कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८
कांग्रेस महाधिवेशन

जेठो पार्टीमा कान्छा अनुहार

महाधिवेशनबाट पार्टीको नीति र नेतृत्व चयन गर्न उल्लेख्य संख्यामा किशोर–युवा प्रतिनिधि निर्वाचित हुँदा कांग्रेस मात्र होइन, नेपाली राजनीतिमा उज्ज्वल संकेत देखिएको छ
प्रकाश धौलाकोटी

काठमाडौँ — सिन्धुपाल्चोक, मेलम्ची नगरकी १९ वर्षीया करिना पुरी कांग्रेसको महाधिवेशन प्रतिनिधि भइन्, प्रतिनिधिहरूबीच पनि सर्वाधिक मत ल्याएकी उनी पार्टीको महासमिति सदस्य बनेकी छन् । ‘राजनीतिमा युवा र महिला आउनुपर्छ भनिन्छ तर युवा आफैं अघि सरेका छैनन्, हामीले हस्तक्षेप सुरु गर्नुपर्छ भनेर अघि सरेकी हुँ,’ करिनाले कान्तिपुरसँग भनिन्, ‘परिवारको साथ र पार्टीको विश्वास पाएँ । राष्ट्रिय महाधिवेशनमा मेरो अमूल्य मत सदुपयोग गर्नेछु ।’

जेठो पार्टीमा कान्छा अनुहार

राजनीतिमा संयोगले जोडिएकी होइनन्, यो उनको प्रतिबद्धता हो । गाउँकै इन्द्रेश्वरी उच्च माविमा पढ्दा करिना नेविसंघको इकाई सभापति बनेकी थिइन् । राजनीति र अध्ययनलाई उनले समानान्तर अघि बढाएकी छन् । अहिले ललितपुरको सानेपास्थित नेसनल ल कलेजमा बीएएलएलबी पढ्दै गरेकी करिना कांग्रेसको केन्द्रीय प्रचार विभागअन्तर्गत महिला प्रचार नेटवर्ककी सदस्यसमेत हुन् ।

सिन्धुपाल्चोककी करिना पुरी ।

आफूजस्तै किशोर विद्यार्थी समेटिएको नेपाल विद्यार्थी युवा मञ्चकी अध्यक्ष उनले राजनीतिमा विद्यार्थी, महिला र युवा सहभागिताबारे छलफल र बहस गर्दै आएकी छन् । ‘आफू सक्रिय भएपछि राजनीतिक पार्टी र मुद्दाको पनि माया गर्नु हुँदोरहेछ । धेरैले यति कलिलैमा महाधिवेशन प्रतिनिधि बनेर के गर्छौं ? नउठ पनि भन्नुभयो । तर, हामी मौन बसेर पुराना पुस्ताको आलोचना गर्ने अधिकार कसरी पाइन्छ ? यही सोच्दै मैदानमा उत्रिएँ, सबैको साथ पाएँ,’ उनी भन्छिन्, ‘यो महाधिवेशन एउटा खुट्किलो हो, अब लामो समयसम्म राजनीति नै गर्ने सोच बनाएकी छु ।’

कपिलवस्तु कृष्णनगर निवासी १९ वर्षीया सूचना मिश्रा पनि महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी छन् । काठमाडौंको ट्रिनिटी इन्टरनेसनल कलेजमा ‘सोसल वर्क’ मा स्नातक पढ्दै गरेकी उनलाई राजनीतिमा गहिरो रुचि छ । ‘राजनीतिसँगै समाज सेवालाई अघि बढाउने योजनामा छु,’ उनले भनिन्, ‘सबैको साथ–सहयोगले महाधिवेशनमा भाग लिने मौका पाएँ ।’

