१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

अछाममा बस दुर्घटना : २ को मृत्यु, २९ घाइते

मेनुका ढुंगाना

अछाम — अछाममा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । २९ जना घाइते भएका छन् । घाइते २१ जनाको जिल्ला अस्पताल र ८ जनाको बयालपाटा अस्पतालमा उपचार भइरहेको छ । मंगलसेनबाट धनगढी जाँदै गरेको ना ६ ख ८२९ नम्बरको बस मंगलसेन नगरपालिका-४ मा दुर्घटना भएको हो ।

अछाममा बस दुर्घटना : २ को मृत्यु, २९ घाइते

दुर्घटनामा मंगलसेन नगरपालिका-१ का २२ वर्षीया अनमोल थापाको मृत्यु भएको छ । रोजगारीका लागि विदेश जान उनी घरबाट बिदा भएर निस्केको उनका आफन्तले बताएका छन् । मृत्यु भएका अर्का यात्रुको भने सनाखत हुन नसकेको अछामका प्रहरी प्रमुख डिएसपी तुल्सीराम अर्यालले बताए । ‘गाडी अप्ठ्यारो ठाउँमा उल्टो परेर अड्किएको छ । अहिलेसम्म दुई जनाको शव भेटिएको छ । अझै च्यापिएका छन् कि भन्ने आशंका छ । गाडीलाई सुल्टो पार्ने हाम्रो प्रयास जारी छ’, उनले भने ।

बसमा धेरैजसो कामको खोजीमा जान थालेका परिवार र अध्ययनका लागि काठमाडौंलगायतका सहरमा जान लागेका विद्यार्थी रहेको जिल्ला अस्पताल मंगलसेनमा उपचाररत घाइते मंगलसेन नगरपालिका ३ की २४ वर्षीया सिर्जना साउदले बताइन् । मंगलसेनबाट चढेको बस १५ मिनेट नबित्दै दुर्घटना भएको उनको भनाइ छ ।‘घटना स्थलभन्दा अलि पर सिर्जना चोक नजिक पनि बसको पांग्रा नालीमा जान लागेको थियो । त्यतिखेर पनि हामी डरले चिच्याएका हौं । अलि अगाडि नपुग्दै गाडी रोडभन्दा तल खस्यो ।’ घाइते भएकाहरुलाई उद्धार गर्नुभन्दा पनि ड्राइभरलाई भाग्नै हतार जस्तो देखिन्थ्यो । उनकै लापरबाहीले गाडी पल्टिएको हो,’ उनले भनिन् । सिर्जनासहित उनका बुवा, आमा दाइ र भाइ कामको खोजीमा भारत जान लागेका थिए ।

सोही बसमा यात्रामा रहेकी मंगलसेन नगरपालिका १४ की काली सोडारीले आफू रुखमा अड्किएर बाँचेको बताइन् । ‘मेरै छेउमा सिट भएका एक जनाको मृत्यु भयो । उनी झ्याल साइडमा थिए । म भने कसरी रुखमा अड्किए छु । शरीर पुरै थिचिएको छ,’ उनले भनिन्,‘मलगायत मेरो सबै परिवार त्यही गाडीमा थियौं । अरुको अवस्था के छ भन्ने जानकारी छैन । कामको खोजीमा भारत जान लागेका हामी कोही जिल्ला अस्पतालमा छौं । कोही बयालपाटा अस्पतालमा छन् ।’

प्रकाशित : मंसिर १४, २०७८ १८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?