कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

सोल्टी सिटीमा आगलागी : नियन्त्रणमा समन्वय अभाव

काठमाडौँ — जुद्ध वारुणयन्त्रमा सोमबार दिउँसो करिब २ बजेर ८ मिनेटमा फोन आयो । उताबाट कसैले आत्तिँदै भन्दै थिए, ‘रविभवनको सोल्टी सिटी अपार्टमेन्टमा आगलागी भयो ।’ प्रहरीबाट पनि दमकल कार्यालयमा फोन बज्यो ।

सोल्टी सिटीमा आगलागी : नियन्त्रणमा समन्वय अभाव

दमकलका कर्मचारी १३ तले उक्त अपार्टमेन्टबारे परिचित थिए । लगत्तै तीनवटा दमकलसहित अग्नि नियन्त्रक टोली घटनास्थलतर्फ हान्नियो ।

फोन आएको ७ मिनेटमै दमकल कार्यालयबाट टोली घटनास्थल पुग्यो । अपार्टमेन्टमा पुग्दा प्रहरी र स्थानीयले आगो निभाउने प्रयास गरिरहेका थिए । अपार्टमेन्टमा बसेकाहरू ‘बचाउ–बचाउ’ भन्दै तलदेखि माथिसम्मै चिच्याइरहेका थिए । तर अग्लो भवन धूवाँको मुस्लोले घेरिएकाले भित्र पस्न कोही सकिरहेका थिएनन् ।

उद्धारका लागि एउटा भर्‍याङ र अरू दुई पानीसहितका दमकल गएका थिए । तत्कालै भर्‍याङबाट उद्धार टोली अपार्टमेन्टमा प्रवेश गर्‍यो । अपार्टमेन्टमा जडान गरिएका अग्नि नियन्त्रणसम्बन्धी उपकरणले काम नगरेको भेटियो । अपार्टमेन्टमा जडान गरिएका उपकरण पनि काम नलाग्ने अवस्थामा थिए ।

त्यसका बीच दमकल कार्यालयबाट गएको टोलीले ७५/८० वर्षीय व्यक्तिलाई सातौं तलाबाट निकाल्यो । १२ तलाबाट दुई जना बालक र पाँच तलाबाट सुत्केरी महिलालाई बोकेर उद्धार टोलीले बाहिर ल्यायो । अन्य १५ जनालाई पनि त्यसैगरी उद्धार गरियो । दमकल टोली पुगेको करिब १० मिनेटपछि सेना, सशस्त्र र नेपाल प्रहरीका विपत् व्यवस्थापन टोली पनि दमकलमा पानीसहित पुगेका थिए । ललितपुर महानगरबाट पनि एउटा दमकल आइपुग्यो ।

अपार्टमेन्टको आगलागीमा थुप्रै हताहत भएको हुन सक्ने जोखिम औंल्याउँदै सशस्त्र, सेना र प्रहरीका उद्धार टोलीले बाहिरी सिसा फोडेर उद्धारको प्रयास गरे । त्यसक्रममा सुरक्षाकर्मीको विपत् व्यवस्थापन टोलीले २३ जनालाई उद्धार गर्‍यो । अपार्टमेन्टमा धूवाँको मुस्लो देखेपछि धेरैजसो चिच्याउँदै दौडिएर बाहिर निस्केका थिए ।

जुद्ध वारुणयन्त्रबाट उद्धारका लागि खटिएका अग्नि नियन्त्रक बद्रीप्रसाद अधिकारीका अनुसार अपार्टमेन्टमा विद्युत् सर्ट भई वायर बक्स जलेर धूवाँको मुस्लो तेह्रौं तलासम्म पुगेको थियो । धूवाँ कोठाभित्र पसेर त्यहाँका मानिस निसास्सिने अवस्थामा पुगेका थिए ।

दमकल कार्यालय र सुरक्षाकर्मीको संयुक्त प्रयासका कारण आगलागीबाट कुनै मानवीय क्षति हुन पाएन । उद्धारका क्रममा माथिबाट सिसा खसेर जुद्ध वारुणयन्त्रका ‘फायर फाइटर’ अमृत श्रेष्ठ सामान्य घाइते भए । अग्नि नियन्त्रक अधिकारीले आगो नियन्त्रणमा आइसकेपछि पनि सुरक्षाकर्मीले अनावश्यक रूपमा सिसा फुटाएर भौतिक सम्पत्तिको नोक्सान गराएको भन्दै असन्तुष्टि जनाए ।

‘सुरक्षाकर्मीहरूभन्दा हामी नै अगाडि पुगेर उद्धार गरिरहेका थियौं, उद्धारमा खटिनेका लागि पहिलो प्राथमिकता मानवीय क्षतिबाट हुन नदिने, त्यसपछि भौतिक सम्पत्ति नोक्सान हुनबाट कसरी कम गर्न सकिन्छ भनेर रणनीति अपनाउनुपर्ने हुन्छ,’ २८ वर्षदेखि अग्नि नियन्त्रणमा क्रियाशील अधिकारीले कान्तिपुरसँग भने, ‘तर दमकल कार्यालय र सुरक्षाकर्मीबीच प्रभावकारी समन्वय नहुँदा अपार्टमेन्टमा भौतिक क्षति हुन पुग्यो ।’

यसअघिका उद्धारमा पनि सुरक्षाकर्मीले समन्वय नगर्दा थुप्रै कमजोरी हुने गरेको उनको गुनासो छ । महानगरीय प्रहरी वृत्त कालीमाटीका डीएसपी अपिल बोहराले आगलागीलगायत सबै किसिमका विपत्मा पहिलो प्राथमिकता मानिसको ज्यान बचाउनु भएको र त्यसकै लागि सिसा फोडेर सुरक्षाकर्मीको टोली आगो नियन्त्रणमा खटिएको बताए ।

‘उद्धारकर्मीकै सक्रियता र सावधानीले कसैको ज्यान जान पाएन, यो ठूलो कुरा हो,’ डीएसपी बोहराले भने, ‘झ्याल/ ढोकाका सिसा फुटे/फुटेनन् त्यो अर्कै कुरा हो, मानिसको ज्यान जोगाउन हामी सफल भयौं ।’ सीसा नफोडेको भए भित्रै धूवाँको मुस्लोले निसास्सिएर मानिसको ज्यान जान सक्ने अवस्था रहेको उनले बताए ।

काठमाडौं उपत्यका विकास प्राधिकरणका आयुक्त भाइकाजी तिवारीले हाउजिङ/अपार्टमेन्टमा अग्नि नियन्त्रणलगायत सम्भावित विपत् आउँदा अपनाउने विधिबारे त्यहाँ बसोबास गर्नेलाई प्राविधिक जानकारी नहुँदा जोखिम बढेको बताए । ‘तर यसमा कसैले पनि ध्यान दिएको पाइँदैन,’ उनले भने ।

सम्बन्धित समाचार

रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आगलागी

प्रकाशित : माघ ६, २०७७ ०७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?