न्याय माग्दै फेरि माइतीघर

कलंकीबाट हिँडेर माइतीघर मण्डल आउँछन्, दिनभरि आन्दोलन गर्छन् अनि साँझ उसैगरी पैदल फर्कन्छन्
जनकराज सापकोटा

काठमाडौँ —  माइतीघर मण्डलनेर एक छेउमा सोमबार अपराह्न लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानमा गैरसरकारी संस्था सम्बद्ध महिलाले ‘महिला हिंसा अन्त्य गरौं’ भन्ने नारा लगाइरहेका थिए । त्यहीं सडकछेउमा महिला हिंसाकै मुद्दा उठाएर नेपालगन्जबाट आएका महिला धर्नामा थिए । 

न्याय माग्दै फेरि माइतीघर

नन्कुन्नी धोबी र निर्मला कुर्मीको न्यायका निम्ति आएका रुबी खान र उनका साथीले महिला अधिकारका निम्ति संगठित संघसंस्था यति धेरै छन् भन्ने थाहै पाएको त्यही बेलै हो । अधिकारकर्मीले बोकेको नेपाली र अंग्रेजी भाषामा लेखिएको प्लेकार्डका नारा भने उनीहरूले बुझ्न सकिरहेका थिएनन् । नारा लगाइरहेका अधिकारकर्मीतिर पुलुक्क हेर्दै उनीहरू अवधी भाषामा फुसफुसाउँथे ।

गृहमन्त्री बालकृष्ण खाँणको फोटो र त्यससँगै ‘न्यायका लागि कलम चलाउनुस् सरकार’ लेखिएको फोटोकपी पेपर उनीहरूले देखाइरहेका थिए । नेपालगन्जदेखि पैदलै काठमाडौं आएका उनीहरूले असोज २१ देखि माइतीघरमा आन्दोलन थालेका हुन् । २३ दिनको आन्दोलनपछि गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा छानबिन कमिटी गठन भएको थियो ।

बाँकेको जानकी गाउँपालिका–२ नेवाजी गाउँकी ३८ वर्षीय नन्कुन्नी धोबी गत साउन ६ गते बिहानै घरभित्र मृत अवस्थामा फेला परेकी थिइन् । यस्तै, नेपालगन्ज उपमहानगरपालिका–१७ परस्पुरकी एकल महिला निर्मला कुर्मी बेपत्ता थिइन् र उनको ५ बिघा जग्गा अरूले नै हडपेका थिए । दुवै घटनामा गहिरो अनुसन्धान र दोषीमाथि कारबाही गर्नुपर्ने आन्दोलनरत महिलाहरूको माग छ ।


सरकारी छानबिन समितिले गृहमन्त्री खाँणलाई प्रतिवेदन बुझाएको ८ दिनपछि कात्तिक २२ मा प्रहरीले निर्मला कुर्मीको जग्गा हडप्ने काममा संलग्न भएको आरोपमा ६ जनालाई पक्राउ गर्‍यो । २१ दिन हिरासतमा बसेर सबै जना हाजिरी जमानीमा थुनामुक्त भए । आन्दोलनको नेतृत्व गरिरहेकी रुबीले भनिन्, ‘गम्भीर प्रकृतिको मुद्दाका आरोपित छुटेपछि हामीले न्याय पाउँदैनौं कि भन्ने लागेको छ ।’

शुक्रबार काठमाडौं आएका उनीहरूले सुरुमा गृह प्रवक्ता फणीन्द्रमणि पोखरेललाई भेटे । पोखरेलले उनीहरूलाई निर्मला कुर्मीको जग्गाको विषयमा थप छानबिन अघि बढाउन भूमिसुधार मन्त्रालयमा पठाएको बताए । त्यसपछि उनीहरूले भूमि व्यवस्थामन्त्री शशि श्रेष्ठलाई भेटे । सोमबार भने उनीहरूले नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ र महान्यायाधिवक्तालाई भेटेर न्यायको अपिल गरेका छन् ।

उनीहरू शुक्रबारयता नियमित कलंकीबाट हिँडेर माइतीघर मण्डल आउने, दिनभरि आन्दोलन गर्ने र साँझ पैदल फर्कने गरिरहेका छन् । दुई महिनाअघि २० दिने पैदल यात्रा गर्दा उठेका फोका सुकिसके । खुट्टाको घाउ पनि धेरथोर निको भइसक्यो । रुबीले उतिबेलाको हिँडाइले घाउ बनेपछिका निसानी दाग देखाउँदै भनिन्, ‘हेरौं यसपाला सिंहदरबारले हामीलाई कसरी न्याय दिन्छ !’

प्रकाशित : मंसिर १४, २०७८ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?