कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

यो संसद्‍ होइन, संविधान विघटनको प्रक्रिया हो : दाहाल

काठमाडौँ — नेकपाका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले राजाहरुको पालामा संसद् विघटन गरे जसरी नै संसद् विघटन गरेको बताएका छन् ।

यो संसद्‍ होइन, संविधान विघटनको प्रक्रिया हो : दाहाल

मंगलबार राजधानीमा नेकपाको दाहाल-नेपाल पक्षका पत्रकार भेलामा बोल्दै अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीले संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर राजाहरुले जसरी संसद् विघटनको सिफारिस गरेको बताएका हुन् ।

'२०१७ साल,२०३६ साल र २०४६ सालमा राजाहरुले विभिन्न धाराहरु व्याख्या गर्दै अन्तरनिहीत राजकीय अधिकार राजासँग हुने भन्दै संविधान विघटन गर्थे,' दाहालले भने, 'यही निरंकुश प्रवृत्ति बदल्नका लागि लामो संघर्ष र बलिदानबाट नेपाली जनताको प्रतिनिधिबाट पहिलोपटक संविधान जारी गरियो । प्रधानमन्त्रीले हुँदै नभएको अधिकार प्रयोग गरेर संसद् विघटन गरे । राजाहरुको दुर्गन्ध आउने गरी प्रधानमन्त्रीले संसद् विघटन गरे ।'

ओलीको कदम राजतन्त्रको पुनःस्थपित गर्ने, देशलाई निरंकुशतर्फ र अराजकतामा लैजाने प्रक्रियाको सुरुवात भएको अध्यक्ष दाहालको भनाइ थियो । संसद् विघटन गरेर देशमा प्रतिगमनको खतरा देखिएको र प्रतिकान्तिको प्रयास भएको बताउँदै दाहालले यसलाई रोक्नका लागि जुनसुकै हदसम्म जानुपर्ने दाहालले बताए । 'अहिले सरकारले गरेको संसद्को विघटनमात्रै हैन । संविधानको विघटनको प्रक्रिया हो,' दाहालले भने, 'यो कदम लोकतन्त्रको विघटनको प्रक्रिया हो । शान्ति सम्झौता र शान्ति प्रक्रियाको विघटनको प्रक्रिया हो ।'

आफूले १० वर्षको जनयुद्ध, १९ दिनको जनआन्दोलन र उत्पीडित समुदायको आन्दोलनको नेतृत्व गर्दै वर्तमान संविधान निर्माण गरिएको स्मरण गर्दै उनले असंवैधानिक संसद् विघटन आफूले जन्माएको सुन्दर बच्चाको हत्या गर्न लगिएजस्तो भएको बताए । उनले भने, '९ महिना गर्भमा राखेर बच्चा जन्माएपछि उक्त बच्चाको हत्या गर्न खोज्दा आमाको मनमा जे हुन्छ, अहिले मभित्र त्यस्तै आवेग र आक्रोश छ ।'

ओलीको कदमविरुद्ध शान्त भएर नहुने बताउँदै उनले जुनसुकै हदमा जानुपर्ने धारणा राखे । 'सामान्ती निरंकुशतातिर देशलाई धकेल्ने र अराजकताको भूमरीमा धकेल्ने हो भने जुनसुकै मूल्य चुकाएर भएर पनि रोक्ने दायित्व नेपाली जनताको हो,' दाहालले भने ।

ओलीले जनताले जारी गरेको संविधानलाई हमला गरेको दाहालको भनाइ थियो । विधि पद्धतिबाटै गएर प्रतिगमन सच्याउन जुनसुकै भूमिका खेल्नुपर्ने उनले बताए ।

प्रकाशित : माघ ६, २०७७ १८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?