२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०
कांग्रेस महाधिवेशन

कांग्रेस प्रदेशमा प्यानलै प्रतिस्पर्धा

कर्णालीमा निधि र वाग्मतीमा सिटौला समूहको उम्मेदवारी
कलेन्द्र सेजुवाल

काठमाडौँ — कांग्रेसको प्रदेश तहको निर्वाचनमा संस्थापनबाहेक समूह एक ढिक्का भएको छ भने शेरबहादुर देउवा (संस्थापन) र कृष्णप्रसाद सिटौला समूहबीच समीकरण बनेको छ । प्रदेश तहको निर्वाचनले एक सातापछि हुने महाधिवेशनको समीकरणमा समेत प्रभाव गर्ने देखिएको छ ।

कांग्रेस प्रदेशमा प्यानलै प्रतिस्पर्धा

संस्थापनइतर समूहभित्र रामचन्द्र पौडेल, प्रकाशमान सिंह र कोइराला (शेखर–शशांक) का आ–आफ्नै उपसमूह छन् । केन्द्रको सभापतिमा उम्मेदवारी घोषणा गरेका चार नेताबीच आपसमा मेल नहुँदा त्यसको प्रभाव प्रदेश तहमा पर्ने अनुमान थियो ।

पहिलोपटक हुन लागेको प्रदेश अधिवेशनमार्फत आफूनिकटलाई नेतृत्वमा स्थापित गर्न नेताहरूबीच निकै रस्साकसी भए पनि निर्वाचन प्रक्रिया अघि बढेका ६ वटै प्रदेशमा शुक्रबार साझा उम्मेदवार तय भएका छन् । उक्त समूहमा साझा उम्मेदवार बन्नका लागि सबैभन्दा बढी प्रतिस्पर्धा वाग्मती र गण्डकी प्रदेशमा थियो । वाग्मतीमा राजुराज जोशी, जगदीशनरसिंह केसी र मधु आचार्यबीच प्रमुख प्रतिस्पर्धा थियो । जोशीलाई सिंह र आचार्यलाई पौडेलले सभापति उम्मेदवार बनाउन खोजेका थिए । तर नेता अर्जुननरसिंह केसीको जोडबलमा नुवाकोटका पूर्वसभापति उनका भाइ जगदीशनरसिंहले उम्मेदवार हुने मौका पाए । उनलाई साझा उम्मेदवार बनाउन युवा नेता गगन थापाले पनि भूमिका खेलेका थिए ।

पौडेलको गृहप्रदेश गण्डकीमा उनको समूहका शुक्रराज शर्मा, देवराज चालिसे, रघुनाथ पौडेल र यज्ञबहादुर थापाले उम्मेदवारी घोषणा गर्दै प्रचारप्रसार थालेका थिए । पौडेल र महामन्त्री कोइरालाबीच शर्मालाई उम्मेदवार बनाउने सहमति भएपछि अन्य आकांक्षीको दौड सकिएको छ । गण्डकीमा संस्थापन समूहबाट अर्जुनप्रसाद जोशी र संस्थापनबाहेक समूहबाट शर्माको प्यानल बनेको छ ।

प्रदेश १ मा केन्द्रीय सदस्य शेखर कोइरालानिकट गुरुराज घिमिरे र राजीव कोइराला प्रमुख प्रतिस्पर्धी थिए । बिहीबार राति घिमिरेका नाममा सहमति जुटेको छ । त्यहाँ संस्थापन समूह र सिटौला समूहबाट झापाका पूर्वसभापति उद्धव थापा साझा उम्मेदवार बनेका छन् । प्रदेश १ मा दुई समूहबीच कडा टक्कर भए पनि देउवा समूहमा रहेका प्रवक्ता विश्वप्रकाश शर्माले थापालाई सहयोग गर्ने अवस्था छैन । झापामा सिटौला र शर्माबीच १२ औं महाधिवेशनदेखि तिक्ततापूर्ण प्रतिस्पर्धा चल्दै आएको छ । करिब एक साताअघि सम्पन्न जिल्ला निर्वाचनमा पनि सिटौला र शर्मा समूहबीच प्रतिस्पर्धा भएको थियो । ‘अहिलेको अवस्थामा हामीले थापालाई सहयोग गर्ने सम्भावना निकै न्यून छ,’ शर्मानिकट एक नेताले भने, ‘तर राजनीतिमा कतिबेला के हुन्छ भन्न सकिँदैन, भोलि (शनिबार) बिहानसम्म जे पनि हुन सक्छ ।’ प्रदेश निर्वाचनमा शर्माको मौनताले करिब एक सय मत प्रभावित हुने उनले बताए । प्रदेश राजधानी विराटनगरमा चुनावी सरगर्मी बढे पनि शर्मा शुक्रबारसम्म काठमाडौंमै छन् ।

