१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

हिउँमा बाटो खुट्याउन फलामे पोल

आनन्द गौतम

ताप्लेजुङ — सुरक्षित यात्राका लागि लेकमा पदमार्ग पहिल्याएर हिँड्नुपर्छ । तीन हजार मिटरभन्दा माथिका लेकाली क्षेत्रमा बाटोहरू मंसिरदेखि चैत–वैशाखसम्म हिउँले पूरै छोपिन्छन् । यस्तो बेला स्थानीय गोठाला गोरेटो पहिल्याउन अलमलिन्छन्, कञ्चनजंघा आरोहणमा जानेहरूलाई झन सास्ती हुन्छ । 

हिउँमा बाटो खुट्याउन फलामे पोल

फक्तालुङ गाउँपालिका–६ लेलेदेखि माथि उक्लेपछि सुरु हुने पदमार्ग कञ्चनजंघा आधार शिविरसम्मै हिउँले ढाकेको हुन्छ । धेरैपटक हिँडेका अनुभवीलाई पनि हिउँले ढाकेका बेला गोरेटो कता भनेर चिन्न हम्मे पर्छ । यतिबेला बाटो चिनाउने संकेत चिह्न चाहिन्छन् । हिँड्दा बाटो अलमलिनेहरू एक दिनमै पार लाग्ने बाटोमा दुई दिन पनि बिताउँछन् ।

ओलाङचुङगोला, याङमा, फले, घुन्सा, खम्बाछेन, पापुङ र याम्फुदिनका बासिन्दाले यस्तो समस्या झेलिरहन्छन् । ‘कहाँ जान हिँडेको कहाँ पुगिन्छ पुगिन्छ,’ ओलाङचुङगोलाका नुपु शेर्पाले भने, ‘यसबाट मुक्ति पाउन पहिला–पहिला रूखको बीचमा बोक्रा खुर्किएर संकेत बनायौं, त्यसपछि ढुंगाको गाह्रो उठायौं, अहिले त हिउँमा फलामको पोल गाड्न थालिएको छ ।’

स्थानीयको सहजताका लागि वित्त तथा दीर्घकालीन पर्यटन विकास कार्यक्रम समृद्ध पहाडले १ सय २० ठाउँमा पोल गाडेको छ । एक सय ठाउँमा बाटो देखाउने साइनबोर्ड राखेको कञ्चनजंघा व्यवस्थापन परिषद्का कार्यक्रम सहायक जितेन लिम्बू बताउँछन् । पहिला गाडेको काठको पोल नमक्किएको ठाउँमा दोहोरो नपर्ने गरी रामदानदेखि पान्पेमासम्म ८० वटा र सेलेलेको बाटोमा मिर्गेन्लादेखि सिनेलाप्चेसम्म ४० वटा गाडिएको कञ्चनजंघा परिषद्ले जनाएको छ ।

कञ्चनजंघामा दुईवटा बेसक्याम्प छन् । पोल गाड्दासम्म र देखिने ठाउँमा टाढा–टाढा, घुमाउरो र झुक्किने बाटोमा नजिकमा गाडिन्छ । हिउँले पदमार्ग छोपिएका बेला अगाडिको पोल देखिने गरी गाडिएको हो । हिउँमा प्रस्ट देखिने भएकाले पोलमा पहेंलो, रातो र कालो रङ लगाएको छ । कोभिड–१९ का कारण सुनसान रहेको क्षेत्रमा केही दिनयता विदेशी पर्यटकसमेत हिँड्न थालेकाले अहिलेनै पोल गाडिएको जितेनले बताए ।

विदेशी पर्यटक तथा गाइडको सहजताका लागि यसअघि काठका पोल गाडेको घुन्साका नुपु शेर्पाले बताए । काठ एकाध वर्षबाहेक नथाम्ने भएपछि फलामे पोल प्रयोग गरिएको समृद्ध पहाडकी कार्यक्रम संयोजक चित्राकुमारी चङसु मेन्याङबोले बताइन् । पोल गाडेको ठाउँको उचाइ ५१ सय मिटरसम्म छ ।

प्रकाशित : मंसिर १४, २०७८ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?