कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

नेपालबाट चोरिएका सम्पदा निजी ग्यालरीमा

दुई दर्जनभन्दा बढी भेटिए, तीनवटाको मात्रै पहिचान
देवेन्द्र भट्टराई

काठमाडौँ — काठमाडौं उपत्यकाबाट सन् ८० को दशकमा हराएका पुरातात्त्विक महत्त्वका सम्पदाहरू निजी संग्रहालय बरकत ग्यालरीमा भेटिएका छन् । अमेरिकाको लस एन्जल्स, बेलायतको लन्डन, दक्षिण कोरियाको सियोल, जोर्डनको अम्मान र हङकङमा (दुई) शाखा रहेको ग्यालरीको बिक्री सूचीमा दुई दर्जनभन्दा बढी नेपाली पुरातात्त्विक सम्पदा छन् । तीमध्ये ३ वटाको मात्रै पहिचान हुन सकेको छ ।

नेपालबाट चोरिएका सम्पदा निजी ग्यालरीमा

हराएका वा चोरिएका सम्पदाको स्थान, पहिचान तथा सूचना दिने अभियान ‘लस्ट आर्ट्स अफ नेपाल’ ले दिएको जानकारीअनुसार ओमबहालस्थित बौद्ध विहारमा रहेको सत्रौं शताब्दीको ढुंगाको मूर्ति बरकतको बेलायत शाखामा फेला परेको छ ।

यस्ता बौद्ध–विहार वा मठमन्दिर निर्माणमा सहयोग गर्ने दाताले आफ्नो कृतिको स्मरणका लागि आफ्नै प्रतीकात्मक मूर्ति बनाउन लगाउने गरेका थिए । अर्को मूर्ति भने बरकत ग्यालरीको अमेरिका शाखामा भेटिएको छ । ओटुबहालको विहारबाट चोरिएको दाताको घुँडा टेकिएको आकृतिको अर्को ढुंगा मूर्ति भने लसएन्जल्सस्थित बरकत ग्यालरीमा फेला परेको हो । यी दुवै ढुंगा मूर्तिको तस्बिर सन् १९७६ मा स्विस अन्वेषक उलरिच भोन स्क्रोडरले खिचेका थिए । ‘नेप्लिज स्टोन स्कलप्चर्स’ नाममा प्रकाशित तस्बिर पुस्तकमा दाताका यी मूर्ति संगृहीत छन् ।

विष्णु–लक्ष्मी मूर्ति / हङकङ

सन् १९६५ देखि सन् २०१९ सम्मका शिलामूर्तिका तस्बिर संकलन गर्ने स्क्रोडरले यस पुस्तकको पहिलो भागमा हिन्दु देवदेवी तथा मठमन्दिरमा रहेका मूर्ति र दोस्रो भागमा बौद्ध गुम्बा–विहारमा रहेका मूर्ति समेटेका छन् ।

यस्तै, बेलायतको बरकत ग्यालरीमै वसन्तपुरको कुमारी–छें (कुमारी घर) बाट चोरिएको दुर्गादेवीको आकृति कुँदिएको काठको तोरण फेला परेको छ । सन् ८० को दशकमा हराएको यो सम्पदा चोरिएपछि ५ वर्षअघि मात्रै नयाँ तोरण प्रतिस्थापन गरिएको थियो । अहिले पहिचान भएकामध्ये सबैभन्दा बढी महत्व र धार्मिक सरोकारमा जोडिएको सम्पदा यही कलात्मक तोरण हो ।

कालभैरव मूर्ति / बेलायत

सत्रौं शताब्दीको निर्माण मानिने कालभैरवको मूर्तिसमेत बिक्रीमा राखिएको छ । एक छेउमा टुक्रिएको देखिने ढुंगा मूर्ति बेलायतको ग्यालरीमा रहेको जनाइएको छ । भगवान् शिवको रौद्र अवतार मानिने कालभैरव विशेषतः इन्द्रजात्रा पर्वका बेला बाहिरी प्रदर्शनीमा राखिने गर्छ ।

सांस्कृतिक अन्वेषक गोविन्द टण्डनका अनुसार कालभैरवका यस्तै भंगिमा र शिल्पका पुरातात्त्विक मूर्तिहरू पशुपति क्षेत्र वा काठमाडौं, पाटनका पुरातात्त्विक स्थलमा पनि रहँदै आएको हो । यसबारेको सूचीकरण कहींकतै नभएकाले अहिले बरकत ग्यालरीमा पाइएको मूर्तिको स्थान पहिचान यकिन हुन सजिलो छैन । पहिचान हुने अभिलेख भेट्न निकै गाह्रो हुने उनले बताए ।

भैरव मास्क / बेलायत

बिक्रीमा राखिएको अर्को प्राचीन सम्पदा मल्लकालीन काष्ठकला झल्कने भैरवको मास्कसमेत हो । पन्ध्रौं शताब्दीमा निर्माण भएको मानिने यो काठमा कुँदिएको मास्क बरकतको लन्डन ग्यालरीमा छ । अर्को, पन्ध्रौं शताब्दीकै सिर्जना मानिने भैरव मास्क पनि बरकतमै छ ।

अझ ११ औं शताब्दीको सिर्जना मानिएको ढुंगामा कुँदिएको विष्णु–लक्ष्मी मूर्ति पनि हङकङ ग्यालरीमा बिक्रीमा राखिएको छ । यी सम्पूर्ण सम्पदाबारे पनि बाहिर सूचना आउनासाथै यीबारेको ‘उत्पत्तिको यथास्थिति’ र पहिचान पहिल्याउन सकिने टण्डनको राय छ ।

भैरव मास्क / बेलायत

जेरुसेलममा १२५ वर्षअघि स्थापना गरिएको भनेर चिनाइएको बरकत ग्यालरी अहिले संस्थापकको पाँचौं पुस्ताले सञ्चालन गरिरहेको जनाइएको छ । प्राचीन र पुरातात्त्विक सम्पदाको संग्रह रहेको बरकतमा चिनियाँ, एसियाली, अफ्रिकी ४० हजारभन्दा बढी पुरातात्त्विक महत्त्वका कला संग्रहित छन् । यस ग्यालरीको हालका सञ्चालक फेइज बरकत छन् ।

प्रकाशित : मंसिर १५, २०७८ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?