१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५
गायक कुमार सुब्बाको निधन

रोकियो सारंगीको ताल

पर्वत पोर्तेल

काँकडभिट्टा — सारङ्गीको तालले मेरो, मेरो सानो मुरली, हे फूल चुडेर लाने, सम्हालूँ कसरीजस्ता पाँच सयभन्दा बढी चर्चित र मर्मस्पर्शी गीतका सर्जक दार्जिलिङका वरिष्ठ गायक कुमार सुब्बाको शनिबार राति १० बजे सिलिगुडीमा निधन भएको छ । 

रोकियो सारंगीको ताल

उनी ७० वर्षका थिए । शनिबार बिहान अचानक हृदयघात भएपछि सिलिगुडीको न्यूटिया अस्पतालमा उपचारार्थ भर्ना गरिएको र उपचारकै क्रममा निधन भएको छोरी निरन्जना सुब्बाले जनाएकी छन् । करिब एक दशकअघि मस्तिष्कघातबाट गम्भीर बिरामी परेका सुब्बा त्यसयता निरन्तर अस्वस्थ थिए । उनको मुटु र मृर्गौलामा समस्या देखिएको थियो । सिलिगुडी नजिक शिवमन्दिरस्थित छोरीको घरमा उनी बस्थे ।

नेपाली सांगीतिक आकासका लोकप्रिय गायक सुब्बाको निधनले परिवारमात्र होइन‚ हजारौं शुभचिन्तकलाई समेत मर्माहत बनाएको उनका सहयात्री संगीतकार कर्म योन्जन बताउछन् । भन्छन्, ‘कुमार केही समयदेखि बिरामी नै थियो, पहिलाको जस्तो गाउन सक्दैनथ्यो । उसको निधनले नेपाली संगीत जगत टुहुरो बनेका छ ।’

सुब्बा लामो समय दार्जिलिङको सांस्कृतिक विभागका जागिरे पनि थिए । अघिल्लो पटक बिरामी परेपछि उनी जागिरबाट सेवा निवृत्त भएका थिए ।

करिब १२ वर्षअघि ‘पलेटी’ कार्यक्रमको एक गायनका लागि उनी नेपाल आएका थिए । त्यसबेला आफ्ना सहकर्मीहरू अमर गुरुङ, मञ्जुल, मानबहादुर मुखिया, प्रकाश गुरुङलगायतसंग उनको भेट भएको थियो । ‘त्यसयता बाबा बिरामी पर्नुभयो‚ नेपाल जानै पाउनुभएन’, उनकी छोरीले भनिन् । दुई पटक प्रयत्न गर्दा पनि जान सक्नुभएन । ‘बाबाको पलेटीमा गीत गाउने इच्छा अधुरै रह्यो’, उनले भनिन् ।

एकपटक गायक कर्मा योञ्जन र उनलाई नेपालै बस्ने गरी बोलावट भएको थियो । तर‚ उनीहरू दुवै जनाले यो प्रस्ताव अस्वीकार गरेका थिए । ‘जुन बेला जानुपर्ने थियो‚ त्यसवेला गइएन’, केही समयअघि कान्तिपुरसँगले सुब्बाले भनेका थिए, ‘अब त बुढो पनि भइएछ‚ जानै मन लाग्न छाड्यो ।’

नेपाली गीत संगीतका लागि नेपाललाई समुद्र ठान्थे उनी । त्यो समुद्रमा एक पटक मज्जाले पौडने उनको इच्छा भने अधुरै रह्यो । उनको दार्जिलिङको लेबुङमा आइतबार अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

प्रकाशित : माघ २, २०७८ ०६:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?