कांग्रेसको डडेलधुरा अधिवेशनले पायो मान्यता
काठमाडौँ — कांग्रेस डडेलधुरा अधिवेशनलाई केन्द्रीय निर्वाचन समितिले सदर गरिदिएको छ । यसअघिका जिल्ला सभापति कर्णबहादुर मल्ललगायतले वडादेखि जिल्ला अधिवेशनमा एकलौटी भएको भन्दै खारेज गरी फेरि अधिवेशन गर्न माग गर्दै निवेदन दिएका थिए ।
डडेलधुरामा मल्लको सहभागिताको बिनै जिल्ला अधिवेशन भइसकेको छ । ती निवेदनमाथि सुनुवाइ गर्दै निर्वाचन समितिले सोमबार बहुमतले डडेलधुरा अधिवेशनलाई सदर गर्ने निर्णय गरेको हो । समितिका ४ सदस्यमध्ये सीताराम केसीले भने विधानविपरीत हुने भन्दै फरक मत राखेका छन् ।
डडेलधुरामा सभापति शेरबहादुर देउवा पक्षले एकलौटी ढंगले अधिवेशन गरेको आरोप थियो । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले अधिवेशनलाई मान्यता नदिन आग्रह गर्दै आएका थिए । पुनः अधिवेशन गर्न माग गर्दै मल्ललगायत नेता सानेपामा रिले अनशन पनि बसेका थिए ।
सानेपामा रिले अनशन गरिरहेका मल्लसहित नेता कार्यकर्ताले भने समितिको निर्णयप्रति असन्तुष्टि जनाउँदै छलफल गरेर अन्य संघर्षका कार्यक्रमहरु ल्याउने बताएका छन् ।
प्रकाशित : मंसिर १३, २०७८ १८:३३