देउवा–सिटौला समूहबीचको समीकरण वाग्मतीमा पनि संकटमा परेको छ । प्रदेश १ मा सिटौला र वाग्मतीमा देउवा समूहलाई नेतृत्व दिने सहमतिअनुसार इन्द्रबहादुर बानियाँले प्यानलसहित उम्मेदवारी दिए पनि सिटौला समूहका भीमसेनदास प्रधानले सभापतिमा उम्मेदवारी दिएका छन् । प्रधाननिकट नेता श्यामकृष्ण खड्गीले नेताद्वय देउवा र सिटौलाबीच पाँचवटा प्रदेशमा देउवा समूह र दुईवटा (प्रदेश १ र वाग्मती) प्रदेशमा सिटौला समूहलाई नेतृत्व दिने ‘भद्र’ सहमति भएको बताए ।

‘त्यहीअनुसार वाग्मतीमा पनि भीमसेनदास दाइले उम्मेदवारी दिनुभएको हो,’ उनले भने, ‘तर अहिले बानियाँजीले उम्मेदवारी दिएपछि समस्या भएको छ ।’ देउवानिकट एक नेताले भने सिटौलालाई प्रदेश १ दिने सहमति भएको बताए । देउवा–सिटौला समूहबाट दुई जना उम्मेदवार भएपछि केसीले पहिलो चरणमै जित्ने आकलन गर्दै देउवाले प्रधानलाई केन्द्रीय सदस्यमा लिने गरी बसाल्ने प्रयास गरिरहेका उनीनिकट एक नेताले बताए ।

कर्णालीमा विमलेन्द्र निधि समूहका नाममा कालीकोटका मोतीराज बमले सभापतिमा उम्मेदवारी दिएका छन् । संस्थापन समूहमा रहेका उनले दसैंअघि सम्पन्न जिल्ला निर्वाचनपछि देउवाको साथ छाडेका थिए । जिल्ला सभापतिमा दाबी गरे पनि देउवा समूहकै समर्थनमा संस्थापनबाहेकका अम्मबहादुर शाही निर्विरोध निर्वाचित भएपछि उनी निधिको पक्षमा खुलेका हुन् । कर्णालीमा संस्थापनबाहेक समूहले भूपेन्द्रजंग शाहीको नाममा सहजै निर्णय गरे पनि संस्थापन समूहमा ललितजंग शाही र राजीवविक्रम शाहबीच अन्तिमसम्म रस्साकसी थियो । समूहका तर्फबाट शाहीको नेतृत्वमा प्यानल घोषणा भएको छ । सभापति देउवाको गृहप्रदेश सुदूरपश्चिममा पनि संस्थापन समूहलाई उम्मेदवारको टुंगो लगाउन निकै हम्मे भयो । नरनारायण शाह, गोविन्द शाह, अर्जुनजंग सिंह, गोविन्द बोहरा र पुष्पकुमार शाहीबीच सहमति नभएपछि केन्द्रीय सदस्य वीरबहादुर बलायरको नेतृत्वमा प्यानल घोषणा गरिएको छ । संस्थापनबाहेक समूहले भने नारायणदत्त मिश्रको नेतृत्वमा टिम बनाएको छ ।

प्रदेश १ अधिवेशन उद्घाटन

प्रदेश १ मा बिहीबार निर्वाचन प्रक्रिया सुरु भए पनि अधिवेशन शुक्रबार उद्घाटन भयो । काठमाडौंमा रहेका सभापति शेरबहादुर देउवाले भर्चुअल माध्यमबाट अधिवेशन उद्घाटन गर्दै पार्टीको आन्तरिक निर्वाचन लोकतान्त्रिक अभ्यास भएको उल्लेख गर्दै प्रतिस्पर्धाका रूपमा नलिन कार्यकर्तालाई आग्रह गरे । ‘प्रदेश अधिवेशनबाट जनताको मन जित्न सक्ने नेतृत्व चयन होस्,’ उनले भने, ‘महाधिवेशनबाट कांग्रेसलाई सुदृढ र बलियो बनाउन आवश्यक छ ।’ उनले केही महिनाभित्रै स्थानीय तहको निर्वाचन र एक वर्षपछि संघ तथा प्रदेशको निर्वाचन हुने भएकाले महाधिवेशनलगत्तै चुनावमा केन्द्रित हुन नेता–कार्यकर्तालाई निर्देशन दिए ।

प्रदेश २ मा भने बिहीबारै प्रदेश अधिवेशन उद्घाटन भए पनि निर्वाचन प्रक्रिया अघि बढ्न सकेको छैन । केन्द्रीय निर्वाचन समितिका अनुसार सर्लाहीका ४ वटा प्रतिनिधिसभा क्षेत्र र ८ वटा प्रदेशसभा क्षेत्रको अधिवेशन हुन बाँकी छ । सप्तरी–४ र महोत्तरी–३ मा भने प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनमात्र हुन सकेको छैन । शनिबारदेखि बाँकी रहेका प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रक्रिया सुरु गरेर आइतबार प्रदेश तहको मनोनयन गर्ने तयारी भइरहेको छ ।

०००

यस्ता छन् प्यानल

प्रदेश १

देउवा–सिटौला

सभापति – उद्धव थापा

उपसभापति – टंक राई र रमेशजंग रायमाझी

महामन्त्री – भूपेन्द्र राई र पदम पालुङ्गा

सहमहामन्त्री – विनोद बस्नेत, खड्क फागो र प्रमिला चच्छादार......

