कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोना संक्रमितको मृत्यु भएपछि शिक्षण अस्पतालका चिकित्सकमाथि हातपात

काठमाडौँ — काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालको कोभिड आईसीयूमा कार्यरत डा. सविन भण्डारीलाई कुटपिट गरिएको छ । कोभिड आईसीयूमा उपचाररत  ६१ वर्षीय बिरामीको मृत्यु भएपछि उनका छोराले चिकित्सकमाथि हातपात गरेको शिक्षण अस्पतालको आईसीयूमा कार्यरत डा. सचित शर्मा रुपाखेतीले जानकारी दिए ।

कोरोना संक्रमितको मृत्यु भएपछि शिक्षण अस्पतालका चिकित्सकमाथि हातपात

उनका अनुसार निमोनियाको कारण बुटवलबाट शिक्षण अस्पतालमा रिफर गरिएका ती बिरामीको बुटवलमै गरिएको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ थियो । 'प्रारम्भिक रुपमा कोरोना निगेटिभ भएका कारण उहाँलाई अस्पतालको ननकोभिड आईसीयूको भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो,' उनले भने, 'तर हिजो भाइरल इन्फेक्सनको शंकापछि इन्फ्लुएञ्जाको परीक्षण गर्न टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमुना पठाएका थियौं । त्यहाँ परीक्षण गर्दा कोरोना पोजिटिभ रहेको खबर आयो । त्यसपछि हामीले उहाँलाई कोभिड आईसीयूमा सारेका थियौं ।'

डा. रुपाखेतीका अनुसार उपचारको क्रममा बिरामीको निधन भएपछि उनका छोरा चिकित्सकमाथि जाइलागेका थिए । 'हामीले बिरामीका आफन्तलाई सुरुदेखि नै अवस्था चिन्ताजनक छ भनेर जानकारी गराएका थियौं । तैपनि उहाँहरु आक्रोशमा आउनुभयो,' उनले भने, 'अस्पताल प्रशासनले हातपात गर्ने व्यक्तिविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएको छ । उहाँहरुले आफ्नो गल्ती स्वीकार गरेर माफी माग्नु भएको छ । तर, हामीले प्रशासनलाई कानुनी कारबाही नै आगाडि बढाउन भनेका छौं ।'

उनका अनुसार चिकित्सकलाई हातपात गर्ने मृतकका छोरालाई प्रहरीले पक्राउ गरेर लगे पनि अहिले माफी माग्नका लागि आफन्तहरुले उनलाई अस्पतालमा ल्याएका छन् ।

प्रकाशित : माघ ६, २०७७ १७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?