कपिलवस्तुकी १९ वर्षीया सूचना मिश्रा ।

सूचनाका बुबाको निधन भइसकेको छ, आमा सरोजा गाउँकै विद्यालयमा पढाउँछिन् । उनलाई राजनीतिमा अघि बढाउने ६५ वर्षीय हजुरबुबा ब्रह्मानन्द उपाध्याय हुन्, जो कपिलवस्तु–३ का क्षेत्रीय सभापति बनेका छन् । ‘मतदाताको भावना बुझेर अघि बढें, पहिलो पटकमै जिम्मेवारी पाएँ, महाधिवेशनमा युवा नीति पारित गराएर युवाको एजेन्डा स्थापित गर्न पहल गर्छु,’ उनले भनिन् ।

सोलुखुम्बुको नेचा सल्यानकी २१ वर्षीया पूजा फुयाँल पनि महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी छन् । विद्यालय तहमै राजनीतिमा संगठित भएकी पूजा हाल नेविसंघ सोलुखुम्बुकी कोषाध्यक्ष हुन् । भक्तपुरको सानोठिमी क्याम्पसमा स्नातक चौथो वर्षमा अध्ययनरत उनी क्याम्पस स्ववियु सदस्यसमेत हुन् ।

सोलुखुम्बुको नेचा सल्यानकी २१ वर्षीया पूजा फुयाँल ।

हजुरबुबा लीलाराज फुयाँल गाविस अध्यक्ष थिए । बुबा भने शिक्षण पेसामा छन्, आमाको व्यवसाय छ । ‘बुबाले राजनीति गर्नुभएन, हजुरबुबाले राजनीति नै गरेका कारण मलाई केही सहज भए पनि मजस्तै अरू युवालाई जिम्मेवार पदमा आउन कठिनाइ छ,’ उनी भन्छिन्, ‘मलाई पनि तिम्रो उमेर छ, अर्को पटक गए पनि हुन्छ भनेर धेरैले भन्नुभयो । तर, अब वरिष्ठ नेताहरूलाई युवाको आवाज सुनाउनुपर्छ भनेर मैले बुझाउने कोसिस गरें, धेरैलाई बुझाउन सकें, खुसी छु ।’

उमेरले सानै भए पनि नेता–कार्यकर्ताले आफूलाई गरेको विश्वास नतोड्ने उनी बताउँछिन् । ‘धेरैले विश्वास गर्नुभएको छ, राष्ट्रिय महाधिवेशनमा सहभागी हुन पाउँदा उत्साहित छु, म अग्रजलाई सम्मान गर्दै समयानुकूल युवा सहभागिता बढाउनुपर्छ भनेर प्रयास गर्छु,’ उनी भन्छिन् ।

ओखलढुंगाका होमबहादुर विक ।

अछामको कमलबजारका २५ वर्षीय टेकबहादुर विक पनि महाधिवेशन प्रतिनिधि चयन भएका छन् । उनीसँग चार प्रतिस्पर्धी थिए । तर, विद्यार्थी राजनीतिमा उनको सक्रियता देखेर कार्यकर्ताले उनलाई रोजे । ‘सामाजिक क्षेत्रमै सक्रिय थिएँ, सबैसँग चिनजान र घुलमिल भइसकेको थिएँ,’ उनले भने, ‘त्यसैले मलाई सहज भयो ।’

दलिततर्फ महाधिवेशन प्रतिनिधि चुनिएका उनी दलित संघ अछामका सहसचिव हुन् । काठमाडौंको रत्नराज्य क्याम्पस इकाई समितिमा सहसचिव रहेका उनी दलित विद्यार्थी संघका केन्द्रीय महासचिवसमेत हुन् । ‘राजनीतिमा धेरै परिवर्तन भइसक्यो, तर नेतृत्वको अनुहार भने २०४६ सालदेखि एउटै छ,’ उनी भन्छन्, ‘अब त्यो अवस्था नफेरेसम्म हामीले हाम्रो जीवनकालमा परिवर्तन देख्न सक्दैनौं । अब त युवा अघि बढ्नैपर्छ ।’

