१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

जवाद चक्रवातको असर नेपालमा पनि

काठमाडौँ — बंगालको खाडीमा उत्पन्न भएको जवाद नामको सामुद्रिक चक्रवातको असर नेपालमा पनि पर्ने विज्ञहरूले बताएका छन् । जल तथा मौसम विज्ञान विभागका अनुसार सो चक्रवात शनिबार बिहान ओडिसाको तटीय क्षेत्रमा पुग्ने र त्यसपछि उत्तर पूर्वतर्फ सर्ने देखिएको छ।

जवाद चक्रवातको असर नेपालमा पनि

उक्त चक्रवातका कारण नेपालमा शनिबार रातिबाट प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बदली भई ती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागहरूका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यस्तै ती प्रदेशका एक-दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको बताइएको छ। तर आगामी सोमबारबाट क्रमशः यो प्रणालीको प्रभाव नेपालमा कम हुँदै जाने पनि विभागले जनाएको छ ।

यस्तै भोलि आइतबारबाट फेरि अर्को पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव देशमा पर्नसक्ने सम्भावना देखिएको छ। सो पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आइतबार देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली भई केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र सो प्रदेशहरूको उच्च पहाडी तथा हिमाली भू-भागहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।

उक्त प्रभावले सोमबार भने देशभर प्रभाव पारी केही स्थानमा हल्कादेखि मध्यम वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागहरूमा हल्कादेखि मध्यम हिमपात हुनसक्ने बताइएको छ ।

आइतबार राति र सोमबार दिउँसो उक्त प्रणालीका कारण सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानहरूमा भारी हिमपातको समेत सम्भावना रहेको छ। सो प्रणाली सोमबार रातिबाट कमजोर बन्दै जाने सम्भावना रहेको विभागको मौसम पूर्वानुमान महाशाखाको बुलेटिनमा उल्लेख छ।

प्रकाशित : मंसिर १८, २०७८ १०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?