१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

प्रहरी बढुवामा तक्माको अंक कटौती

२० हजार प्रहरीलाई बढुवाको अवसर, अवकाशअघि डीएसपीको स्वतः बढुवा
मातृका दाहाल

काठमाडौँ — नेपाल प्रहरीमा अब कर्मचारी बढुवाका लागि तक्माको मूल्यांकन नहुने भएको छ । सरकारले ‘प्रहरी नियमावली २०७१’ संशोधन गर्दै बढुवा हुँदा विभूषणबापत पाउने २ नम्बर कटौती गरेको हो । नयाँ नियममा बढुवाका प्रतिस्पर्धीमध्ये वरीयताक्रममा अगाडि रहेका उम्मेदवारलाई २ नम्बर स्वतः दिने व्यवस्था गरिएको छ ।

प्रहरी बढुवामा तक्माको अंक कटौती

यसअघि बढुवामा नम्बर जोडिने भएकाले तक्मा पाउन प्रहरी कर्मचारीमा शक्तिकेन्द्र धाउने चलन थियो । प्रहरी प्रधान कार्यालयको सिफारिसमा नपरे पनि सत्ता र शक्तिसँग पहुँच भएका प्रहरी कर्मचारीले हरेक वर्ष विभूषण पाउने गरेका थिए । संगठनको नीति र सिफारिसविपरीत कर्मचारीले विभूषण पाउन फौजको ‘चेन अफ कमान्ड’ लाई समेत चुनौती दिन थालेको र यसबाट बढुवाका ज्येष्ठ सदस्यलाई समेत मर्का परेको निष्कर्ष निकाल्दै प्रहरी प्रधान कार्यालयले बढुवा मूल्यांकनमा विभूषणबापत पाउने नम्बर कटौतीको प्रस्ताव गरेको थियो ।

केही दिनअघि बसेको मन्त्रिपरिषद् बैठकले विभूषणबाट पाउने नम्बर कटौती गर्दै त्यो अंक वरीयताक्रममा अगाडि रहेका ज्येष्ठ सदस्यलाई थपिने व्यवस्था गरेको हो ।

सरकारले हरेक वर्ष संविधान दिवसमा प्रहरीसहित विभिन्न क्षेत्रमा योगदान पुर्‍याउनेलाई विभूषण घोषणा गरी वैशाख १ गते प्रदान गर्ने गरेको छ । एक पटक पाएको विभूषणअन्तर्गत एक पटकको बढुवाका लागि २ नम्बर जोडिन्छ । वरीयताक्रममा अगाडि रहेका प्रहरी कर्मचारीले बढुवा हुँदा ज्येष्ठ सदस्यबापत अधिकतम २० नम्बर पाउने प्रावधान छ ।

प्रहरी प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) वसन्तबहादुर कुँवरले प्रहरी नियमावलीको नवौं संशोधनमार्फत बढुवाका क्रममा विभूषणबापत उम्मेदवारले पाउने २ नम्बर कटौती गरेर बढुवाका दाबेदार ज्येष्ठ सदस्यलाई थपिने प्रावधान समेटिएको बताए । ‘विभूषणको अंक कटौतीले संगठनबाट सिफारिस भएर गएको बाहेक गलत परिपाटीबाट विभूषण पाउने प्रवृत्ति अन्त्य गर्न र फौजमा चेन अफ कमान्ड कायम गरिराख्न मद्दत पुग्छ,’ उनले भने ।

प्रहरी नियमावली २०७१ को नवौं संशोधनमार्फत मन्त्रिपरिषद् बैठकले प्रहरीमा ७ पद थप गरेको छ । प्रहरी कार्यालय सहयोगीका ४ र जवानदेखि नायव निरीक्षकसम्म ३ वटा थप पद सिर्जना गरिएका हुन् । प्रहरी सेवा प्रवेश गरेका कार्यालय सहयोगी जुन पदमा प्रवेश गरेका हुन्, त्यही पदबाट अवकाशमा जानुपर्ने प्रावधान रहेकामा संशोधित नियमले वरीयताअनुसार श्रेणी विभाजन गरी प्रथमदेखि पञ्चमसम्म हुने व्यवस्था गरेको छ ।

अब कार्यालय सहयोगीमा सेवा प्रवेश गरेका प्रहरी कर्मचारी अनिवार्य अवकाशसम्ममा निजामती सेवाको ‘सुब्बा’ तहसम्म बढुवा हुन सक्नेछन् । यसैगरी सिपाहीदेखि नायब निरीक्षकसम्म चारवटा पद मात्रै भएकामा सहायक हवलदार, वरिष्ठ हवलदार र वरिष्ठ सईका दर्ज्यानी चिह्नसहित तीनवटा पद थप गरिएका छन् । अहिले सईको दर्ज्यानीमा २ वटा तारा रहेकामा अव तीनवटा तारा हुने छन् । यस्तै हवलदारको दर्ज्यानीमा ‘एल’ आकारका तीन वटा संकेत रहेकामा अब वरिष्ठ हवलदारमा अहिलेको संकेतमा एउटा ठाडो धर्को थपिनेछ भने सहायक हवलदारको दर्ज्यानीमा एल आकारका दुईवटा धर्का रहने छन् ।

