१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

लोकतन्त्रवादीहरू राजसंस्थासँग तर्सनु पर्दैन : थापा

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाल देशी-विदेशी शक्तिहरूको रणनीतिक चलखेलको केन्द्र बन्न सक्ने खतरा रहेको बताएका छन् । उनले बाहृय शक्तिको चलखेलकै कारण नेपालको प्रजातान्त्रिक मूल्य मान्यता कमजोर बनेको र राज्यका अंगहरूको प्रभावकारितामा समेत ह्रास आउन लागेको बताए ।

लोकतन्त्रवादीहरू राजसंस्थासँग तर्सनु पर्दैन : थापा

राप्रपाको एकता महाधिवेशनमा बुधबार सम्बोधन गर्दै नेता थापाले भने, ‘मुलुक भ्रष्टाचारको दलदलमा भासिएको छ । यस्तो अवस्थामा नेपालको राष्ट्रियता र एकता हिजोको भन्दा अहिले बढी संकटपूर्ण छ भन्ने मेरो निष्कर्ष छ । बीपीले राष्ट्रिय मेलमिलापको नीति लिएर नेपाल फर्किएको स्मरण गर्दै म भन्न चाहन्छु, अहिले पनि देशलाई राष्ट्रिय मेलमिलापको आवश्यकता छ ।’

उनले अब राष्ट्रियता र प्रजातन्त्र एकै ठाउँमा रहेको परिस्थिति निर्माण गर्नुपर्ने बताए । नेता थापाले लोकतन्त्रवादीहरूलाई राजसंस्थासँग नतर्सिनसमेत आग्रह गरे । ‘लोकतन्त्रवादीहरू राजसंस्थासँग नतर्स । राजसंस्था पक्षधरहरू लोकतन्त्रबाट नडराऊ, नझस्क । अहिलेको आवश्यकता परिवर्तनकारी शक्ति र परिवर्तनकारी विचार, परम्परागत शक्ति र परम्परागत विचारको सामञ्जस्यता र समन्वय हो । राजा र जनताबीचको एकता, राष्ट्रिय र प्रजातन्त्रबीचको सामञ्जस्यता अहिलेको आवश्यकता हो । यो नै राष्ट्रिय सुरक्षा र अस्तित्वको ग्यारेन्टी हो,’ उनले भने ।

नेता थापाले ०६३ सालको परिवर्तनपछि देशलाई नयाँ बाटोमा देशलाई हिँडाउन खोजिए पनि उद्देश्यअनुरुप अघि बढ्न नसकेको बताए । उनले विगतका १५ वर्षका त्रुटिहरूको समीक्षा गर्दै धर्म निरपेक्षता, गणतन्त्र र संघीयता कार्यान्वयनका विषयमा पुनर्विचार गर्नुपर्ने बताए । ‘०६३ सालपछि मुलुकलाई नयाँ बाटोमा अघि बढाइयो । राजसंस्थालाई पाखा लगाइयो । नेपालको एकात्मक राज्य प्रणालीलाई ध्वस्त बनाइयो । त्यो राजनीतिक परिवर्तनको उद्देश्य देशमा शान्ति, सवल र समृद्ध निर्माण, प्रत्येक नेपाली जनताको अनुहारमा हाँसो र उज्यालो ल्याउने त्यो परिवर्तनको उद्देश्य बताइएको थियो, तर के उहाँहरूले जुन गन्तव्यमा लैजान भनेर देशलाई हिँडाउनुभएको थियो, जुन गन्तव्यमा जानका लागि हिन्दु राष्ट्रको पहिचान मासेर धर्म निरपेक्षताको व्यवस्था ल्याइयो, एकात्मक व्यवस्थालाई मासेर संघीयता लागू गरियो । त्यसको उद्देश्य प्राप्ति भएको छ त ?,’ थापाले प्रश्न गर्दै अघि भने, ‘त्यसैले विगतको १५ वर्षका त्रुटिहरूलाई सच्याउने तर्फ धर्मनिरपेक्षता, गणतन्त्र र संघीयताको कार्यान्वयनमा पुनर्विचार गर्न, सबै नेपाली अटाउने, नेपालको राष्ट्रियता सुदृढ हुने नेपाली संस्करणको विकास हुने मौलिक प्रजातन्त्रको विकास गर्नतर्फ ध्यान दिन देशका प्रमुख राजनीतिक दलहरूलाई गम्भीर हुन आग्रह गर्दछु ।’

उनले राप्रपाले सबै नेपाली अटाउने मौलिक प्रजातन्त्र स्थापना गर्न चाहेको बताए । ‘हामी राजादेखि विप्लवसम्म अटाउने मौलिक प्रजातन्त्र स्थापना गर्न चाहन्छौं । हामी ०६३ सालभन्दा अघिको अवस्थामा मुलुकलाई फर्काउन चाहेका छैनौं । अब हामी राजसंस्थासहितको प्रजातन्त्र, प्रतिगामी होइन, परिवर्तनकारी विचार, अग्रगामी र मध्यमार्गी विचार हो,’ उनले भने ।

प्रकाशित : मंसिर १५, २०७८ १५:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?