२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

नेपाल–भारत व्यावसायिक उडान अनिश्चित

ओमिक्रोनको जोखिम बढेपछि एयर बबल हटाउने निर्णयबाट भारत पछि हट्यो
राजेश मिश्र

नयाँदिल्ली — नेपाल र भारतबीच सीमित मात्रै उडान गर्ने गरी कायम ‘एयर बबल’ तत्काल नहट्ने भएको छ । दक्षिण अफ्रिकामा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिमका कारण भारत एयर बबल हटाउने आफ्नो पूर्वनिर्णयबाट पछि हटेको छ ।

नेपाल–भारत व्यावसायिक उडान अनिश्चित

कोभिड–१९ का कारण एक वर्षदेखि दुई देशका राष्ट्रिय ध्वजावाहक विमानले मात्रै निश्चित संख्यामा काठमाडौं–दिल्ली उडान गर्दै आएका छन् । निजी क्षेत्रका विमान कम्पनीहरुको व्यावसायिक उडानमा रोक लगाइएको छ । कोभिडको असर कम भएसँगै भारतले डिसेम्बर १५ (मंसिर २९) देखि एयर बबल हटाउने निर्णय गर्दै सबै विमान कम्पनीलाई व्यावसायिक उडानको तयारी गर्न अनुमति दिएको थियो । तर अनमुति दिएको एक साता नपुग्दै बुधबार अर्को सूचना नभएसम्मका लागि व्यावसायिक उडान गर्न नमिल्ने परिपत्र गरिएको छ । सीमित उडानका कारण हवाई मार्गबाट ओहोरदोहर गर्ने नेपाली र भारतीय नागरिक चर्को भाडा तिर्न बाध्य छन् ।

भारतीय सिभिल एभिएसनको महानिर्देशक कार्यालयले बुधबार जारी गरेको परिपत्रमा कोरोना भइरसको नयाँ भेरियन्टलाई लक्ष्य गरेर अघिल्लो निर्णयमा रोक लगाइएको उल्लेख छ । २६ नोभेम्बर (मंसिर १०) मा उक्त कार्यालयले व्यावसायिक उडानको तयारी गर्न पत्राचार गरेको थियो । नयाँ परिपत्रमा परिस्थितिको अध्ययन र मूल्यांकन गरेर मात्रै व्यावसायिक उडान खोल्नेबारे अर्को उपयुक्त निर्णय लिइने उल्लेख छ ।

दिल्ली विमानस्थलमा सतर्कता

कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट भेटिएका मुलुकबाट भारत आउने यात्रुले विमानस्थलमा पीसीआर परीक्षणपछि मात्रै गन्तव्यमा जान पाउने भएका छन् । नयाँ भेरियन्टलाई लिएर सतर्कता अपनाउँदै भारतीय स्वास्थ्य मन्त्रालयले सबै अन्तर्राष्ट्रिय विमानस्थलका लागि उक्त व्यवस्था गर्न निर्देशन जारी गरेको छ । दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबारबाट त्यसको अभ्यास थालिएको छ । संक्रमण भेटिएका र त्यसको जोखिम रहेका मुलुकबाट आएका यात्रुको स्वाब संकलन गरेर रिपोर्ट आएपछि मात्रै उनीहरुलाई एयरपोर्टबाट बाहिरिन दिने व्यवस्था मिलाइएको छ । त्यसका लागि विमानस्थलमा १ हजार ५ सय कुर्सी तथा आवश्यक संख्यामा स्वास्थ्यकर्मीको छुट्टै व्यवस्था मिलाइएको छ । नयाँ व्यवस्थाका कारण यात्रुले आरटी पीसीआर रिपोर्टको प्रतीक्षामा ४ देखि ६ घण्टा विमानस्थलमा बिताउनुपर्ने भएको छ । रिपोर्टका लागि तथा प्रतिक्षारत अवधिमा खानाको सुविधाका लागि विमानस्थलमा सम्बन्धित यात्रुले १ हजार ७ सय भारु शुल्क तिर्नुपर्नेछ । हवाई मार्गबाट भारत आउने यात्रुमध्ये कम्तीमा २ प्रतिशतले त्यस्तो प्रोटोकलको पालना गर्नुपर्ने हुन सक्छ ।


प्रकाशित : मंसिर १५, २०७८ २१:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?