कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

जहाँ १० रुपैयाँमै लुगा पाइन्छ

प्रयोग भइसकेका लुगाफाटा पनि बेच्न सकिने
सुशीला तामा‌ङ

काठमाडौँ — झट्ट हेर्दा लुगाकपडा किनबेच गर्ने सामान्य पसलजस्तै देखिन्छ । महिला, पुरुष तथा स–साना बालबालिकाका लागि हुने कपडा, खेलौना, घरायसी दैनिक प्रयोगमा आउने चिजबिज, घरमा राखिने इनडोर प्लान्ट, डसना आदि सामान एउटै कोठामा छन् । यी सबै सामानको व्यवस्थापन गर्ने कर्मचारी तथा खरिद गर्न आउनेको भीड उस्तै छ । 

जहाँ १० रुपैयाँमै लुगा पाइन्छ

काठमाडौं सामाखुसीको टाउन प्लानिङभित्र रहेको ‘सुखावती स्टोर’ बाट मंगलबार कुपण्डोलकी जया प्रधानाङ्गले २ सय ५० रुपैयाँमा एउटा सारी, दुईवटा टिसर्ट लिइन् । सामाजिक सञ्जालबाट थाहा पाएर स्टोरमा कपडा किन्न आइपुगेको सुनाउँदा उनी अनौठो मान्दै खुसी देखिन्थिन् । ‘एकको बेकार अर्कोको सरोकार’ भन्ने नाराका साथ सुरु गरिएको स्टोर सामान्य रूपमा बुझ्दा पसल नै हो तर यसमा सामान किन्न मात्र होइन दिन पनि सकिन्छ । यसमा अप्रत्यक्ष रूपमा समाज सेवा पनि जोडिएको छ । यो एक गैरनाफामूलक सामाजिक संस्था हो । स्टोरमा आवश्यक जोकोहीले १० रुपैयाँ मूल्यमा कपडा खरिद गर्न सक्छन् । सामाजिक सेवाभावले नै सुरु गरिएको स्टोरमा १० देखि २ सय ५० रुपैयाँसम्म पर्ने लुगा–कपडा, किताब र घरायसी सामग्री बिक्रीका लागि राखिएका छन् । स्टोरमा धेरैजसो १० देखि ३० र ५० रुपैयाँ मूल्य पर्ने कपडा पाइन्छन् ।

स्टोरमा जोकोहीले आफूलाई अनावश्यक जुनसुकै घरका कपडा तथा सामग्री ल्याएर दिन सक्ने र चाहिएमा थोरै मूल्यमा लिन सक्ने स्टोरका संस्थापक अध्यक्ष चिजमान गुरुङले बताए । ‘अरूले दान गरेका सामानलाई पुनः प्रयोग ल्याउने उद्देश्यले हामीले सकेसम्म कम मूल्यमा बेच्दै समाजसेवा गरिरहेका छौं,’ उनले भने, ‘हामी सबैको अवस्था एकैखाले छैन । हामीमध्ये कसैलाई नचाहिने सामान अरूलाई अति आवश्यक पनि हुन सक्छ । ती मानिसहरूसमक्ष सेवा पुर्‍याउनु हाम्रो लक्ष्य हो ।’

गुरुङका अनुसार सुखावती समाजसेवा, रोजगार, वातावरण संरक्षणको उद्देश्यसहित सन् २०१४ मा स्थापना गरिएको हो । नौ जना सदस्यहरूसहित बसुन्धराको सडकबाट सुखावतीले काम सुरु गरेको थियो ।

रोजगारीकै सिलसिलामा एक दशकभन्दा बढी समय कोरियामा बिताएका गुरुङले यस प्रकारका स्टोरहरू उतै देखेका थिए । त्यसबाट उनी निकै आकर्षित भएर स्वदेश फर्केपछि स्टोर खोल्ने प्रण गरे । ‘कोरियामा मैले यस्ता स्टोरहरू देखेँ । सोधिखोजी गर्दा आइडिया पनि एकदम राम्रो लाग्यो,’ उनले भने, ‘आफ्नो काम नै छोडेर त्यतै स्टोरमै बसेर मैले साढे दुई वर्ष काम गरेर सबै कुरा सिकेपछि नेपाल आएको दुई वर्षभित्रमा नै काम सुरु गरेँ ।’

संस्थाले सामाखुसी र नेपालटारमा गरी दुई स्टोर सञ्चालनमा ल्याएको छ । संस्थालाई हालसम्ममा करिब १२ हजार जनाले सामान दान गरिसकेका छन् भने ३२ हजार किलो कपडालाई पुनः प्रयोग गरिसकेको गुरुङ सुनाउँछन् । सामाखुसीको स्टोरमा मात्र अहिले चार/पाँच हजार किलो सामग्रीहरू संकलित छन् । आधा दर्जनभन्दा बढी महिलाहरूले स्टोरमा प्रत्यक्ष रोजगारीको अवसर पाएका छन् । स्टोरले कर्मचारीसँगै आउने सामान व्यवस्थापनका लागि स्वयंसेवकहरूसमेत परिचालन गरेको छ ।

उपत्यकाबाट सामानहरू संकलनका लागि लागि नखिपोट, हात्तीवन, नारायणथान, भैंसेपाटी, वनस्थलीमा स्टोले ड्रप बक्स (सामान संकलन गर्ने ड्रम) समेत व्यवस्था गरेको छ । हप्तादेखि डेढ हप्तामा सामानहरू संकलन गरेर स्टोरहरूमा ल्याउने गुरुङले सुनाए । उनका अनुसार स्टोरमा ल्याएपछि सामानहरूलाई छनोट, सफाई तथा मूल्यको ट्याग लगाउने काम हुन्छ । पुनः प्रयोगमा नआउने कपडाहरूलाई भने स्टोरले धुल्याएर डसनाहरू तयार गर्दै आएको छ । त्यस्ता सामानलाई भने १२ सयसम्म मूल्य निर्धारण गरिएको उनले बताए ।

यदि कुनै संस्था वा व्यक्तिले सहयोग माग्छ भने स्टोरले निःशुल्क कपडा तथा अन्य सामग्री वितरणसमेत गर्दै आएको छ । ‘कसैले १० रुपैयाँ पनि तिर्न सक्नुभएन भने हामी त्यतिकै दिएर पठाउँछौं । कुनै बालआश्रम वा वृद्धाश्रमहरूले सहयोगका लागि आग्रह गरेमा हामीले नयाँ कपडा नै खरिद गरेर दिँदै आएका छौं,’ गुरुङले भने । स्टोरले बिक्रीबाट आएको रकमबाट स्वास्थ्य र बालबालिकाको शिक्षा क्षेत्रमा सहयोग गर्दै आएको छ ।

सामान लिन र दिन गरी दैनिक ५० जनाभन्दा बढी स्टोरमा भेला हुन्छ । स्टोर सचिव कमला गुरुङका अनुसार ६० प्रतिशत सामान खरिदकै लागि आउँछन् । स्टोरलाई भित्री बाटोमा सञ्चालन गर्दा पनि भक्तपुरदेखिका मानिसहरू सामान खरिदका लागि आउँदा निकै खुसी लाग्ने उनले सुनाइन् । ‘सेयरिङ कल्चर’, तथा ‘सेयरिङ ह्यापिनेस’ मूल लक्ष्यका साथ सन् २०२४ सम्ममा उपत्यकाभरी पाँचवटाको हारहारीमा शाखा सञ्चालनमा ल्याउने लक्ष्य छ ।

प्रकाशित : मंसिर १९, २०७८ ०७:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?