कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४
एमाले महाधिवेशन

पूर्वमाओवादी नेता उठेकै पदमा चुनाव, संयोग कि रणनीति?

मणि थापा भन्छन्- 'राजनीतिमा यसै हुन्छ त भन्न सकिन्न, हामी हार्नु भनेको ओली कमरेड र महाधिवशेनको प्रस्ताव हार्नु हो'

काठमाडौँ — नेकपा (एमाले) दशौं महाधिवेशनमा सोमबार साँझ ९ बजेदेखि सर्वसम्मत हुन नसकेका पदाधिकारी र केन्द्रीय सदस्य पदमा निर्वाचन हुने गरी निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । एमालेको पदाधिकारीमा पूर्वमाओवादीबाट आएका नेताहरू उम्मेदवार बनेका पदमा निर्वाचन हुने भएको छ ।

पूर्वमाओवादी नेता उठेकै पदमा चुनाव, संयोग कि रणनीति?

पार्टी अध्यक्षमा केपी शर्मा ओलीसँग भीमबहादुर रावलले प्रतिस्पर्धा गर्ने भएका छन् । ओलीले सर्वसम्मत अध्यक्ष बन्नका लागि गरेका प्रयासलाई असफल बनाउँदै रावलले महाधिवशेनलाई मतदानसम्म तन्काएका छन् । वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल सर्वसम्मत भएका छन् । ६ उपाध्यक्षमा पूर्वमाओवादीका रामबहादुर थापा पनि उम्मेदवार छन् । ओलीले गएराति उपाध्यक्षमा थापासँगै युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, विष्णु पौडेल र सुवास नेम्वाङको नाम प्रस्ताव गरेका थिए । तर, उपाध्यक्षमा घनश्याम भुसालले ओलीको प्रस्तावमा 'बागी' बनेर उम्मेदवारी दाखिला गरेका छन् ।

त्यस्तै, महासचिवमा शंकर पोखरेल र उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमालविरुद्ध कसैले उम्मेदवारी दिएन । र त्यसमा चुनाव हुने छैन । पूर्वमाओवादी नेताहरू उम्मेदवार बनेको सचिव पदमा भने चुनाव हुने भएको छ ।

सचिवमा ओलीले टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, लेखराज भट्ट, रघुवीर महासेठ, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्यालको नाम सिफारिस गरेका थिए । सचिवमा उम्मेदवारी दिएका भट्ट र रायमाझी पूर्वमाओवादी हुन् । यी नामलाई प्रतिनिधिहरूले ताली पिटेर 'पारित' गरेको थियो । तर, सचिवमा थप दुई नेताको उम्मेदवारी परेको छ । सचिवमा भीम आचार्य र टंक कार्कीले पनि उम्मेदवारी दिएका छन् । यी दुई नेताले पनि ओलीको प्रस्तावमा 'बागी' उम्मेदवारी दिएका हुन् ।

एमाले महाधिवेशनमा ओलीबाहेक पदाधिकारीमा माओवादी पृष्ठभूमिका नेताहरू उम्मेदवार भएको पदमा मात्रै निर्वाचन हुनुलाई चासोका साथ हेरिएको छ । माओवादी पृष्ठभूमिका नेताहरूलाई एमालेले कसरी मत दिन्छ वा स्वीकार्छ भन्ने यो निर्वाचनबाट देखिने नेताहरूले बताएका छन् ।

पदाधिकारी तथा केन्द्रीय समिति हलले पारित गरेका नामहरूलाई निर्वाचित गर्ने दायित्व प्रतिनिधिको रहेको एमाले नेता मणि थापाले बताएका छन् । 'हाम्रो उम्मेदवारी महाधिवेशनको हलले स्वीकार गरेको हो । आधिकारिक रूपमा अध्यक्ष मण्डलले प्रस्तुत गरेर महाधिवेशनको बन्दसत्रले पास भएको उम्मेदवारी हुनाले त्यसलाई निर्वाचित गराउनु सबै प्रतिनिधिको दायित्व हुन्छ,' पूर्वमाओवादी पृष्ठभूमिका नेता थापाले भने । आफूले प्रस्तुत गरेको प्रस्ताव पारित गर्ने दायित्व ओलीको पनि भएको थापाको भनाइ छ ।

पूर्वमाओवादीलाई एमाले कार्यकर्ताले सहजै स्वीकार गर्लान् र ? भन्ने प्रश्नमा थापाले राजनीति भएकाले एकिनका साथ भन्न नसकिने बताए । उनले भने, 'राजनीतिमा यसै हुन्छ त भन्न सकिन्न । हामी हार्नु भनेको ओली कमरेड र महाधिवशेनको प्रस्ताव हार्नु हो ।'

प्रकाशित : मंसिर १३, २०७८ १६:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?