कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

राप्रपा महाधिवेशन : अध्यक्षबाहेक पदमा विद्युतीय मतदान

तीन दिनसम्म चल्ने महाधिवेशनमा उद्घाटन सत्र सकिएलगत्तै बन्दसत्र, निर्वाचन प्रक्रिया बिहीबारदेखि 

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षबाहेक पदाधिकारी र केन्द्रीय सदस्यको निर्वाचन विद्युतीय मतदानबाट हुने भएको छ । अध्यक्षका लागि भने मतपत्रमै मतदानको व्यवस्था हुनेछ । राप्रपा र राप्रपा संयुक्तको दुई वर्षअघि एकता भएपछि बुधबारदेखि काठमाडौंमा एकता महाधिवेशन हुँदै छ । 

राप्रपा महाधिवेशन : अध्यक्षबाहेक पदमा विद्युतीय मतदान

वर्तमान अध्यक्ष कमल थापा र नेता राजेन्द्र लिङ्देनले अध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेका छन् । १ सय ९९ केन्द्रीय कार्यसमितिमध्ये १ सय ४९ जना निर्वाचनबाट चुनिने गरी विधान संशोधन गरी राप्रपाले निर्वाचन गराउन लागेको हो । ५० जना अध्यक्षले मनोनीत गर्न पाउनेछन् । अध्यक्षमा सर्वसम्मत गराउन पहल भए पनि अध्यक्षसहित दुई प्यानल नै निर्वाचनमा प्रतिस्पर्धा गर्न चाहेका छन् । लिङ्देनको समूहबाट महामन्त्रीमा धवलशमशेर राणाले उम्मेदवारी घोषणा गरिसके पनि थापा समूहबाट महामन्त्रीको उम्मेदवार घोषणा भएको छैन ।

महाधिवेशनबाट पदाधिकारीमा अध्यक्ष, एक महिलासहित तीन उपाध्यक्ष, एक महिलासहित तीन महामन्त्री चयन गर्ने गरी विधान संशोधन गर्न लागिएको छ । निर्वाचनबाट चुनिने १ सय ४९ पदाधिकारी र सदस्यमध्ये ३३ प्रतिशत अर्थात् ४९ जना महिला केन्द्रीय समितिमा रहनेछन् । महिलामा पनि दुई पदाधिकारी र ४७ जना सदस्य मतदानबाटै छानिने प्रस्ताव विधानमा राखिएको छ । ‘मतदान हुने स्थिति भएपछि सम्पूर्ण तयारी पूरा भएको छ,’ महाधिवेशन व्यवस्थापनमा खटिएका नेता ध्रुवबहादुर प्रधानले भने, ‘अध्यक्षको मतपत्रमा छाप लगाउनुपर्ने र अरूको विद्युतीय मतदान गर्ने व्यवस्था मिलाएका छौं ।’

एमालेको १० औं महाधिवेशनमा प्रयोग भएको विद्युतीय मेसिन नै प्रयोग गरिने उनले बताए । उनका अनुसार महाधिवेशन स्थल काठमाडौंको भृकुटीमण्डपमा सम्पूर्ण तयारी भइसकेको छ ।

महाधिवेशनमा ४ हजार ५ सय ६० प्रतिनिधिको सहभागिता रहनेछ । संघीय संरचनाअनुसार गाउँपालिका, नगरपालिका, जिल्ला, प्रदेशबाट छनोट भएका प्रतिनिधि महाधिवेशनमा आउनेछन् । ३ सय ३० प्रदेश निर्वाचन क्षेत्रबाट मात्रै २ हजार ९ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने प्रधानले जानकारी दिए । एउटा प्रदेश निर्वाचन क्षेत्रबाट कम्तीमा ९ जना प्रतिनिधि हुनेछन् । यसबाहेक गाउँपालिका, नगरपालिका, जिल्ला र प्रदेश अध्यक्षहरू पनि प्रतिनिधिको रूपमा आउनेछन् । तीन दिनसम्म चल्ने महाविधेशनको पहिलो दिन उद्घाटन सत्र सकिएलगत्तै बन्दसत्र गर्ने तालिका छ ।

निर्वाचनको प्रक्रिया भने बिहीबारबाट मात्रै सुरु हुनेछ । मतदाताको नामावली बुधबार नै महाधिवेशन स्थलमा टाँस्ने व्यवस्था मिलाइने महाधिवेशन व्यवस्थापन समितिले जनाएको छ । बन्दसत्रमा अध्यक्ष थापाले राजनीतिक, पशुपतिशमशेर जबराले सामाजिक र प्रकाशचन्द्र लोहनीले आर्थिक कार्यपत्र पेस गर्नेछन् ।

त्यस्तै विधान संशोधन सुझाव समितिका संयोजक नीरञ्जन थापाले कार्य सम्पादन समितिको बैठकबाट अनुमोदन गरिएको विधान संशोधनको मस्यौदा बन्द सत्रमा पेस गर्नेछन् । ‘पहिलो दिन विधान संशोधन गरेर बिहीबारदेखि निर्वाचनको प्रक्रिया सुरु हुन्छ,’ महाधिवेशन प्रचार समितिका संयोजक मोहन श्रेष्ठले भने । उद्घाटन सत्रमा प्रधानमन्त्री शेरबहादुर देउवाका साथै अन्य पार्टीका नेताहरू पनि आउने आयोजकले जनाएको छ ।

प्रकाशित : मंसिर १५, २०७८ ०७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?