कामु प्रधानन्यायाधीश नतोकिँदा सर्वोच्चमा अझै पेसी तोकिएन
काठमाडौँ — प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासम्बन्धी विवादले सर्वोच्च अदालतमा पेसी तोक्न पनि समस्या उत्पन्न भएको छ । बिहीबार १२ बजिसक्दासम्म पनि पेसी तोकिएको छैन ।
सामान्तया: साढे १० बजेसम्म पेसी तोकिँदै आएको छ । बिहीबार भने १२ बजेसम्म पेसी तोकिएको छैन । बुधबारदेखि गोला प्रणालीबाट पेसी तोक्न सुरु गरिए पनि इजलास बस्न सकेको थिएन । प्रधानन्यायाधीश जबरा कोरोना संक्रमण भएर अस्पताल भर्ना भएका छन् । तर, कायममुकायम प्रधानन्यायाधीश नतोकिँदा समस्या भएको हो ।
न्यायाधीशहरूले १२ बज्दासम्म पनि गोला नथुतेको सर्वोच्च अदालत स्रोतले जानकारी दिएको छ । न्यायाधीशहरू अहिले छलफलमा रहेका छन् ।
प्रधानन्यायाधीशको विषयमा छलफल गर्नका लागि नेपाल बार एसोसिएसनका अध्यक्ष वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ र सर्वोच्च अदालत बार एसोसिएनका अध्यक्ष वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले न्यायाधीशहरूलाई भेटेका थिए ।
'प्रधानन्यायाधीशविहीनताको अवस्था संविधानले परिकल्पना गरेको छैन । एकैसाथ दुई प्रधानन्यायाधीश पनि परिकल्पना गरेको छैन । संविधानको धारा १२९ को व्यवस्थाअनुसार प्रधानन्यायाधीश अशक्त भएर अनुपस्थित भइसकेपछि वरिष्ठतम् न्यायाधीशले स्वतः कामु प्रधानन्यायाधीश लिने संविधानको जिम्मेवारी हो । तपाईले पालन गर्नुपर्यो भन्यौं,' बारको तर्फबाट श्रेष्ठ र शाक्यले भनेका थिए ।
जवाफमा न्यायाधीशहरूले प्रधानन्यायाधीश जबरा बिरामी भई अस्पताल भर्ना भएको जानकारी सर्वोच्च अदालतलाई थाहा नभएको भनेका थिए । 'प्रधानन्यायाधीश जबरा बिरामी भएर विदा बसेको, अस्पताल भर्ना भएको कुरा सर्वोच्च अदालतलाई औपचारिक जानकारी दिनुभएको छैन,' न्यायाधीशहरूले बारका अध्यक्षहरूलाई भनेका थिए ।
सर्वोच्च अदालतमा गोला प्रणालीबाट पेसी तोक्न सुरु भए पनि प्रधानन्यायाधीशको विवाद बढेसँगै सत्तारुढ गठबन्धनले बिहीबार बिहान विदामा बस्न सुझाव दिएको थियो ।
प्रकाशित : मंसिर १६, २०७८ १२:३२