नेता पुनको स्वास्थ्यमा सुधार

काठमाडौँ — नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा पूर्वअर्थमन्त्री वर्षमान पुनको स्वास्थ्यमा सुधार देखिएको पुनको परिवार स्रोतले बताएको छ । गत शुक्रबार बैंककबाट थप उपचारका लागि चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पिटल अफ सेनसेज लगेर सोही दिनबाट उपचार सुरु गरिएको थियो ।

नेता पुनको स्वास्थ्यमा सुधार

उपचार सुरु गरेको चौथो दिनमा नै नेता पुनको स्वास्थ्यामा प्रारम्भिक सुधार देखिएको सँगै रहेकी नेता पुनकी पत्नी तथा पूर्वसभामुख ओनसरी घर्तीले जानकारी दिइन् ।

नेता पुनको उपचारमा ३ दर्जनभन्दा बढी चिकित्सक र नर्सको टोली खटिएका छन् । पछिल्लो परीक्षण अनुसार नेता पुन विश्वमै विरलै देखिने जण्डिस (बिलरुविनको मात्रासमेत घटेर १८ मा झरेको) बाट ग्रसित छन् । यसअघि बैंककमा छाँदा बिलरुविनको मात्रा २२ थियो । बिलरुविन बढ्दा त्यसको प्रभावका कारण हुने वान्ता, शरीर चिलाउने, निद्रा नलाग्ने, खान मन नलाग्ने, शरीर सुन्निने जस्ता समस्या सुधार भएको छ ।

उपचारमा सहभागी चिकित्सकले नेता पुन खतरामुक्त रहेको र केही समयपछि निको भएर नेपाल फर्कनसक्ने बताएका नेता पुनको पूर्व स्वकीय सचिव तथा माओवादी केन्द्रीय सदस्य दुर्गा चापागाँईले जानकारी दिए ।

‘आज मात्रै मेरो भिडियो कल भएको थियो, उहाँको हिजोदेखि शरीर चिलाएको छैन, खान थाल्नुभयो, सबैसँग कुरा गर्न थाल्नुभयो । अध्यक्ष प्रचण्डसँग पनि हिजो बेलुका भिडियो कल गर्नुभयो, चिकित्सकले खतरामुक्त भएको छिट्टै नेपाल फर्कनुहुन्छ भनेका रहेछन्,' चपागाँईले भने, ‘बैंककबाट चीन उड्दा शरीर सुन्निएर ७२ केजी थियो । अहिले घटेर ६७ केजीमा झरेको छ । दिशामा रगत जाने समस्या पनि थियो त्यो बन्द भयो ।’

नेता पुनले गएराति अध्यक्ष प्रचण्डसँग भिडियोमा कुराकानी गरेका थिए । बंशाणुतग रूपमा रहेको जण्डिस दोहोरिएपछि नेता पुन असोज १३ गते बैंककतर्फ लागेका थिए । नेपालमा हुँदा ललितपुरस्थित सुमेरू अस्पताल र त्यसअघि ग्राण्डी अस्पतालमा परीक्षण गराएका नेता पुनको भारतको एपोलो अस्पतालमा पनि उपचार गरिएको थियो ।

प्रकाशित : मंसिर १३, २०७८ ११:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?