१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

राप्रपामा नेता तानातान

नेतृत्वका आकांक्षीमध्ये थापालाई जबरा पक्षका नेताको र लिङ्देनलाई लोहनीको साथ 
मकर श्रेष्ठ

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टीको आगामी नेतृत्वका लागि हालका अध्यक्ष कमल थापा र नेता राजेन्द्र लिङ्देनबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ । थापाले सोमबार अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् भने लिङ्देनले शुक्रबारै घोषणा गरिसकेका छन् । राप्रपाको एकता महाधिवेशन मंसिर १५ देखि १७ सम्म काठमाडौंमा हुँदै छ । 

राप्रपामा नेता तानातान

दुवै आकांक्षीबीच पुराना र स्थापित नेतालाई आफ्नो पक्षमा ल्याउने होड सुरु भएको छ । दुई नेताबीच नेतृत्वमा टक्कर भएपछि वरिष्ठ नेताहरू पनि दुई खेमामा बाँडिएका छन् । पार्टीका तीन अध्यक्षमध्ये पशुपतिशमशेर जबरा पक्षका दीपक बोहरा, ध्रुवबहादुर प्रधान, जयन्त चन्द, सुदूरपश्चिम प्रदेश संयोजक धर्मराज जोशी, कर्णाली प्रदेश संयोजक जितबहादुर शाहीलगायत थापाको पक्षमा खुलेका छन् । उनीहरू थापाको उम्मेदवारी घोषणा सभामा पनि उपस्थित थिए । अध्यक्ष जबरा भने अझै मौन छन् ।

उम्मेदवारी घोषणा सभामा उपस्थित नेता प्रधानले थापाकै समूहबाट उपाध्यक्षमा उम्मेदवारी दिने बताए । नेता ठाकुरप्रसाद शर्माले पनि जबरा पक्षका थुप्रै शीर्ष नेता थापाको समूहमा खुलेको बताए । ‘थुप्रै नेता थापाको पक्षमा खुल्नुभएको छ, यसबाट पनि तपाईंहरू अनुमान लगाउन सक्नुहुन्छ तर अध्यक्षज्यू (जबरा) खुल्नुभएको छैन,’ उनले भने । उपाध्यक्षका दाबेदार प्रधानले आगामी महाधिवेशनमा जबराले उम्मेदवारी नदिने भएपछि आफू थापा समूहबाट अघि बढेको बताए । त्यस्तै तीन अध्यक्षमध्येका एक प्रकाशचन्द्र लोहनी भने अध्यक्षका उम्मेदवार लिङ्देनको पक्षमा खुलेरका छन् । उनले मंगलबार पत्रकार सम्मेलन गरेर आगामी महाधिवेशनमा लिङ्देनलाई सघाउने घोषणा गर्दै छन् ।

युवा पुस्ताको प्रतिनिधित्व गर्ने भन्दै लिङ्देनले पार्टी नेतृत्वमा दाबेदारी पेस गरेकामा भने थापाले घोषणा सभामा आपत्ति जनाए । ‘युवा उमेर गनेर अध्यक्ष हुने हो भने आउनुस् टुँडिखेलमा दौडौं, दौडँदा मलाई जित्नुभयो भने । उम्मेदवारी घोषणा सभामा उपस्थित हुनुअघि थापा लोकेन्द्रबहादुर चन्दको साथ खोज्न लोकन्थलीस्थित चन्दनिवास पुगेका थिए । ‘आशीर्वाद माग्न गएको थिएँ, अभिप्रेरित गर्नुभएको छ,’ घोषणा सभामा चन्दको नामै लिएर थापाले भने, ‘मलाई उहाँको साथ र समर्थन छ ।’

जबराले पनि पार्टी एकताका लागि उम्मेदवारी नदिएर आफूलाई सहयोग गर्ने थापाले दाबी गरे । ‘पार्टीलाई एकताबद्ध गर्न मलाई साथ रहने बताउनुभएको छ,’ उनले भने । त्यस्तै लिङ्देनले पनि आफूलाई सहयोग गरिदिन भन्दै जबरालाई सोमबार साँझ भेटेका छन् । लिङ्देनले अध्यक्षमा, धवलशमशेर राणाले महामन्त्रीमा शुक्रबारै उम्मेदवारी घोषणा गरिसकेका छन् । आगामी दिनमा पार्टी फुट्न नदिने र नफुटाउने संकल्प गर्दै थापाले पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् ।

यसअघि सर्वसम्मतिमा अध्यक्ष चुनिने गरेकामा यसपालि थापाकै समूहमा रहेका लिङ्देनले पनि उम्मेदवारी दिने घोषणा गरेका हुन् । पार्टी एकता हुँदा तीन अध्यक्ष रहेकामा महाधिवेशनपछि एक जनामात्रै हुने गरी विधान संशोधनको प्रस्ताव गरिएको छ । ‘अहिले तीन अध्यक्ष हुँदा जसरी समन्वय र सामूहिक नेतृत्वको आधारमा निर्णय गरी पार्टी चलाइरहेका छौं, मंसिर १७ मा एउटा मात्रै अध्यक्ष भएपछि पनि त्यसरी नै समन्वय र सहमतिबाट चल्ने दुवै अध्यक्षलाई भनिसकेको छु,’ थापाले भने ।

पार्टीको अवस्था सुदृढ बनाउन उम्मेदवारी दिने लिङ्देनले बताएका छन् । थापाले भने आफूले सुरु गरेको काम अधुरै भएकाले पूरा गर्न अध्यक्षमा उम्मेदवारी दिने बताए । ‘महाधिवेशनपछि पार्टी फुट्ने शृंखला दोहोरिन नदिन धेरै काम गर्नु छ,’ उनले भने । राप्रपालाई अग्रणी शक्तिका रूपमा स्थापित गर्न र पार्टीको वैचारिक धार बनाउन बाँकी रहेकाले अध्यक्ष बन्न लागेको थापाले बताए । ‘यो अभिभारा पूरा गर्ने मेरो प्रयास हुनेछ, आर्यघाटमा नपुगेसम्म पद नछोड्ने मेरो मानसिकता छैन, निजी काम र घुम्न बाँकी छ, शारीरिक रूपमा सक्षम हुँदा नै निजी काम गर्नु छ,’ उनले भने, ‘आगामी निर्वाचनमा राप्रपालाई अग्रणी संस्थाका रूपमा स्थापित गरेपछि वैचारिक धार बलियो बनाएर र हिन्दुराष्ट्रको आधार तयार पारेर विश्राम लिन्छु ।’

लिङ्देन र धवलशमशेर राणाले नेतृत्व लिन खोज्नु स्वागतयोग्य भए पनि अझै चार वर्ष धैर्य गर्नुपर्ने थापाको भनाइ छ । ‘आफ्ना भाइ, छोराले म परिवारको जिम्मेवारी लिन्छु भन्दा नकारात्मक लिनु हुँदैन, चार वर्ष धैर्य गर्नुस्, दुःख गर्ने काम हामीलाई छाडिदिनुस्,’ उनले भने ।

प्रकाशित : मंसिर १४, २०७८ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?