***

करिना, सूचना, पुजा र टेकबहादुरले पहिलो पटक कांग्रेसको क्रियाशील सदस्यता पाएका हुन् । राजनीतिमा सक्रिय सबैभन्दा पुरानो पार्टीको नीति र नेतृत्व चयन गर्न उनीहरू जस्ता थुप्रै कान्छा प्रतिनिधि निर्वाचित भएका छन् । साढे सात दशक लामो इतिहासमा कांग्रेसले गर्न लागेको १४ औं महाधिवेशन नयाँ पुस्ताको प्रवेश उत्साहजनक । ‘एकै पटक धेरै क्रियाशील सदस्य थपिएका छन्, त्यसको प्रभाव प्रतिनिधि छनोटमा परेको छ, जसले गर्दा देशैभरिबाट युवा प्रतिनिधिहरूको संख्या पहिलेभन्दा धेरै बढेको छ,’ कांग्रेसको निर्वाचन समितिका सचिव अधिवक्ता जगन्नाथ श्रेष्ठले भने, ‘यकिन तथ्यांक केही दिनमा आइपुग्छ तर युवा प्रतिनिधिको संख्या धेरै छ ।’

पार्टीको नेतृत्वमा पुग्न ७० आसपासका नेताहरू दौडमा छन् । तर, यसपालि उल्लेख्य संख्यामा प्रतिनिधि भने किशोर र युवा उमेरका छन् । केन्द्रमा जस्तै तल्लो तहमा पनि पाका कार्यकर्ताहरूको प्रतिस्पर्धा थियो तर उनीहरूसँगै प्रतिस्पर्धा गरेर विश्वविद्यालयमा भर्खर भर्ना भएका युवाहरू महाधिवेशन प्रतिनिधि बनेका छन् ।

कांग्रेसले क्रियाशील सदस्यको संख्या ८ लाख ५१ हजार पुर्‍याएको छ । तीमध्ये १८ देखि ४० वर्ष उमेर समूहका युवाको संख्या ३० प्रतिशत अर्थात् २ लाख ३५ हजार छ । ती क्रियाशील सदस्यमध्येबाट चुनिएका करिब ४ हजार ५ सय महाधिवेशन प्रतिनिधि महाधिवेशनमा भाग लिँदै छन् । त्यस्ता प्रतिनिधिमध्ये ५० प्रतिशत नयाँ पुस्ताका रहेको प्रवक्ता विश्वप्रकाश शर्मा दाबी गर्छन् । ‘युवाको संख्या ठूलो छ,’ शर्माले भने, ‘प्रतिनिधिमध्ये ५० वर्षमुनि र माथिको उमेर समूहका प्रतिनिधिको संख्या लगभग बराबरी छ ।’

युवाको प्रतिनिधित्वलाई लिएर कांग्रेसको रूखमा नयाँ पालुवा पलाउन थालेको प्रतीकात्मक विश्लेषण गर्छन् शर्मा । ‘पार्टीमा नेतृत्व गर्न युवापंक्ति जुर्मुराएर अघि बढेको छ,’ उनले भने, ‘केवल १९ वर्षका बहिनीहरू पनि महाधिवेशन प्रतिनिधि चुनिएर आउनुभएको छ, यो कांग्रेसको रूखमा पलाएको नयाँ पालुवा नै हो ।’

कपिलवस्तुकी २८ वर्षीया सुशीला बेलवासे ।

आफूले नयाँ पुस्तालाई समेट्न किशोर सदस्यको अवधारणा नै अघि सारेको उनको भनाइ छ । ‘हामीले क्रियाशीलको संख्या दोब्बर बनायौं । त्यसमा युवा नै धेरै थपिए । यो भनेको नयाँ पुस्ताले कांग्रेसमा नवीन सम्भावना देखेका हुन्,’ उनले अघि भने, ‘कांग्रेसको जगमा युवाको उपस्थिति बलियो बनेको छ, अब यो महाधिवेशनले नेतृत्वमा पनि युवालाई स्थापित गर्छ । यो महाधिवेशनपछि कम्तीमा पदाधिकारीमा युवा नै धेरै देख्न पाउनुहुन्छ । जग युवामय बनेको छ, अब छानो पनि त्यस्तै बन्छ ।’