नयाँ दर्जा सिर्जनाले सरकारलाई आर्थिक दायित्व थपिदिएको छ । तर, प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले माथिल्लो तहमा पद खाली नहुँदा एउटै दर्जामा लामो समयसम्म बस्नुपर्ने अवस्था अन्त्य भएको बताए । ‘कार्यालय सहयोगीदेखि नायव निरीक्षकसम्म ५ वटा पद रहेकामा संशोधत नियमावलीमा थप ७ वटा नयाँ पद सिर्जना गरिएका हुन्,’ उनले भने, ‘यसबाहेक सिपाही र हवलदारको बीचमा सहायक हवलदार, हवलदार र सहायक निरीक्षक (असई) को बीचमा वरिष्ठ हवलदार, सई र निरीक्षक (इन्स्पेक्टर)का बीचमा वरिष्ठ सई हुनेछन् ।’ नयाँ पद सिर्जनापछि बढुवामा कुनै असर नपर्ने र माथिल्लो तहमा पद खाली हुँदा वरीयताक्रममा अघि रहेकाले स्वतः रिक्त पदमा बढुवाको अवसर पाउने उनले बताए । ‘माथिल्लो पदमा दरबन्दी रिक्त हुनेबित्तिकै आन्तरिक (कार्यरत) बाट ४० प्रतिशत बढुवा हुन्छ, यसले कसैलाई पनि असर पुग्दैन, बरु एउटै तहमा बस्नुपर्ने अवस्था अन्त्य भएको छ,’ उनले भने ।

२० हजार प्रहरीलाई बढुवाको अवसर

नियमावली संशोधन भएसँगै थप गरिएका विभिन्न पदमा करिब २० हजार जनाको बढुवा गर्न बाटो खुलेको छ । गृह मन्त्रालयका अनुसार संशोधित नियमावलीमा कार्यरत जवानमध्ये ३३ प्रतिशतसम्मलाई सहायक हवलदारमा बढुवा गर्न सकिने व्यवस्था गरिएको छ । त्यस्तै हवलदारबाट वरिष्ठ हवलदारमा २५ प्रतिशत र प्रहरी नायव निरीक्षकबाट प्रहरी वरिष्ठ नायव निरीक्षकबाट ३३ प्रतिशत बढुवा गर्न सकिने व्यवस्था ल्याइएको छ ।

नयाँ व्यवस्थाअनुसार बढुवाका लागि आन्तरिक तयारी अघि बढाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

पछिल्लो तथ्यांक अनुसार प्रहरीमा कार्यालय सहयोगीदेखि महानिरीक्षकसम्म कार्यरत संख्या करिब ७० हजार छ । त्यसमध्ये जवानमा ४६ हजार २ सय १९ र हवलदारमा १४ हजार छन् । जवान ३३ प्रतिशत बढुवा हुँदा १५ हजार ४ सय ६ जनाले सहायक हवल्दारमा अवसर पाउनेछन् । २५ प्रतिशत हवलदार वरिष्ठ हवलदारमा बढुवा भए ३ हजार ७ सय ४७ जना र ३३ प्रतिशत सई वरिष्ठ सईमा बढुवा भए १ हजार ७४ जनाले अवसर पाउनेछन् ।

अवकाशअघि डीएसपीको स्वतः बढुवा

प्रहरी नियमावली संशोधन गर्दै सरकारले अनिवार्य अवकाशमा जाने अवस्था आए प्रहरी नायब उपरीक्षक (डीएसपी) सम्मलाई एक महिना अगावै स्वतः एक तह बढुवा दिने व्यवस्था गरिएको छ । यसअघि एउटै पदमा १२ वर्षसम्म बसेर अनिवार्य अवकाशमा जाने स्थिति रहे डीएसपी तहसम्मका कर्मचारीलाई एक तह मानार्थ बढुवा दिने व्यवस्था थियो । त्यसमा संशोधन गर्दै सरकारले अब एउटै पदमा ८ वर्ष काम गरेर अनिवार्य अवकाशमा जानुपर्ने स्थिति आए एक महिना अगावै एक तह माथिको बढुवा दिइने व्यवस्था गरिएको हो ।

प्रहरी प्रधान कार्यालयले सबै प्रहरी कर्मचारीले १६ वर्ष सेवा गरेपछि पेन्सन पाउने व्यवस्था गर्न राखेको प्रस्ताव भने गृह मन्त्रालयबाट रोकिएको छ । अर्थ मन्त्रालयले आर्थिक दायित्व बढ्ने भन्दै २० वर्ष अवधि पूरा गरेपछि मात्रै पेन्सन पाक्ने प्रावधानलाई नै निरन्तरता दिएको हो । २०६० अघि भने जवान र हवलदारले १६ वर्ष, असई र सईले १८ वर्ष तथा प्रहरी निरीक्षक र त्यस माथिका कर्मचारीले २० वर्ष सेवा पूरा गरे पेन्सन पाउने प्रावधान थियो । तर, २०६० सालमा प्रहरी नियमावली संशोधन गर्दै त्यसपछि सेवा प्रवेश गरेका सबै दर्जाका कर्मचारीले २० वर्ष अवधि पूरा गरे मात्रै पेन्सनमा जाने प्रावधान ल्याइएको थियो ।

प्रकाशित : मंसिर १८, २०७८ ०६:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?