फेरि अबोध बालिका बलात्कृत

पाँच महिनामा मात्रै १० वर्षमुनिका १ सय ३४ बालिका बलात्कृत 

काठमाडौँ — गत बिहीबारको साँझ त्यस्तो घटना नभएको भए सायदै उनी काठमाडौंको टिचिङ अस्पतालमा हुन्थे । मिस्त्रीको काम गर्ने उनी अघिल्ला दिन झैं घर बनाउन कुदिसकेका हुन्थे तर कल्पनै नगरेको कहालीलाग्दो घटना भयो । उनी अर्थात्, बलात्कारको सिकार भएकी पाँच वर्षीया बालिकाका बाबु । 

फेरि अबोध बालिका बलात्कृत

त्यो साँझ उनी लखतरान परेर कामबाट घर फर्केका मात्रै थिए । आँगनमा भेटिएकी आमाले आफूलाई चुरोट किनिदिने भनेर गएकी नातिनी घर नफर्केको सुनाइन् । सुरुमा त उनले छोरी मामाघरतिर पो गई कि भनेर फोन घुमाए । टोलका अरू आफन्तकहाँ पो गैछ कि भनेर पनि सोधीखोजी गरे । त्यही बेला छिमेकमै बस्ने साढुका ९ वर्षीय छोराले बैनीलाई चुरोट किनेर फर्किंदै गर्दा ओम विकले काखीमा च्यापेर खोलातिर लगेको देखेको सुनाए । उनी साढुका छोरालाई लिएर ओमलाई भेट्न कुदे ।

ओम सोही टोलवासी हिरालाल मल्लिकको गोठमा करिब तीन वर्षयता काम गर्न बसेका कामदार थिए । एक वर्षअघि श्रीमतीले छाडेपछि ओम करिब ८ वर्षका छोरा हुर्काएर बसिरहेका थिए । उनी गोठमा पुग्दा ओम घुर तापेर बसिरहेका थिए ।

उनले साढुका छोराले भनेको कुरा सुनाउँदै सोधे, ‘तैँले मेरो छोरी च्यापेर खोलातिर जाँदै थिइस् रे ? खै मेरी छोरी ?’ ओमले गोठको कामबाट कतै गएको झूट बताए । गोठधनी हिरालालले पनि कामदारकै कुरामा सही थापे ।

त्यसपछि उनी घरदेखि करिब ३ सय मिटर दक्षिण हुँदै बग्ने उम्ची खोलाको किनारतिर दगुरे साथै रहेका साढु दाइको छोराले बैनीलाई बोकेर ओम गएको दिशातिर देखाए । नर्कटको झाडीमा मोबाइलको बत्ती बाल्दै दगुरेको त्यो समय सम्झिँदै उनले सुनाए, ‘छोरी भनेर कराउँदै हिँडेँ ।’ केहीबेर कराउँदै हिँडेपछि उनले सानो खोल्सोछेउ, दुवै घुँडा टेकेर टाउको लत्रिरहेकी बालिका देखे । उनले सुनाए, ‘कपाल पूरै जगल्ट्याएर लुछेजस्तो थियो ।’ उनले हत्त न पत्त छोरीलाई उठाएर काखमा राखे । ‘छोरीको गाला एकापट्टि पूरै चिथोरिएको थियो भने अर्कोपट्टि हिंस्रक जंगली जनावरले टोकेजस्ता देखिन्थ्यो । बायाँ आँखामा लौरीले घोचेजस्तो घाउ थियो,’ उनले सुनाए, ‘कम्मरमुनि कपडा थिएन । अचेतजस्तै देखिए पनि छोरीले बाबा भनेर बोल्न खोज्थी ।’

