सहमहामन्त्रीमा लड्ने बद्री पाण्डेको घोषणा 

काठमाडौँ — कांग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डेले १४औं महाधिवेशनमा सह-महामन्त्रीमा लड्ने घोषणा गरेका छन् । सोमबार पत्रकार सम्मेलन गरेर पाण्डेले सहमहामन्त्रीमा उम्मेदवारी घोषणा गरेका हुन् । उनले पछिडिएको क्षेत्रबाट सह-महामन्त्रीमा लड्ने घोषणा गरे ।

सहमहामन्त्रीमा लड्ने बद्री पाण्डेको घोषणा 

‘म १२औं महाधिवेशनमा सेती अञ्चलबाट केन्द्रीय सदस्य, १३ औं महाधिवेशनमा खुल्ला केन्द्रीय सदस्य भएको हुँ। अहिले विधानको व्यवस्था अनुसार पिछडिएको क्षेत्रबाट सह–महामन्त्री लड्ने निर्णय गरेको छु,’ उनले भने, ‘अर्को पटक म सह–महामन्त्रीको उमेदवार होइन। म कि उपसभापति लड्छु कि महामन्त्री लड्छु। होइन भने विश्राम गर्छु । म पद दोहोर्‍याउने पक्षमा छैन। बरु खाली बस्छु।’ उनले आफू कोइराला लिगेसीसँग जोडिएको तर सबैको सहयोगको अपेक्षा गरेको बताए।

उनले १४औं महाधिवेशनपछि कांग्रेस सत्ता र पार्टी ठीक ढंगले जाने आशा समेत व्यक्त गरे। ‘यो नेतृत्व चयनको महाधिवेशन हो, नीति महाधिवेशन पछि हुन्छ। हामीले बेलामा महाधिवेशन गर्न सकेनौं। त्यसैले यसपटक नेतृत्व चयन हुन्छ र नितीगत महाधिवेशन अर्थात महासमिति बैठकबाट नीति र कार्यक्रम तय गर्नुपर्छ,' उनले भने।

उनले संगठन सुदृढिकरणका लागि चार ‘ब’को अवधारणा समेत अघि सारेका छन्। ‘मैले संगठन सदृढ गर्न चार ‘ब’को अवधारणा ल्याएको छु। पहिलो ‘ब’ भनेको विचार, दोस्रो ‘ब’ भनेको विधानको अक्षरस पालना, तेस्रो ‘ब’ भनेको नियमित बैठक र चोथौ ‘ब’ भनेको व्यवस्थापन हो,’ उनले भने, ‘चार ‘ब’ मध्ये पनि विधान महत्त्वपूर्ण हो। किनभने विधानको अक्षरस: पालना भयो भने पार्टी मजबुत बन्छ।’

उनले पार्टी नसुध्रिकन देश नै नसुध्रिदैने बताए। ‘पार्टी सधार नै अबको बाटो हो, २०४८ पछि चार चार वर्षमा महाधिवेशन भएको भए अहिले हामी १६औं महाधिवेशनको संघारमा हुने थियौं। हामीले रामचन्द्र र शेरबहादुरलाई बिदा भइदेउ भन्नु पर्ने थिएन,’ उनले भने, ‘समयमा महाधिवेशन नहुँदा नेतृत्व जाम भयो। यसपटक पनि हामी ढिला भएका हौं। अब एक व्यक्ति एक पदको अवधारणमा अघि बढ्नुपर्छ।’

प्रकाशित : मंसिर १३, २०७८ १३:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?