अर्का नेता गगन थापालाई भने योभन्दा पनि धेरै युवा प्रतिनिधि आउनुपर्थ्यो भन्ने लाग्छ । ‘युवा साथीहरू धेरै आए भन्ने समाचारले हामीलाई उत्साही बनाएको छ । त्यसैका आधारमा हामीले ठूलो संख्यामा युवाहरू आए भन्ने ठानिरहेका छौं । तर, मलाईचाहिँ योभन्दा धेरै संख्यामा युवा प्रतिनिधिहरू आउनुपर्ने थियो भन्ने लाग्छ,’ उनी भन्छन्, ‘जति आएको छ, यो पनि विगतको भन्दा त राम्रो हो । तर, राष्ट्रिय जनसंख्या जस्तो छ, जुन उमेर समूहका धेरै मतदाता छन्, त्यो हिसाबले चाहिँ धेरै नौजवान साथीहरूले महाधिवेशनमा भाग लिनुपर्ने थियो ।’ आगामी दिनमा युवा सक्रियता बढाउन थप काम गर्ने उनको भनाइ छ ।

अहिले युवाको संख्या बढ्नुमा प्रतिनिधिको संख्या बढ्नु पनि मुख्य कारण हो भन्ने थापाको भनाइ छ । ‘पहिले हामीले एउटा निर्वाचन क्षेत्रबाट १२ जनामात्रै प्रतिनिधि छान्थ्यौं । यो पटक एउटै क्षेत्रबाट २५ जना सहभागी हुँदै छन् । १२ मात्रै भएको भए, पुरानै साथीहरू आउनुहुन्थ्यो, नयाँलाई मौका हुने थिएन,’ थापा भन्छन्, ‘अर्कोचाहिँ हामीले क्रियाशील सदस्यता दोब्बर बनायौं, जसले गर्दा सदस्यमै युवाहरूको संख्या बढ्यो । त्यसले गर्दा प्रतिनिधिको संख्या पनि बढेको हो । राजनीतिमा सधैं पुरानो पुस्ता हावी भएकाले नयाँ पुस्ता विकर्षित हुने गरेको थापाको भनाइ छ । ‘राजनीतिको शीर्ष नेतृत्वमा २०४६ सालपछिका उनै अनुहार छन्, ३० वर्षभन्दा बढी उहाँहरूले चलाउनुभयो । सधैं एउटै अनुहार देखेका कारण राजनीतिप्रति पछिल्लो समय युवा पुस्ताको नकारात्मक सोच बढेको पाइन्छ । तर, अब यसरी हुँदैन भनेर नै हामीले पार्टीमा नेतृत्व परिवर्तनका लागि प्रयास गरिरहेका छौं । त्यसैले अब पढेका, राजनीति बुझेका युवाहरू राजनीतिमा आउनुपर्छ, ल्याउनुपर्छ,’ थापा भन्छन् ।

भर्खरै महाधिवेशन सकेको एमालेका नेता महेश बस्नेत राजनीतिमा युवाहरूको सक्रियतालाई सुखद मान्छन् । उनका अनुसार चितवन महाधिवेशनमा पनि ठूलो संख्यामा युवाको प्रतिनिधित्व थियो । ‘महाधिवेशनमा देशभरिबाट दुई हजार तीन सय प्रतिनिधि सहभागी भए । त्यसमध्ये करिब चार सयको संख्यामा युवा साथी सहभागी हुनुहुन्थ्यो । केन्द्रीय कमिटीमा पनि तुलनात्मक रूपमा विगतको भन्दा युवा, विद्यार्थी राजनीतिबाट आएका साथीहरूको संख्या बढेको छ ।’ एमाले अध्यक्ष केपी ओलीले बन्दसत्रमा नामहरू प्रस्ताव गरेका आधारमा प्रतिस्पर्धा हुँदा पनि नेतृत्वमा धेरै युवा आएको उनी बताउँछन् । ‘त्यसो नभएको भए संख्या अझै धेरै हुने थियो । जे होस्, अहिले पार्टीमा युवापंक्तिको सहभागिता बढ्दो छ,’ उनी भन्छन् ।

