई प्रधानमन्त्री र पार्टी अधयक्षबाट हटाउन खोजेको भन्ने ओलीको अभिव्यक्तिको खण्डन गर्दै नेपालले पहिलो पटक राजीनामा माग्ने व्यक्ति वामदेव गौतम भएको प्रष्टिकरण दिए ।

‘मेरो सामुन्नेमा वामदेव कमरेडले भन्नु भयो–नवौं महाधिवेशनदेखि आज सम्म तपाईंलाई साथ दिएर भंयकर गल्ती गरे । पहिलो पटक केपी ओलीको राजीनामा माग्ने मान्छे वामदेव गौतम हुन् । तपाईंमा कम्युनिष्टमा हुने कुनै गुण छैन, देश हाक्न सक्ने क्षमता छैन, तपाईंले पार्टी चलाउन सक्नुभएन । पार्टी अध्यक्ष र प्रधानमन्त्रीपदबाट राजीनामा दिनुस् भन्नु भएको हो । दाहालले पहिला राजीनामा माग्नु भएको होइन,’ नेपालले भने ।

अध्यक्ष नेपालले नेकपा र सूर्य चिह्न आफूहरुकै हुने दाबी गरे । उनले भने, 'ओलीले अस्ताउँदो सूर्य चिह्न पाएका छन् । उदाउँदो सूर्य चिह्न हामीले पाउँछौं । उनले नेकपा एमाले पाइसकेका छन् । हामीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पाउँछौं ।’

एक जना व्यक्तिले गर्दा अहिले सिंगो देश आन्दोलित हुन परेको भन्दै नेपालले ओलीको तानाशाह पछार्न गाउँगाउँबाट जनता जाग्नु पर्ने पनि बताए ।

प्रकाशित : माघ ५, २०७७ १५:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?