१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

इच्छाराज तामाङसहित ४२ जनाविरुद्ध ठगी र संगठित अपराध मुद्दा

ठगीमा अधिकतम पाँच वर्ष कैद, बिगोबमोजिमको जरिवाना र पीडितलाई ठगिएको रकम भराउने मागदाबी, संगठित अपराध पनि ठहर भए थप ५० प्रतिशत कैद तथा जरिवाना हुने 

काठमाडौँ — सर्वसाधारणले जम्मा गरेको रकम ठगी गरेको आरोप लागेका सिभिल बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष इच्छाराज तामाङसहित ४२ जनाविरुद्ध मुद्दा दायर भएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धानपछि जिल्ला सरकारी वकिलको कार्यालयले शुक्रबार जिल्ला अदालत काठमाडौंमा उनीहरूविरुद्ध ५ अर्ब ७७ करोड ८० लाख ९० हजार ९०२ रुपैयाँ बिगोसहित ठगी र संगठित अपराधमा मुद्दा दायर गरेको हो ।

इच्छाराज तामाङसहित ४२ जनाविरुद्ध ठगी र संगठित अपराध मुद्दा

सीआईबीले तामाङलाई गत असोज १८ मा पक्राउ गरेर ठगी मुद्दामा अनुसन्धान गरेको थियो । पछि संगठित अपराधमा समेत थप अनुसन्धान गरेको हो । अरू ११ जना पनि पक्राउ परेका थिए । सिभिल सहकारीका बचतकर्ताले बचत र त्यसको ब्याज नपाएपछि प्रहरीसमक्ष उजुरी दिएका थिए । सीआईबीसमक्ष हालसम्म २ सय १ वटा उजुरी परेका छन् । सिभिल सहकारीबाट ठगिनेको संख्या एक हजार पाँच सय २० देखिएको छ ।

अदालतमा दायर मुद्दामा सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठ, सिभिल होम्सका व्यवस्थापक विजयविक्रम शाही, सञ्चालक समिति पूर्वसदस्य हरिहरप्रसाद लामिछाने र सहायक व्यवस्थापक शंकरप्रसाद पाठकलाई समेत प्रतिवादी बनाइएको हो । त्यस्तै तामाङका दुई छोरी प्रतीक्षा र प्रतिष्ठाविरुद्ध पनि मुद्दा चलाइएको छ । मुद्दा चलाइएका अन्य व्यक्तिमा बुद्धराज तामाङ, कौस्तुभ केतन दुंगाना, एलिना तुलाधर, मायोनानी महर्जन, राकेश महर्जन, संगित श्रेष्ठ, भगवानबहादुर सिंह, सिर्जना शाक्य र प्रकाशकुमार वर्मा छन् । हरिप्रसाद रिसाल, प्रवीण मुखिया, दानहिरा तुलाधर, केशवकुमार अमात्य, खेमनाथ डल्लाकोटी, इन्द्रराज हुमागाई र कृष्णप्रसाद श्रेष्ठलाई पनि मुद्दा चलाइएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालयका अनुसार मुकुन्दप्रसाद नेउपाने, प्रवीणप्रसाद प्रधान, अष्टरत्न तुलाधर, सुमन नन्दन वैद्य र रामकृष्ण पौडेललाई पनि मुद्दा दायर गरिएको छ । जयन्द्रलाल श्रेष्ठ, दुर्गाप्रसाद संगीला, अन्नपूर्ण खनाल, नगेन्द्र विमली, रामराज मास्के, जीवनराज बज्राचार्य र रन्जना महर्जन, सुवासकुमार श्रेष्ठ, कान्तिलक्ष्मी उपाध्याय, लालकाजी गुरुङ, मीना गुरुङ, नारायणलाल श्रेष्ठ, सुमन श्रेष्ठ र गोपालबहादुर श्रेष्ठलाई पनि प्रतिवादी बनाएर मुद्दा दर्ता गरिएको छ । सञ्चालक समिति सदस्य रहेका गोपालबहादुरको २०७६ वैशाख २८ मा मृत्यु भइसकेको छ ।

काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख गंगाप्रसाद पौडेलका अनुसार अभियोगपत्रमा ठगी अपराधतर्फ तामाङसहितलाई अधिकतम पाँच वर्ष कैद, बिगोबमोजिमको जरिवाना र पीडितलाई ठगिएको रकम भराउने मागदाबी गरिएको छ । संगठित अपराध पनि ठहर भए उनीहरूमाथि थप ५० प्रतिशत कैद तथा जरिवाना हुनेछ । ज्येष्ठ नागरिकमाथि ठगी गरेको भन्दै त्यसमा समेत थप सजाय माग गरिएको छ ।

तामाङले २०५५ मा सिभिल सहकारी खोलेर अध्यक्ष बनेका थिए । त्यहीबीचमा उनले सिभिल ग्रुपमार्फत हाउजिङ र जग्गा कारोबारमा हात हालेका थिए । उनले आफ्नै सहकारीमार्फत ऋण लिएका थिए । धितो राखेकै जग्गामा कानुनविपरीत घर बनाएर बेचेको आरोप पनि उनीमाथि छ । सिभिल सहकारीबाटै ऋण लिएर सिभिल होम्सअन्तर्गत करिब १ हजार १ सय घर बनाएर बेचेको तर सहकारीको ऋण तिर्न नमानेको आरोप छ । २०६७ मा सिभिल बैंक स्थापना भएपछि उनी त्यसको अध्यक्ष बनेका थिए ।

प्रकाशित : मंसिर १७, २०७८ १८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?