छोरीलाई बोकेर घर ल्याएपछि उनले छिमेकी र आफन्ती गुहारे । एकैछिनमा प्रहरी आइपुग्यो । उनले एम्बुलेन्समा छोरीलाई लिएर भैरहवा मेडिकल कलेज पुर्‍याए । त्यहाँ उपचार हुन नसक्ने भनेपछि उनले राति नै लुम्बिनी अस्पताल पुर्‍याए । त्यहाँबाट पनि रिफर गरिदिएपछि राति ११ बजे उनी एम्बुलेन्समा काठमाडौं कुदे । श्रीमती, एक वर्षकी कान्छी छोरी र आफन्तीसँग उनी शनिबार बिहान ८ बजेतिर वीर अस्पताल आइपुगे । घटनाबारे सुन्नेबित्तिकै वीरका कर्मचारीले उनलाई थापाथलीको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल पठाइदिए । प्रसूतिले भने बालिकाको स्वास्थ्य अवस्था कमजोर रहेको र तुरुन्तै सघन उपचारको खाँचो रहेको भन्दै कर्मचारीको साथ लगाएर टिचिङ अस्पताल पठाइदियो ।

छरछिमेकी र आफन्तीसँग ८० हजार जम्मा पारेर छोरीको उपचारमा काठमाडौं कुदेका बाबुले ११ हजार एम्बुलेन्स भाडा, औषधि उपचार, अप्रेसन खर्च गरेर सबै पैसा सकिनै लागेको बताए । बलात्कृत बालिकाको घर रहेको वडा कार्यालयले दैनिक ज्यालामजदुरी गरी जीवनयापन गरिरहेका पीडित परिवारको आर्थिक अवस्था कमजोर रहेको भन्दै तिलोत्तमा नगरपालिकालाई आर्थिक सहयोगका निम्ति पत्राचार गरेको छ ।

अस्पताल प्रशासनले कोरोना संक्रमणका कारण जोखिम बढ्न सक्ने भन्दै धेरै कुरुवालाई अस्पतालभित्र बस्न नदिने भएकाले उनी र आफन्ती अस्पतालबाहिरकै चौरमा टहलिएर रात कटाइरहेका छन् । उनले उपचार जारी रहे पनि छोरीले बायाँ आँखाले नदेख्ने भएको र परेलाको भागमा गहिरो चोट लागेको बताए ।

संवाददाता सोमबार बालिकाको घरमा पुग्दा परिवार र आफन्तहरूमा अनौठो सन्नाटा थियो । उनका हजुरबा र हजुरआमा नातिनी कहिले निको भएर घर फर्केलिन् भन्ने चिन्तामा देखिन्थे । जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता डीएसपी सत्यनारायण थापाले घटनाकै साँझ २८ वर्षीय होमबहादुर विक र गोठधनी हिरालाल मल्लाहलाई पक्राउ गरेको बताए । उनले भने, ‘स्थानीयको घरछेउमा लुकेको अवस्थामा विकलाई पक्राउ गरियो ।’ प्रहरी अनुसन्धानले विकले मादक पदार्थ सेवन गरी नाबालिकालाई करणी गरेको प्रारम्भिक निष्कर्ष निकालेको छ । प्रवक्ता थापाले भने, ‘जबरजस्ती करणीमा मुद्दा चलाउने तयारी सुरु भइसकेको छ ।’

नेपाल प्रहरीका अनुसार प्रत्येक दिन औसतमा १० वर्षमुनिका एक जना बालिकाहरू बलात्कारको सिकार बन्ने गरेका छन् । आर्थिक वर्ष २०७७/७८ को साउनदेखि मंसिरबीचको पाँच महिनामा मात्रै १० वर्षमुनिका १ सय ३४ बालिका र एक बालक बलात्कारको सिकार भएका छन् । यही अवधिमा ११ देखि १६ वर्षका ४ सय २८ बालिकाहरू बलात्कारको सिकार बनेको तथ्यांक छ ।

बिहीबार बलात्कारको घटनामा परेकी बालिका रहेको लुम्बिनी प्रदेशमा मात्रै पछिल्लो पाँच महिनामा १० वर्ष उमेरमुनिका ३० बालिका बलात्कृत भएका छन् । यो तथ्यांक यो अवधिमा प्रदेश १ बाहेकका अन्य ५ प्रदेशको तुलनामा सबैभन्दा उच्च हो । यही अवधिमा लुम्बिनी प्रदेशमा ११ देखि १६ वर्ष उमेर समूहका ५८ बालिका बलात्कृत भएका छन् ।

प्रकाशित : माघ ६, २०७७ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?