१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

अफगानिस्तानमा सहयोग सामग्री पठाउँदै नेपाल

आइतबार परराष्ट्र मन्त्रालयको टोली सहयोग सामग्री लिएर काबुल जाँदै

काठमाडौँ — ठूलो मानवीय संकटको सामना गरिरहेको अफगानिस्तानलाई नेपाल सरकारले सहयोग सामग्री पठाउने भएको छ । आइतबार परराष्ट्र मन्त्रालयको नेतृत्वमा एउटा टोली मानवीय सहायता सामग्रीसहित काबुल जाने भएको छ ।

अफगानिस्तानमा सहयोग सामग्री पठाउँदै नेपाल

गत अगस्टमा तालिबानले सत्ता कब्जा गरेसँगै अफगानिस्तानमा विश्वकै सबैभन्दा ठूलो मानवीय संकट उत्पन्न भएको रिपोर्टहरू सार्वजनिक भएको छ । तालिबान सत्तामा आएसँगै अन्तर्राष्ट्रिय सहयोग रोकिएकाले अफगानिस्तानमा मानवीय संकट उत्पन्न भएको हो ।

आइतबार राति औषधि, लत्ताकपडा र अन्य सामग्रीसहित टोली अफगानिस्तानको काबुल जाने परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिइन् । नेपाली टोली काबुल अन्तराष्ट्रिय विमानस्थलमै राष्ट्रसंघीय टोलीलाई सामग्री हस्तान्तरण गरेर फकर्ने उनले बताइन् ।

अफगानिस्तानलाई के–के सामग्री सहयोगस्वरूप उपलब्ध गराइँदै छ भन्ने कुरा आइतबार बिहान ७:४५ बजे परराष्ट्रमन्त्री नारायण खड्काले पत्रकार सम्मेलनमार्फत जानकारी दिने प्रवक्ता लम्सालले जानकारी दिइन् ।

संयुक्त राष्ट्र संघको विश्व खाद्य कार्यक्रम(डब्लूएफपी)ले यो हिउँदमा अफगानिस्तानमा भोकमरीको ठूलो समस्या देखिने बताएको छ । २ करोड भन्दा बढी जनसंख्याले भोकमरीको समस्या भोग्नुपर्ने पनि डब्लूएफपीको चेतावनी छ ।

त्यस्तै ५ वर्षमुनिका झन्डै ३२ लाख बालबालिका कुपोषणको सिकार हुनसक्ने बताइएको छ । वर्तमान खाद्य संकटलाई सम्बोधन गर्नका लागि प्रतिमहिना २२० मिलियन अमेरिकी डलर चाहिने पनि डब्लूएफपीले जनाएको छ । तत्काल पर्याप्त खाद्यान्न र औषधोपचार नपाउने हो भने करिब १० लाख बालबालिकाको मृत्यु हुन सक्ने डब्लूएफपीको चेतावनी छ ।

प्रकाशित : माघ १, २०७८ १३:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?