कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

स्याल–कुकुर धपाएर उडान

फायर अलार्म भेहिकलको आवाज विमानस्थलबाट आयो भने बुझे हुन्छ– जहाज आउन लाग्यो, पशुपन्छी धपाउने काम भइरहेको छ

हुम्ला — हुम्लाको सिमकोट विमानस्थलमा कार्यरत नीरज थापा हरेक बिहान ५ बजे नै उठ्छन् । आपत्कालीन अवस्थामा प्रयोगका लागि विमानस्थलमा राखिएको अल्ट्रालाइट फायर भेहिकल स्टार्ट गरी विमानस्थल वरिपरि साइरन बजाउँदै उनको दिनचर्या सुरु हुन्छ । एकाबिहानै गाडीबाट साइरन बजाउनुको कारण हो– विमानस्थलभित्र छिरेका भोटेकुकुर र स्याल धपाउने । 

स्याल–कुकुर धपाएर उडान

सिमकोटका स्थानीयले सुरक्षाका लागि घर घरमा भोटेकुकुर पालेका छन् । विमानस्थल सँगै झाडीबुट्यान छन्, जहाँ स्यालको बास छ । उडान नहुँदा र साँझ–बिहान कुकुर र स्यालका हूल विमानस्थल पस्ने गरेका छन् । ‘साइरन बजाएर एयरपोर्ट परिक्रमा गर्दा रनवेमा पसेका कुकुर र स्याल पनि भाग्छन् । बजारवासीलाई जहाज आउँदै रैछ भन्ने सूचना पनि हुन्छ,’ वरिष्ठ सहायक थापाले भने ।

२०३६ सालदेखि सञ्चालनमा आएको सिमकोट विमानस्थल ६ सय ५० मिटर लम्बाइको छ । विमानस्थलको रनवेमा ५ फिट अग्लो फलामे पक्की घेराबेरा लगाइएको छ । ‘घेराबेरा नाघेरै कुकुर पस्छन्, ढलबाट स्याल रनवेसम्म पुग्छन्,’ विमानस्थल प्रमुख मोहन गिरीले भने, ‘त्यसैले दैनिकजसो साइरन बजाउँदै रनवेमा गाडी गुडाउँछौं ।’ एक दशक कालोपत्र गरिएको विमानस्थल हिमाली जिल्लामध्ये लुक्लापछि व्यस्तमा पर्छ । सिमकोटमा दैनिक ६ देखि एक दर्जन उडान हुने गरेको उनले बताए ।

यति व्यस्त विमानस्थलकै कम्पाउन्डभित्रैबाट बग्छ सदरमुकामको ढल । सदरमुकाममा रहेका होटल, मासुपसल तथा स्थानीयवासीका घरहरूबाट निस्किएका हाडखोर, मासुका टुक्रालगायत अन्य फोहोरहरू विमानस्थलभित्रै रहेका दुईवटा ढलबाट बग्ने भएपछि राति स्याल, कुकुर तथा दिउँसो काग र चिललगायत अन्य पन्छीको बिगबिगी हुने गरेको हो । करिब १२ सय परिवारको ढल बग्ने ठाउँ एयरपोर्ट कम्पाउन्ड नै हुँदा पशुपन्छीले हैरान बनाएको विमानस्थल कार्यालयले जनाएको छ । गाडी रनवेमा नियमित गुड्दा विमानस्थलमा फेला पर्ने किला र सिसाहरू पनि हटाउन सहज भएको प्रमुख गिरी बताउँछन् । उनका अनुसार फायर भेहिकलमा दुई जना कर्मचारी नियमित परिचालन गरिएका छन् ।

नागरिक उड्डयन प्राधिकरणले ३ वर्षअघि करिब २ करोड रुपैयाँमा खरिद गरी उक्त गाडी सिमकोट पठाएको हो । यसले जहाजमा आगलागी हुने जोखिम भए अग्नि नियन्त्रणको काम गर्छ । ‘मुख्य काम आगो नियन्त्रण गर्ने हो,’ विमानस्थल प्रमुख गिरीले भने, ‘अहिले भने दैनिक कुकुर, स्याल र चराचुरुंगी नियन्त्रणमा पनि प्रयोग गरिरहेका छौं ।’

कहिलेकाहीं दिउँसो पनि गाडी परिचालन गरिने उनले बताए । हुम्ला विमानस्थलमा कुनै समय सिमकोट हुँदै मानसरोवर–कैलाश दर्शन गर्न जाने भारतीय पर्यटकका कारण जहाजको उडान गर्न भ्याइनभ्याइ थियो । लकडाउनअघि एकै दिन १ सय ३२ उडान भएको विमानस्थलको तथ्यांक छ । अहिले नेपाल वायुसेवा निगमले आइतबार, मंगलबार, बिहीबार र शनिबार सिमकोट उडान भरिरहेको छ । त्यस्तै तारा, सीता र समिट एयरलाइन्सले पनि उडान नियमित गरिरहेको विमानस्थल प्रमुख गिरीले बताए । नेपाल एयरलाइन्सले नेपालगन्ज– सिमकोटको भाडा ६ हजार ९ सय १० तोकेको छ भने सीता र समिट नेपालगन्ज–सिमकोट दूरीमा ६ हजार १ सय ५० रुपैयाँ भाडा लिइरहेका छन् । निजी जहाज कम्पनीले सुर्खेतका लागि भने ५ हजार ६ सय रुपैयाँ लिइरहेको विमानस्थल कार्यालयले जनाएको छ ।

अहिले विमानस्थलबाट दैनिक १ सय ५० देखि २ सय यात्रु आउजाउ गरिरहेका छन् । तर दसैंदेखि पर्याप्त उडान नहुँदा गाउँबाट आएका यात्रु विमानस्थल आसपासका होटलमा अलपत्र हुने समस्या छ । ‘अहिले ७ देखि १० वटा फ्लाइट भइरहेका छन्,’ विमानस्थल प्रमुख गिरीले भने, ‘दैनिक १० फ्लाइट भए अहिलेको अवस्थामा पुग्थ्यो ।’ उनले पर्याप्त उडान नहुँदा एयरलाइन्सका कार्यालयमा बाहिर जाने यात्रुको भीड लाग्ने गरेको बताए ।

प्रकाशित : मंसिर १४, २०७८ ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?