संस्थापनबाहेक

सभापति – गुरुराज घिमिरे

उपसभापति – गोविन्द ढुंगाना र विश्वनाथ रिजाल

महामन्त्री – दीपन श्रेष्ठ र उमेश थापा

सहमहामन्त्री – रोहित शाह, वीरकाजी राई र सीता कार्की

वाग्मती

संस्थापन

सभापति – इन्द्रबहादुर बानियाँ

उपसभापति – मदनकृष्ण श्रेष्ठ र धर्मराज गौतम

महामन्त्री – राजु श्रेष्ठ र तिलक रुवाली

सहमहामन्त्री – हरिशरण श्रेष्ठ, महेन्द्र थिङ र नीरु खड्का

संस्थापनबाहेक

सभापति – जगदीशनरसिंह केसी

उपसभापति – राजेन्द्र बुर्लाकोटी र मोहन बस्नेत

महामन्त्री – रामचन्द्र अर्याल र कञ्चन वादे

सहमहामन्त्री – दिलबहादुर तामाङ, ऋषिराम घिमिरे र जीवन डंगोल

सिटौला

सभापति : भीमसेनदास प्रधान

उपसभापति : चन्द्र महर्जन र

महामन्त्री : गौरी दवाडी

सहमहामन्त्री : जगनाथ धिमाल

गण्डकी

संस्थापन

सभापति – अर्जुनप्रसाद जोशी

उपसभापति – मेखलाल श्रेष्ठ र नेत्र महत

महामन्त्री – कुमार खड्का र ईश्वर पाण्डे

सहमहामन्त्री – राजनराज पन्त, झुलबहादुर आले र ओमकला गौतम

संस्थापनबाहेक

सभापति – शुक्रराज शर्मा

उपसभापति – हरिप्रसाद श्रेष्ठ र कल्पना तिवारी

महामन्त्री – किरणबाबु श्रेष्ठ र विष्णुप्रसाद लामिछाने

सहमहामन्त्री – रमेशकुमार पाण्डे, रामचन्द्र जोशी र कोपिला रानाभाट

लुम्बिनी

संस्थापन

सभापति – भरतकुमार शाह

उपसभापति – सुधाकर पाण्डेय र राजु खनाल

महामन्त्री – जन्मजय तिमिल्सिना र खिमानसिंह रायमाझी

सहमहामन्त्री – लक्ष्मीनारायण शाह, सरिता चौधरी र माया पुन

संस्थापनबाहेक

सभापति – अमरसिंह पुन

उपसभापति – भुवनलाल श्रेष्ठ र अष्ठभूजा पाठक

महामन्त्री – विक्रम खनाल र सुरेन्द्रराज आचार्य

सहमहामन्त्री – विष्णु खनाल, खगराज पाण्डेय र निमा गिरी

कर्णाली

संस्थापन

सभापति – ललितजंग शाही

उपसभापति – कालीबहादुर सहकारी र सनतकुमार कार्की

महामन्त्री – नीरञ्जन केसी र कृष्णबहादुर रोकाया

सहमहामन्त्री – उपेन्द्र थापा, एकराज डाँगी र रामछाया शाही

संस्थापनबाहेक

सभापति – भूपेन्द्रजंग शाही

उपसभापति – देवेन्द्रबहादुर शाही र तिलक भण्डारी

महामन्त्री – कृष्णबहादुर बीसी र खगेन्द्रबहादुर मल्ल

सहमहामन्त्री – नेत्रलाल पौडेल, जयनन्द उपाध्याय र देविकाकुमारी साउद

विमलेन्द्र निधि : मोतीराज बम (सभापति)

सुदूरपश्चिम

संस्थापन

सभापति – वीरबहादुर बलायर

उपसभापति – जनक चौधरी र लोकराज अवस्थी

महामन्त्री – नरनारायण शाह र मेघराज खड्का

सहमहामन्त्री – गोपालदत्त भट्ट, चिन्तामणि भट्ट र अम्बिका चलाउने

संस्थापनबाहेक

सभापति – नारायणदत्त मिश्र

उपसभापति – गोपाल गुरुङ र मानबहादुर रावल

महामन्त्री – प्रताप गुर्धामी र रामबहादुर शाही

सहमहामन्त्री – पदमराज पन्त, नरेन्द्र भट्ट र खिना भण्डारी कुँवर

प्रकाशित : मंसिर १८, २०७८ १०:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?