१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

पूर्वआईजीपीसहित २१ जनाको अनुसन्धान तामेलीमा

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको कसुरमा अनुसन्धानमा तानिएका सशस्त्र प्रहरी बल (एपीएफ) का तत्कालीन महानिरीक्षक (आईजीपी) कोषराज वन्त र कर फर्स्योट आयोगका पूर्वअध्यक्ष लुम्बध्वज महतसहित २१ जनाको मुद्दा तामेलीमा राखेको छ ।

पूर्वआईजीपीसहित २१ जनाको अनुसन्धान तामेलीमा

सार्वजनिक पदमा बसेर सरकारी सम्पत्ति दोहन तथा गैरकानुनी सम्पत्ति आर्जन गर्नेमाथि अख्तियार ‘नरम’ बन्ने गरेको आरोप लागिरहेका बेला दुई ‘हाइप्रोफाइल’ सहित २१ बहालवाला तथा पूर्वकर्मचारीको अनुसन्धान फाइल तामेलीमा राखिएको हो ।

प्रमुख आयुक्तबाट अवकाश पाउनु एक महिनाअघि नवीनकुमार घिमिरेको अध्यक्षतामा बसेको आयोगको पूर्ण बैठकले पूर्वआईजीपी वन्तविरुद्धको अनुसन्धान तामेलीमा राखेको हो । प्रमुख आयुक्त घिमिरेले २०७७ भदौ २९ मा अख्तियारबाट अवकाश पाएका थिए । अवकाशको एक महिनाअघि साउन ५ मा घिमिरेको अध्यक्षतामा बसेको आयोगको पूर्ण बैठकले वन्तविरुद्धको फाइल तामेलीमा राखेको हो ।

प्रमुख आयुक्त घिमिरेले अवकाश पाउनु केही दिनअघि अन्य तीन जनाको अनुसन्धान पनि तामेलीमा राखेको पाइएको छ । भदौ २३ मा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय गुल्मीका इन्जिनियर निश्चल काफ्ले, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा कार्यरत सिनियर डिभिजन इन्जिनियर दीपक केसी र भदौ २५ मा राष्ट्रिय योजना आयोगमा कार्यरत शाखा अधिकृत लोकराज बोहराविरुद्धको अकुत सम्पत्ति आर्जनसम्बन्धी अनुसन्धान फाइल पनि तामेलीमा राखिएको हो ।

यसैगरी कर फर्स्योट आयोग–२०७१ का अध्यक्ष महतविरुद्धको अकुत सम्पत्तिसम्बन्धी अनुसन्धान फाइल तामेलीमा राखिएको छ । घिमिरेले अवकाश पाएको करिब चार महिनापछि कार्यवाहक प्रमुख आयुक्त गणेशराज जोशीको अध्यक्षतामा बसेको बैठकले महतविरुद्धको अकुत सम्पत्ति आर्जनसम्बन्धी फाइल २०७७ पुस २३ को निर्णयबाट तामेलीमा राखिएको अख्तियारले जनाएको छ ।

अख्तियारका अनुसार जिल्ला आयोजना कार्यान्वयन इकाई गोरखाका इन्जिनियर रामशरण आचार्य, राजस्व अनुसन्धान विभागका तत्कालीन शाखा अधिकृत मनोजकुमार गौतम, जिल्ला वन कार्यालय बाजुराका तत्कालीन अधिकृत धनीचन्द्र ठकुरी, काठमाडौं महानगरपालिकाका उपनिर्देशक साधुराम भट्टराई र धर्म मुनिकार, राजस्व अनुसन्धान विभागका निर्देशक खिमबहादुर कुँवर र नासु रामकृष्ण तिवारी, पूर्वाञ्चल क्षेत्रीय सडक निर्देशनालय दमकका प्रमुख दीपककुमार भट्टराई, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका भन्सार अधिकृत केशवराज ओलीविरुद्धको फाइल तामेलीमा राखिएको हो ।

यसैगरी अख्तियारले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका उपसचिव कपिलप्रसाद सुवेदी, रसुवा भन्सार कार्यालयका नासु भूपेन्द्रराज मैनाली, मध्यपहाडी लोकमार्गका सिनियर डिभिजन इन्जिनियर सूर्यबहादुर भाट, सडक विभागका सुपरिन्टेन्डेन्ट इन्जिनियर सुशीलबाबु ढकाल, पश्चिमाञ्चल क्षेत्रीय सडक निर्देशनालयका तत्कालीन क्षेत्रीय निर्देशक उत्तमलाल प्रधानविरुद्धको फाइल पनि तामेलीमा राखिएको छ ।

प्रेमकुमार राई अख्तियारको प्रमुख आयुक्तमा आएपछि दक्षिण कोरियाका लागि तत्कालीन नेपाली राजदूत स्वर्गीय कमानसिंह लामा र अर्थ मन्त्रालयका उपसचिव डिलबहादुर क्षत्रीविरुद्धको फाइल पनि तामेलीमा राखिएको छ ।

प्रकाशित : मंसिर १७, २०७८ ०८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?