धनकुटाकी २१ वर्षीया करुणा कटुवाल ।

राजनीतिक विश्लेषक गेजा शर्मा वाग्ले कांग्रेस बूढो पुस्तामात्रै नेतृत्वमा हुँदा नेतृत्व विकास कसरी हुन्छ भन्ने प्रश्नलाई अहिले युवाको प्रतिनिधित्वले केही जवाफ दिएको बताउँछन् । ‘कुनै पनि लोकतान्त्रिक पार्टीमा युवा आकर्षित हुनु भनेको भोलि देशले सक्षम नेतृत्व पाउँछ भन्ने आधार हो । यस पटक युवाहरू प्रतिनिधि मात्र भएका छैनन्, केहीले केन्द्रमै उम्मेदवारी दिने घोषणासमेत गरिसकेका छन् । यसरी पार्टीको नेतृत्व र नीति निर्माण तहमा पुगे भने देश पनि जागरुक बन्छ,’ वाग्लेको भनाइ छ ।

युवा प्रतिनिधि

धनकुटा– करुणा कटुवाल (२१)

इलाम– सञ्जीव ढकाल (३०)

दुर्गा सुवेदी (२७)

प्रेमिका रानामगर (३०)

ओखलढुंगा– अर्चना लुइँटेल (२६)

होमबहादुर विक (२९)

खोटाङ– राकेश परियार (२२)

सोलुखुम्बु– गीता गुरुङ (२६)

फुर्किमा शेर्पा (२६)

पूजा फुयाँल (२१)

सिन्धुपाल्चोक– करिना पुरी (१९)

सिन्धुली– मुकेश घिमिरे (२८)

रामेछाप– कमला थापामगर (२६)

बाँके– कमला हमाल (२६)

कपिलवस्तु– सूचना मिश्रा (१९)

सुशीला बेलवासे (२८)

अर्घाखाँची– जम्शेर मियाँ (२८)

दाङ– अनुराग खड्का (२८)

ऋषिराज लहरे (२९)

प्यूठान– निशा योगी (२८)

गुल्मी– पार्वती कुँवर (२६)

पदम भट्टराई (३०)

कास्की– विद्या बराल (२५)

मुस्ताङ– योगेश गौचन थकाली (२८)

शान्ति गुरुङ (२९)

यनी गुरुङ (२६)

नवीन शेरचन (३०)

एडवेज गर्बुजा (२६)

विवेक पुन (२६)

विश्वास तुलाचन (३०)

स्याङ्जा– अनिता रुचाल (२४)

पर्वत– सिर्जना मल्ल (२७)

म्याग्दी– श्रीप्रसाद रोकामगर (३०)

पुनमकुमारी खोरजा (२८)

गोरखा– सुवास अधिकारी (२८)

परशुराम भट्ट (२६)

प्रतिमा भट्ट (२६)

बझाङ– सिर्जना स्नेही (२२)

बैतडी– लक्ष्मी शाह चन्द (२७)

कपिल केसी (२९)

अछाम– टेकबहादुर विक (२५)

तपेन्द्र खड्का (३०)

दैलेख– गणेश सिजापति २८)

पशुपति सुनार (२९)

करिस्मा सिँजाली मगर (२९)

पार्वती कटुवाल (२९)

मनसरा शर्मा (२६)

प्रकाशित : मंसिर १६, २०७८ ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?